मनकारी जनप्रतिनिधि जो जनप्रतिनिधि व्यक्तिगत लाभभन्दा जनताको हितका लागि काम गर्छन्

काठमाण्डौँ ः स्थानीय तहका अधिकांश जनप्रतिनिधि जनताको दुःख भुलेर सुखसयलमा रमाउन तल्लीन छन् । नयाँ–नयाँ महँगा गाडी चढ्न तँछाडमछाड गर्दै छन् । तालिमको नाममा चर्को भत्ता खाइरहेका छन् । गाउँमा हुने विकासका नाममा आफ्नै लगानीमा डोजरलगायतका निर्माण सामग्री खरिद गरेर अनियमितता गरिरहेका जनप्रतिनिधि पनि धेरै छन् । नातागोता र आफन्तलाई जागिर खुवाउन सक्रिय हुने उत्तिकै छन् । यस्ता क्रियाकलापले आफ्नै मतदातामाझ धेरै जनप्रतिनिधि आलोचित भएका छन् । तर, यो भिडमा केही जनप्रतिनिधि यस्ता पनि छन्, जसले राज्यबाट पाउने तलबसुविधा नै लिएका छैनन् । पाएको तलबभत्तालगायतका सुविधा पनि जनताको सेवामा खर्चिएका छन् । केही जनप्रतिनिधिले कानुनबमोजिम पाएको तलबभत्तामा रकम थपेर पनि समाजसेवामा खर्च गरेका छन् । उदाहरणीय केही जनप्रतिनिधिबारे जिल्ला ब्युरोको रिपोर्ट स्
तलबभत्ता लिँदैनन् ढोरपाटन नगरपालिकाका मेयर
बाग्लुङरबाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले निर्वाचित भएयताको तलब तथा भत्ता लिएका छैनन् । निर्वाचनमै उनले तलबभत्ता नलिने घोषणा गरेका थिए । त्यसैले उनले मासिक तलबका रूपमा पाउने ३८ हजार रुपैयाँ र भत्ता तथा नगरपालिकाबाट पाउने कुनै पनि सेवासुविधा लिएका छैनन् । उनका लागि गाउँपालिकाले तलबभत्ता शीर्षकमा रकम विनियोजन गरेको छैन । मेयर नेपालीले निजी खर्चमा गरिब तथा विपन्नको घर निर्माण तथा निजी स्रोतका शिक्षकलाई तलब खुवाउन आर्थिक सहयोगसमेत गर्ने गरेका छन् ।
तलबभत्ता शिक्षा क्षेत्रमा खर्च
बाग्लुङकै बडिगाड गाउँपालिका–५ का वडाध्यक्ष अर्जुनप्रसाद खरेलले पनि तलब तथा भत्ता लिएका छैनन् । उनले आफ्नो पाँचवर्षे कार्यकालमा तलबभत्ता नलिने घोषणा गरेका थिए । जसअनुसार उनले पाउने मासिक १८ हजार रुपैयाँ वडाको शैक्षिक क्षेत्र सुधार्न खर्च गरेका छन् । त्यो रकम उनले स्थानीय भानु मावि र थानापति प्राविमा खर्च गरेका छन् ।
भत्ता स्वास्थ्यचौकी र विद्यालयमा खर्च
बाग्लुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाइलीले पनि आफूले पाउने भत्ता वडाको स्वास्थ्य र शिक्षाको क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन् । गण्डकी प्रदेशमा वडा सदस्यले मासिक सात हजार रुपैयाँ भत्ता पाउँछन् । सो रकम जम्मा गरेर वार्षिक रूपमा एकमुष्ट उनले स्वास्थ्य संस्था र विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् । उनले वडाको स्वास्थ्य संस्थामा स्ट्रेचरको व्यवस्था गर्नुका साथै विद्यालयमा छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेका छन् ।
विद्यालयलाई वर्षमा एक महिनाको तलब
