जाजरकोटे सिडिओका १२ महिनाका १२ काम

जाजरकोट ः जिल्लाको विकास निर्माणको खवरदारी देखि जनसाधारणलाई दैनिक दिएको सेवा सम्मका प्रगती समेटेर प्रशासनले १२ प्रगती सार्वजानिक गरेको छ । आर्थिक वर्ष २०७५÷७६ को १२ महिनामा १२ काम जिल्ला प्रशासन कार्यालय , जाजरकोटले सार्वजानिक गरेको हो । जिल्लामा भएको दैविप्रकोपको राहत वितरण देखि गाउँ , गाउँमा गएर सेवा प्रवाह सम्मका कुराहरु समेटिएका छन् ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले विपद् व्यवस्थापनदेखि शून्य बेरुजुसम्मका १२ महिनाका १२ कार्यहरू प्रस्तुत गनुभएको छ । कुशलतापूर्वक विपद् व्यवस्थापन गत वर्ष विपदबाट भएको क्षतिको हिसाबले जाजरकोट जिल्ला नेपालमै दोस्रो स्थानमा रहेको तथा मानवीय क्षति मात्र १४ जना भएको र ३० करोडभन्दा बढी भौतिक क्षति भए पनि शीघ्र खोज, उद्धार, राहत र पुनस्थापना कार्यलाई प्रभावकारी बनाऊन सकेकै कारण नागरिकहरूमा सरकारप्रतिको धारणा सकारात्मक बनेको उहाँले पहिलो उल्लेखनीय कार्यमा राखेका छन् ।
दोस्रो घरआँगनमा सेवा, सुशासनलाई टेवा अभियान सञ्चालन जिल्लाका सबै ४ वटै गाउँपालिकामा एकीकृत घुम्ती शिविरमार्फत नागरिकता वितरण, मतदाता नामावालीमा नाम दर्ता, उद्योग, घरेलु दर्ता जस्ता सेवा प्रवाह गरिएको तथा एकीकृत घुम्ती शिविर एवं सार्वजनिक सुनुवाइ, बजार अनुगमन, विकास निर्माण एवं सुरक्षा अवस्थाको स्थलगत अध्ययनको सिलसिलामा जिल्लाको न।पा ३, गापा ४ गरी कुल ७ वटै पालिकासम्म पुगी जनतामा राज्यको दह्रो उपस्थितिको अनुभूति गराइएको उनले दोस्रो महत्त्वपूर्ण कार्यका रूपमा उल्लेख गरेका छन् ।

त्यसैगरी तेस्रो महत्त्वपूर्ण कार्यमा सदरमुकाम बाहिरसमेत व्यापक बजार अनुगमन गरेको उल्लेख गरेका छन् । जनताले परिवर्तनको प्रत्यक्ष अनुभूति गर्ने गरी सदरमुकाममा तथा सदरमुकाम बाहिरका विकट ठाउँहरूमा पनि व्यापक अनुगमन निरीक्षण गरिएको उनको भनाई छ ।

प्रभावकारी शान्ति व्यवस्था कायम गरिएको कुरालाई चौथो प्राथमिकतामा राखेका छन् । यस अवधिमा जिल्लामा शान्ति सुरक्षामा चुनौती खडा गर्ने ठुला घटना नभएको र साना तिना विभिन्न आपराधिक घटना घटेता पनि समयमै कानुन बमोजिम कारबाही अघि बढाइएकोले जनतामा स्थानीय प्रशासन एवं प्रहरीप्रति खासै आक्रोश नदेखिएको बस्नेतको भनाई छ ।

जाजरकोट दरबार संरक्षण एवं मर्मत सम्भारको लागि निरन्तर पहल एवं समन्वयलाई पाँचौँ महत्त्वपूर्ण कार्यमा समावेश गरेका छन् । जाजरकोट दरबार एक पुरातात्त्विक महत्त्वको सम्पदा भएकोले पुरातत्त्व विभागको विधि, प्रक्रिया र मापदण्ड अनुसार यसको पुनर्निर्माण गर्न केही वर्ष अघि नै करिब रु २७ करोडको लागत अनुमान सहित गृह मन्त्रालय र पुरातत्त्व विभागमा पठाइएकोमा त्यो हालसम्म स्वीकृत नभएको र तत्काल सरकारले त्यति ठुलो रकम लगानी गर्न सक्ने अवस्था नदेखिएको सन्दर्भमा यसको तत्काल संरक्षण, मर्मत गर्न अति जरुरी भएकोले पर्यटन मन्त्रालयले भेरी नगरपालिकामार्फत बजेट उपलब्ध गराएकोमा सो अनुसार काम गर्न तथा थप रकम उपलब्ध गराउन पर्यटन मन्त्रालय, पुरातत्त्व विभाग तथा भेरी नगरपालिकासँग निरन्तर समन्वय गरी काम अघि बढाइएको र गत वर्ष ५० लाख बराबरको काम गरिएको उल्लेख गरेका छन् ।

