अर्थ, गृह र सञ्चारसहित १८ जना सचिवको पद रिक्त हुँदै

काठमाडौं, चालू आर्थिक वर्ष २०७६र०७७ को केही महिनाभित्रै अहिले अर्थ, गृह, सञ्चार जस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालीरहेका १८ जना सचिवले अवकास पाउने भएका छन् । केही उमेरहद र केही भने उमेर छँदैमा सचिवको पदावधि सकिएर अवकास हुन लागेका हुन् । यही साउन महिनामा मात्रै पाँचजना सचिवले अवकास पाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको राष्ट्रिय किताबखानाका अनुसार अर्थ मन्त्रालयका दुईवटै सचिव २०७६ सालभित्रमै अवकास पाउने सूचीमा परेका छन् । यसले गर्दा आगामी आर्थिक वर्षको बजेट निर्माण नयाँ सचिवले गर्ने पक्का भएको छ ।
राष्ट्रिय किताबखानाका अनुसार चालू आर्थिक वर्षको २०७६ साउन १ गतेदेखि २०७७ असार ३० गतेसम्म दुई हजार नौ सय ३८ जना विभिन्न तहका कर्मचारीले अवकास पाउँदै छन् । ती मध्ये १८ जना विशिष्ठ श्रेणी अर्थात सचिवले अवकास पाउन लागेका हुन् । यही साउन २२ गते एकै दिन तीनजना सचिवले अवकास पाउने छन् । यसरी अवकास पाउनेमा विगतमा चर्चा र विवादमा आएका सचिव अर्जुन कुमार कार्कीको नाम पहिलो नम्बरमा छ । उनले साउन २२ गते बुधबारबाट अवकास पाउने छन् । कार्की हाल राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सचिवको रुपमा कार्यरत छन् । कार्कीसँगै सोही दिन सचिवद्धय दीपेन्द्रनाथ शर्मा र विष्णुप्रसाद लम्सालले पनि अवकास पाउँदै छन् । शर्मा खानेपानी मन्त्रालय लम्साल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत छन् ।
कार्की, शर्मा र लम्साल २०७१ साल साउन २२ गते सचिव भएका थिए । उनीहरु सचिवको पदावधि सकिएर अवकास पाउन लागेका हुन् । त्यस्तै, हाल युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सचिव कृष्णप्रसाद देवकोटा साउन २३ गते अवकास पाउँदै छन् । २०७३ साल मंसिर १२ गते सचिव भएका देवकोटा ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकासमा परेका हुन् । उनी दुईवर्ष आठ महिना सचिवमा कार्यरत रहे । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत कृष्णराज विसीको यही साउन २९ गते अवकास हुँदैछ । उनी २०७४ साउन १२ गते मात्र सचिव भएका थिए । विसी पनि उमेरहदका कारण अनिवार्य अवकासमा पर्न लागेका हुन् ।
अर्थ मन्त्रालयका राजस्व तर्फका सचिव लालशंकर घिमिरे आउँदो भदौ १० गते अनिवार्य अवकासमा पर्ने भएका छन् । त्यसो त अर्थ मन्त्रालयकै अर्थ सचिव डा। राजन खनाल पनि आउँदो माघ २२ गते अनिवार्य अवकासमा पर्ने छन् । राजस्व सचिव घिमिरे उमेरहदका कारण अनिवार्य अवकासमा परेका हुन् । उनी २०७३ साल असोज २३ गते मात्र सचिव भएका थिए । खनाल भने सचिवको पाँचवर्षे पदावधि सकिएर आउँदो माघ २२ गते अवकास हुन लागेका हुन् । खनाल २०७१ माघ २२ गते सचिव भएका थिए ।