काठेखोला गाउँपालिका–१ बाग्लुङका वडाध्यक्ष खडकबहादुर थापाले आफूले तलबका रूपमा पाउने रकम विद्यालयलाई दान दिँदै आएका छन् । वडाध्यक्षले पाउने मासिक १८ हजार रुपैयाँ उनले आफ्नै वडाको धिमिकरिना माविमा खर्च गर्दै आएका छन् ।
२० लाख खर्चेर विद्यालयलाई ५० थान कम्प्युटर
सर्लाही÷ सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाले सरकारबाट पाएको तलब सुविधा अक्षयकोष बनाएर जम्मा गरेका छन् । आफ्नो नगरपालिकामातहतका सबै जनप्रतिनिधिले बैठक भत्ता नलिने निर्णय गराएका मेयर थापाले दुई वर्षको तलब आठ लाख ६० हजार र भत्ता २० हजार कोष बनाएर जम्मा गरेका छन् । सो कोषमा अन्य पालिकाबाट पाएको २० हजार भत्ता पनि थपेका छन् । विद्यार्थी प्रविधिसँग अभ्यस्त हुन् भनेर उनले आफ्नो नगरपालिकाका पाँच माविलाई २० लाख रुपैयाँ खर्चेर ५० थान कम्प्युटर वितरण गर्दै छन् । तलबभत्तामा व्यक्तिगत रकम थपेर एक महिनाभित्रै वितरण गर्ने तयारी पूरा भइसकेको उनले बताए । ‘भदौभित्रै नगरपालिकाभित्रका पाँच माविलाई १०–१० थान कम्प्युटर दिँदै छौँ,’ उनले भने, ‘यसपछि प्रावि तहका विद्यालयमा पनि कम्प्युटर वितरण गर्ने योजना बनाएको छु ।’
विपन्न विद्यार्थी, बिरामी र द्वन्द्वपीडितलाई बाँडे तलब
दैलेखरदैलेखको भगवती माई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले राज्यबाट पाएको तलब विपन्न र द्वन्द्वपीडितको सहयोगमा खर्च गरेका छन् । पहिलो चरणमा उनले वैशाखमा गाउँपालिकामा कार्यक्रम नै गरेर एक लाख ८० हजार विभिन्न व्यक्तिलाई हस्तान्तरण गरेका छन् । वडा नम्बर ६ की द्वन्द्वपीडित बालकुमारी खड्कालाई छोराछोरी पढाउन ५० हजार र वडा ५ की द्वन्द्वपीडित लक्ष्मी शाहीका छोरालाई चार्टर्ड एकाउन्टेन्टसम्मको अध्ययनमा सहयोग गर्न ५० हजार दिएका छन् । त्यस्तै, शारीरिक तथा मानसिक रूपमा अशक्त र अपांगता भएका वडा ३ का कालु खड्कालाई औषधोपचार खर्चबापत १० हजार, दलित परिवारका जेहेनदार विद्यार्थीमध्ये वडा ७ का १० कक्षामा अध्ययनरत मंगल विकलाई १० हजार सहयोग गरेका छन् । दुवै मिर्गौला फेल भएर उपचारका क्रममा मृत्यु भएका वडा १ का हस्तराज अधिकारीका छोराछोरीको पढाइका लागि २० हजार, जिब्रोको क्यान्सर भएका वडा ७ की पार्वती खत्रीका श्रीमान्को उपचारका लागि २० हजार र शिव मन्दिरमा खानेपानीका लागि १० हजार सहयोग गरेका छन् ।
‘मैले आफ्नो पारिश्रमिक रकमले गाउँपालिकाभरि समस्यामा परेका गरिब, दलित, जेहेनदार, द्वन्द्वपीडित परिवारलाई सहयोग गर्ने वाचाअनुसार काम गरेको छु । म अनियमितता गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ,’ मेयर थापाले भने ।
वडाध्यक्षले दिए दुई सय ५० ज्येष्ठ नागरिकलाई न्यानो लुगा