छैटौँमा कार्यविधि, निर्देशिका, योजना निर्माण अभियान अन्तर्गत सेवा प्रवाहलाई सुव्यवस्थित एवं योजनाबद्ध ढङ्गले अघि बढाउने उद्देश्यले कार्यालयको आफ्नै कार्य सञ्चालन कार्यविधि एकीकृत रणनीतिक सुरक्षा योजना, बजार अनुगमन योजना, विपद् व्यवस्थापन एवं प्रतिकार्य योजना, मनसून पूर्वतयारी एवं प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयन गरिएको उल्लेख गरेका छन् । यी मध्ये अधिकांश कार्यविधि, निर्देशिका, योजना कार्यालयको वेबसाइटमा समेत अपलोड गरी जो सुकैले हेर्न सक्ने अवस्था सृजना गरिएको बताएका छन् ।

त्यसैगरी विकास आयोजनाको निरन्तर स्थलगत अनुगमन, निरीक्षण तथा निर्देशन दिएको कुरा पनि उनले महत्त्वपूर्ण सातौँ कार्यमा राखेका छन् । विगत ६।७ वर्षदेखि अलपत्र अवस्थामा रहेको जिल्ला अस्पतालको भवन निर्माण अघि बढाइएको, कार्यालयसमेतको संलग्नतामा भएको स्थलगत अनुगमन पछि दल्लीमा स्वास्थ्यको भवन निर्माणको जिम्मा लिई काम नगर्ने ठेकेदारसँगको सम्झौता तोडी कालो सूचीमा राखिएको, शान्ति चौतारादेखि ढाँटी बजारतर्फको सडक कालोपत्रे गर्ने क्रममा ठेकेदारले न्यूम्याटिक रोल र प्रयोग गर्नुपर्नेमा सो प्रयोग नगरी ट्याक्टर बाट कालोपत्रे गर्न लागेको जानकारी प्राप्त भएपछि तत्कालै सो रोकी न्यूम्याटिक रोलर नै ल्याउन लगाइ कालोपत्रे गर्न लगाइएको जनाएका छन् ।

आठौँमा सरकारी सार्वजनिक कार्यालय निरीक्षण तथा कारबाही अन्तर्गत जाजरकोट जिल्ला अस्पताल लगायतका कार्यालयको निरीक्षण गरी सुधार एवं कारबाहीको लागि निर्देशन दिइएको कुरालाई आठौँमा राखेका छन् भने सबै तहका सरकारहरूबिच प्रभावकारी समन्वय गरिएको, सरकारका विभिन्न तहहरूबिच प्रभावकारी समन्वय गरिएको, सङ्घ, प्रदेश र स्थानीय तहका सरकारहरूबिच कुनै विवाद नदेखिएको विषयलाई नवौँ महत्त्वपूर्ण कार्य मानेका छन् ।

एघारौँमा सार्वजनिक सेवा प्रवाहमा प्रविधिको उच्चतम प्रयोग एवं साथै सेवाग्राही केन्द्रित सेवा विस्तार अन्तर्गत सिसिटिभी जडान, डिजिटल वडापत्र जडान, इहाजिरिको नियमित सञ्चालन, वेबसाइट तथा फेसबुकमार्फत महत्त्वपूर्ण सूचना प्रवाह र सेवाग्राहीको सुविधालाई ध्यान दिई ४३ इन्चको स्मार्ट टिभी जडान गरिएको जसबाट सेवाग्राहीहरूले सन्देशमूलक तथा मनोरञ्जनात्मक कार्यक्रम हेर्ने गरेको जनाएका छन् ।

गत वर्ष यस कार्यालयको कुनै पनि बेरुजु नदेखिएको भन्दै शून्य बेरुजु कायम गरिएको कुरालाई आफ्नो १२औँ उल्लेखनीय कार्यमा समावेश गरेका छन् ।





error: Content is protected !!