धनगढीरकैलालीको गोदावरी नगरपालिका–१ का अध्यक्ष शर्मानन्द भट्टले आफ्नो तलबले ज्येष्ठ नागरिकलाई न्यानो लुगा किनिदिएका छन् । ०७५ पुसमा त्यसअघि जम्मा भएको नौ महिनाको दुई लाख रुपैयाँ तलबले वडाका दुई सय ५० ज्येष्ठ नागरिकलाई ब्ल्यांकेट वितरण गरेका हुन् । उनलाई मासिक २२ हजार तलब प्राप्त हुन्छ ।
त्यसयताको तलब पनि खातामा रहेको र छिटै एकल महिला र असहाय बालबालिकाको सहयोगमा खर्च गर्ने योजना रहेको वडाध्यक्ष भट्टले बताए ।
व्यक्तिगत रकम थपेर टोल सुधार र गरिब विद्यार्थीका लागि खर्च
खोटाङरखोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लीलाकुमार चौहानले राज्यबाट पाएको तलब–सुविधा मात्रै सामाजिक काममा खर्च गरेका छैनन् । त्यसमा व्यक्तिगत रकमसमेत थपेका छन् । आर्थिक वर्ष ०७४र७५ मा तलब सुविधाबापत प्राप्त एक लाख ६८ हजारमा व्यक्तिगत ८३ हजार एक सय ११ रुपैयाँ थपेर सामाजिक काममा लगाएका छन् । कुल दुई लाख ५१ हजार एक सय ११ मध्ये वडामा रहेका १३ टोल विकास समितिलाई १०–१० हजारका दरले एक लाख ३० हजार दिएका छन् । गत वर्ष २४ भदौमा आयोजित एक कार्यक्रममा सम्बन्धित समितिका पदाधिकारीलाई रकम हस्तान्तरण गर्दै वडाध्यक्ष चौहानले घुम्ती कोष सञ्चालनमा सघाएको बताएका थिए ।
अवकाशप्राप्त भारतीय सेनासमेत रहेका उनले एक लाख ११ हजार एक सय ११ रुपैयाँ भने आफूले अध्ययन गरेको अन्नपूर्ण माविमा बुबा नैनसिंह चौहानको स्मृतिमा अक्षयकोष स्थापनामा खर्च गरेका छन् । खातामा जम्मा भएको आव ०७५र७६ को तलब सुविधा पनि औपचारिक कार्यक्रम गरेर वडाभित्रका आमा समूहलाई हस्तान्तरण गर्ने तयारीमा रहेको उनले बताए ।
तलबको पैसाबाट तीनवटा विद्यालयमा अक्षयकोष
पर्वतरपर्वतको कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले तलब प्रदान गर्ने कार्यविधि पारित भएसँगै तलब लिएका छैनन् । उनले तलबभत्ताको रकम शैक्षिक क्षेत्रमा खर्च गर्दै आएका छन् । उनले यो रकमबाट तीन विद्यालयमा अक्षयकोष खडा गरेका छन् । केही विद्यालयमा शैक्षिक सामग्री तथा पोसाक पनि वितरण गर्दै आएका छन् । पहिलो महिनाको तलब उनले कुश्मा बजारमा सञ्चालित ब्रह्माकुमारी विश्वविद्यालयमा प्रदान गरेका थिए । त्यसपछि भने उनले कुश्मा– २ खुर्कोटमा सञ्चालित कालिका माध्यमिक विद्यालय, कुश्मा ८ चुवामा सञ्चालित मंगलोदय मावि र कुश्मा १४ मा सञ्चालित शिशु कल्याण आधारभूत विद्यालयमा अक्षयकोष खडा गरेका हुन् । जोशीले प्रथम नगरप्रमुख अक्षयकोष नाम दिएर तीनवटै विद्यालयमा ७० हजारका दरले अक्षयकोष स्थापना गरेका हुन् । यस्तो प्रयासले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न सक्ने उनले बताए । जोशीले तलबको केही रकमबाट खुर्कोटमा सञ्चालित कालिका माविमा अध्ययनरत सुस्मिता नेपालीको अभिभावकत्वसमेत ग्रहण गरेका छन् ।
नगरपालिकालाई फ्री वाइफाइ जोन बनाउने योजनामा मेयर
मोरङको रंगेली नगरपालिका मेयर दिलीप बगडियाले पद सम्हालेदेखि प्राप्त तलब तथा भत्ता व्यक्तिगत प्रयोजनका लागि खर्च गरेका छैनन् । सबै तलब–भत्ता उनले बैंक खातामा जम्मा गरेका छन् । कुनै कार्यक्रममा सहभागी हुँदा पाउने भत्ता पनि उनले त्यही खातामा जम्मा गर्ने गरेका छन् । प्रदेश सरकारको कानुनअनुसार प्रदेश १ का नगरप्रमुखले करिब ४० हजार तलब पाउँछन् । यो रकमलाई कुनै परिणाममुखी सामाजिक काममा खर्चिने आफ्नो योजना रहेको उनले बताएका छन् । हाल रंगेलीलाई फ्री वाइफाइ जोन बनाउने योजनाबारे सोचिरहेको उनले बताएका छन् । बगडिया इँटा उद्योगी हुन् ।
महानगरका मेयरले विद्यालय मर्मतमा खर्च गरे तलब
विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले गत वर्षको तलबभत्ताबापतको चार लाख रुपैयाँ विराटनगर–१ पोखरियास्थित सयपत्री आधारभूत विद्यालयको मर्मतमा खर्च गरेका छन् । विदेश जाँदा पाएको भत्ताबापतको एक लाख रुपैयाँ उनले विराटनगर–५ स्थित गुरुकुल संस्कृति विद्यालयलाई प्रदान गरे भने तलबबापतको एक लाख रुपैयाँ धुर्मस–सुन्तली फाउन्डेसनलाई दान गरे । निजी विद्यालय, अस्पताल र रेस्टुराँमा लगानी गरेका मेयरले यस वर्षको तलब विराटनगर–३ स्थित जागृति आधारभूत विद्यालयमा खर्च गर्ने योजना बनाएका छन् ।
अक्षयकोष स्थापना
म्याग्दीरम्यादीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले निर्वाचनमा उम्मेदवारी दर्तासँगै राज्यबाट प्राप्त हुने सुविधा नलिने घोषणा गरेका थिए । आफ्नो घोषणाबमोजिम उनले ‘गाउँपालिका अध्यक्ष भवहादुर भण्डारी अक्षयकोष’ स्थापना गरेका छन् । गाउँपालिकामा रहेको प्रभु बैंकमा कोषको नाममा सञ्चालन भएको खातामा अहिलेसम्म नौ लाख पारिश्रमिक जम्मा भएको अध्यक्ष भण्डारीले बताए । गाउँपालिका अध्यक्षले ३१ हजार तलब पाउँछन् । उनले सो कोषमा जम्मा भएको रकमबाट पाँचवटा वडामा गरिब, विपन्न र अपांगता भएका पाँच–पाँच घरका २५ जनाको एक वर्षको स्वास्थ्य बिमा गरिदिएका छन् । बाँकी तीनवटा वडामा समेत एक महिनाभित्र गाउँपालिकाका ४० घरका दुई सयजनाको स्वास्थ्य बिमा गरिदिने तयारी रहेको उनको भनाइ छ । अक्षयकोषबाट अमर मावि चिमखोलामा निजी स्रोतबाट राखिएका विज्ञान विषयका शिक्षकलाई एक महिनाको तलब रु। २० हजार र शिव आधारभूत विद्यालयलाई ६० हजार रुपैयाँ सहयोग गरिसकिएको छ ।
विद्यार्थीलाई सहयोग
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजाले आफ्नो तलब सामाजिक क्षेत्रमा खर्चिएका छन् । निर्वाचनअगाडि नै सरकारी सेवा–सुविधा नलिने घोषणा गरेका गर्बुजाले वडा नम्बर ५ को विपन्न परिवारका जेहेनदार विद्यार्थी काजल रोकालाई इन्जिनियरिङ अध्ययनका लागि एक लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । आफ्नो पारिश्रमिकबापतको मासिक प्राप्त हुने रकमलाई गरिमा विकास बैंकमा छुट्टै खाता खोलेर जम्मा गर्दै आएका अध्यक्ष गर्बुजाले सामुदायिक विद्यालय आदर्श मावि रिम र ज्ञानप्रकाश मावि दानालाई ५०–५० हजार सहयोग गरेका छन् । कोषबाट गाउँपालिबाट एसइईमा उत्तीर्ण भएका विद्यार्थीमध्ये उत्कृष्ट एक–एकजना छात्र तथा छात्रालाई ५० हजारका दरले पुरस्कृत गर्ने तयारी गरिएको छ । कोषमा अझै तीन लाखभन्दा बढी रकम बाँकी रहेको र अत्यावश्यक सामाजिक क्षेत्रमा खर्चिने योजना बनाएको गर्बुजाले बताए ।
स्कुल र क्याम्पसमा खर्च
म्याग्दीकै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पनि आफ्नो पारिश्रमिकबापतको रकम शिक्षा क्षेत्रमा खर्च गर्दै आएका छन् । वडा नम्बर ५ सिर्कुममा रहेको किसानी आधारभूत विद्यालयको भवन निर्माणका लागि जग्गा किन्न उनले तीन लाख ५० हजार सहयोग गरेका छन् । त्यस्तै मंगला शिक्षा क्याम्पसको शैक्षिक विकासमा दुई लाख सहयोग गरेकोे पनि उनले बताए । गाउँपालिकाको केन्द्र बाबियाचौरमा बालबालिका र ज्येष्ठ नागरिकका लागि निर्माण गर्न लागिएको इन्द्रेणी पार्कको जग्गा खरिदमा अध्यक्ष रोकाले एक लाख रुपैयाँ दिएका छन् भने पाँचजना विपन्न परिवारका बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गरेका छन् । तलबबाटै उनले तीनजना विपन्न र आर्थिक रूपमा कमजोर विद्यार्थीको घरखर्चका लागि मासिक दुई हजारका दरले सहयोग गर्दै आएका छन् ।
दिवंगत छोरीको नाममा एक वर्षको तलब सामाजिक सेवामा
नवलपुररनवलपरासीको गैँडाकोट नगरपालिका– १६ का वडाध्यक्ष गोबर्धन ज्ञवालीले एक वर्षको पारिश्रमिक विभिन्न सामाजिक काममा खर्च गरेका छन् । उनले तलबबापतको एक लाख २० हजार रुपैयाँ विद्यालय र स्वास्थ्यचौकीलाई प्रदान गरेका छन् । गैँडाकोट– १७ मा रहेको अमरज्योति माविलाई उनले ४५ हजार रुपैयाँको एक थान कम्प्युटर हस्तान्तरण गरेका छन् भने अमरापुरी स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गर्न ४० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । त्यस्तै, उनले वडा कार्यालयनजिकै रहेको दुर्गा मन्दिरका लागि पंखालगायतका सामग्री सहयोग गरेका छन् । जनताको करबाट संकलन गरेको रकम जनताकै लागि खर्च गर्ने सोच रहेको उनले बताए ।
उनले तलब रकम आफ्नी दिवंगत छोरीको नाममा सहयोग गर्दै आएका छन् । उनकी छोरी विस्विता ज्ञवालीको चार वर्षअघि नारायणी नदीमा सेल्फी लिन खोज्दा डुबेर मृत्यु भएको थियो । उनले कार्यपालिकाको बैठकमा अन्य जनप्रतिनिधिसँग पनि तलब रकम सामाजिक काममा खर्च गर्नुपर्ने बताएको सुनाए । तर, आफू एक्लै परेको उनको भनाइ छ ।
आधा तलब लिँदैनन् शुक्लागण्डकीका मेयर
तनहुँरतनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले आफूले पाउने तलबको आधा रकम सामाजिक काममा खर्चिने गरेका छन् । निर्वाचित भएदेखि नै उनले आधा तलब नलिने घोषणा गरेका थिए । कर कटाएर वार्षिक चार लाख १५ हजार आठ सय रुपैयाँ उनले पाउँछन् । त्यसको आधा रकम उनले पहिलो वर्ष नगरपालिकाको विपत् कोषमा जम्मा गराएका थिए । त्यसपछि भने उनले विपन्न तथा लक्षित वर्गका बालबालिकालाई छात्रवृत्ति दिने गरेका छन् ।
सामाजिक काममा खर्च
रोल्पाररोल्पाको सुनील स्मृति गाउँपालिका– २ खुङ्ग्रीका वडाध्यक्ष नेत्रबहादुर गिरीले कार्यकालभरिको तलबभत्ता समाजसेवामा खर्चिने घोषणा गरेका छन् । आफूले मासिक २० हजार पाउँदै आएकोमा सामाजिक सुरक्षा कर कटाएर मासिक १९ हजार आठ सय रुपैयाँ समाजसेवामा खर्चिने बताए । ‘पाँच वर्षमा हुन आउने ११ लाख ८८ हजार रकम एकमुष्ट जम्मा गरेर सामाजिक काममा खर्चिने योजना छ,’ उनले भने, ‘अहिले पैसा खातामा जम्मा भइरहेको छ ।’ धेरैले अक्षयकोष खडा गर्न सुझाब दिएको पनि उनले बताए । त्यो रकम शिक्षा र स्वास्थ्यमा खर्चिने चाहना रहेको पनि उनको भनाइ छ । उनी खुङ्ग्रीमै किराना पसल चलाउँछन् । त्यसैबाट आफूलाई आवश्यक आयआर्जन हुने उनको भनाइ छ । उनले आफू पैसा कमाउन नभई समाजसेवा गर्न वडाध्यक्ष भएको पनि बताए ।
कोष बनाएर खर्च गर्ने तयारीमा पाँचखपनका मेयर
संखुवासभारसंखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राईले आफ्नो तलब सामाजिक कार्यमा खर्च गर्ने बताएका छन् । यद्यपि हालसम्मको रकम आफ्नो खातामै रहेको पनि उनले बताए । ‘मैले पाउने तलब मेरो खातामै छ,’ उनले भने, ‘केही समयपछि कोष बनाएर त्यसबाट गरिब बालबालिकाको पठनपाठनका लागि सहयोग गर्ने, नगरभित्र निम्न आर्थिक स्तर भएका गम्भीर बिरामीलाई त्यही कोषबाट खर्च गर्ने योजना छ ।’
सडक मर्मतमा खर्च
पाँचखपन–१ का वडाध्यक्ष टेकबहादुर बुढाथोकीले मासिक तलबसुविधा सामाजिक कार्यमा खर्च गर्दै आएका छन् । ‘मैले चुनावताका नै तलब लिन्नँ भनेको थिएँ । त्यसैले त्यो रकम सामाजिक कार्यमा खर्च गर्दै आइरहेको छु,’ वडाध्यक्ष बुढाथोकीले भने । वडाभित्रका निम्न आर्थिक स्तर भएकाहरूलाई सहयोग गर्नुका साथै सडक मर्मतमा पनि तलबको रकम दिएको उनले बताए ।
अपांगता भएकालाई मेयरको तलबले खुट्टा
पाल्पारपाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले आफ्नो खातामा अहिलेसम्म जम्मा भएको एक लाख ७५ हजार रुपैयाँ तलबले पाँचजना अपांगता भएकालाई खुट्टा हालिदिएका छन् । बैंकमा जम्मा भएको बाँकी तलबले एम्बुलेन्स किन्ने योजना रहेको थापाले बताए । उनले निजी खर्चले दुई विद्यार्थीको कलेज फी तिरिदिएका छन् । उनले कार्यालयको काममा समेत आफ्नै गाडी चढ्ने गरेका छन् । मेयर थापाले मासिक ३५ हजार तलब पाउँछन् ।
गरिब र दलितका लागि तलब
पाल्पाकै बगनाशकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले निर्वाचित भएपछि खातामा जम्मा भएको तलब गरिब, दलित र अशक्तलाई दिँदै आएका छन् । उनले मासिक ३० हजार तलब पाउँछन् । सुरु वर्षको १० महिना र गत आर्थिक वर्षको तलबसहित सात लाख सामाजिक क्षेत्रमा खर्च गरेका छन् । चन्द्र माध्यमिक विद्यालयको प्राविधिक शिक्षाका लागि तीन लाख, बगनाशकालीको पर्यटकीय क्षेत्र महामृत्युञ्जय शिवासन नेपाल बराङ्दीका लागि तीन लाख, दलित तथा गरिबका लागि ८० हजार, गाउँपालिकाअन्तर्गतका विद्यालयमा स्विटर वितरणमा ४० हजार खर्च गरेका हुन् ।
पाँच वर्षको २१ लाख तलब गरिब तथा जेहेनदार विद्यार्थीलाई
बुटवलररुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले तलबबापतको रकम नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीका लागि खर्च गरेका छन् । २० असार ०७५ मा पारिश्रमिक नलिने घोषणा गरेका उनले मासिक ३५ हजारका दरले पाँच वर्षको २१ लाख तलब शिक्षामा लगानी गर्ने बताएका थिए । तिलोत्तमा नगरपालिकामा ४३ सामुदायिक विद्यालय छन् । तिनै विद्यालयले सिफारिस गरेको विद्यार्थीलाई कार्यविधिका आधारमा छात्रवृत्ति दिन उनको तलब खर्च हुनेछ । यसका लागि छात्रवृत्ति कोष स्थापना भएको छ र पैसा त्यहीँ जम्मा हुन्छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले नगरप्रमुख छात्रवृत्ति कोष स्थापना गरिएको र घिमिरेको तलब सीधै त्यहीँ जम्मा हुने प्रावधान रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको हस्ताक्षरमा सो रकम निकाल्न मिल्ने बनाइएको छ । नगरपालिकाको शिक्षा समितिले छात्रवृत्तिका लागि छनोट गर्ने विद्यार्थीलाई यही कोषको रकमबाट छात्रवृत्ति उपलब्ध गराइँदै आइएको छ । मेयर घिमिरेको घोषणाअनुसार गत वर्ष नगरपालिकाका ४४ वटा सामुदायिक विद्यालयका एक–एक विद्यार्थीलाई ५ हजार देखि १८ हजारसम्म छात्रवृत्ति रकम बाँडिएको थियो । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले १८ हजार पाएका थिए ।
दुर्व्यसनीदेखि एचआइभी संक्रमितसम्मलाई उपचारमा सहयोग
धरानरधरान उपमहानगरपालिका–१८ का वडाध्यक्ष नरेन्द्र प्रवीण राईले सरकारले दिने सेवा–सुविधा सामाजिक काममा खर्च गर्दै आएका छन् । चुनावी घोषणापत्रमै उनले तलब सामाजिक काममा खर्च गर्ने प्रतिबद्धता गरेका थिए । प्रदेश सरकारको कानुनअनुसार वडाध्यक्षले १९ हजार पाँच सय तलब पाउँछन् । करलगायत कट्टी गरेर १६ हजार पाँच सय पाउने गरेको उनले बताए । सो रकम उनले एउटा कोष बनाएर जम्मा गरेका छन् । वडाका पाँच सदस्यसहितको एउटा समितिले त्यो कोषबाट विपन्न परिवारलाई सहयोग गर्दै आएको छ । सो रकमबाट तीनजना कुलतमा फसेका युवालाई सुधारगृह लैजान सहयोग गरिएको उनले बताए । त्यसमा ७७ हजार खर्च भएको उनको भनाइ छ । धरान–१८ स्थित बिपी बजारमा विश्वकर्मा मन्दिर बनाउन उनले ५० हजार सहयोग गरेका छन् नयाँ पत्रिकामा समाचार छ । ।