खनाल र घिमिरे दुबैजनाको चालू आर्थिक वर्षको बजेट निर्माण नै अन्तिम हुन पुगेको छ । उनीहरु अवकास भएपछि को सचिव बनेर आउने भनेर अहिले नै दौडधूप चलेको छ । शक्तिका हिसावले गृह मन्त्रालय राम्रो भए पनि पैसाका दृष्टिले अर्थ मन्त्रालय नै सबैभन्दा शक्तिशाली मन्त्रालयको रुपमा हेरिन्छ । सोही कारण अर्थमा सचिव भएर आउन ठूलै कसरत हुने गर्छ । अर्थमा सचिव कसलाई बनाउने भन्ने कुरा अर्थमन्त्रीको मात्र चासोको कुरा भन्दा पनि प्रधानमन्त्रीले नै यसमा विशेष चासो राख्ने गर्छन् । अर्थको निर्णय नै सर्वोपरी हुने गरेको कारण अर्थको भूमिका जहिले पनि महत्वपूर्ण हुने गरेको छ ।
अहिलेका शक्तिशाली सचिवको रुपमा परिचित गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले आउँदो माघ २२ गते नै अवकास पाउँदैछन् । राई २०७१ माघ २२ गते सचिव भएको कारण सचिवको पाँचवर्षे कार्यकाल सकिएर उनी अवकास हुन लागेका हुन् । राईलाई मुख्यसचिव बनाउने खेल भएको स्रोतहरुको दाबी छ । सोही दिन नेपाल ट्रष्टको कार्यालयमा सचिवको रुपमा कार्यरत गजेन्द्र कुमार ठाकुरको पनि अवकास हुँदैछ । उनी पनि सचिवको पाँचवर्षे कार्यकाल सकाएर अवकास हुन लागेका हुन् । उनी पनि २०७१ माघ २२ गते नै सचिव भएका थिए ।
अवकास पाउनेहरुको क्रमसंख्या ५१३ नम्बरमा किरण पौडेलको नाम राष्ट्रिय किताबखानाले प्रकाशित गरेको छ । उनी २०७३ साल माघ ६ गते सचिव भएका थिए । किताबखानाका अनुसार ५८ वर्षे उमेरहदको कारण उनको अवकास मिति प्रकाशित गरिएको हो । अर्का सचिव महेन्द्रमान गुरुङको पदावधि आउँदो कात्तिक २१ सके सकिँदैछ । उनी हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत सचिव हुन् । गुरुङ ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकासमा परेका हुन् । उनी २०७२ फागुन १७ गते सचिव भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवमा कार्यरत डा। पुष्पा चौधरी पनि उमेर हदको कारण आउँदो मंसिर ६ गते अनिवार्य अवकासमा पर्ने भएकि छिन् । उनी २०७४ साल पुस १३ गते सचिव भएकी थिइन ।
यसैगरी, हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव अनिल कुमार ठाकुर पनि उमेर हदकै कारण आउँदो पुस २१ गते अनिवार्य अवकासमा पर्दैछन् । उनी २०७४ साल कात्तिक २० गते मात्र सचिव भएका थिए । चालू आर्थिक वर्षमा अवकास हुने भए पनि २०७७ साल लागेपछि अवकास हुने सचिवहरु पाँच जना छन् । पहिलो नम्बरमा हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत महेश प्रसाद दाहालको आउँदो २०७७ साल वैशाख १९ गते अवकास हुँदैछ । सचिव दाहाल उमेरहदको कारण अनिवार्य अवकास पाउन लागेका हुन् । उनी २०७२ साल असोज २२ गते सचिव भएका थिए । पाँच वर्षे कायकाल पुग्न करिब पाँच महिना बाँकी रहँदा उनी अवकासमा पर्न लागेका हुन् ।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत विनोद केसी र डिल्लीराज घिमिरे तथा राजीव गौतम क्रमशः २०७७ साल जेठ १२ गते, १५ गते र २६ गते अवकास पाउँदै छन् भने सूदूरपश्चिम प्रदेशको प्रमुखसचिवको रुपमा कार्यरत नेपाल सरकारका सचिव नारायण प्रसाद बिडारीको २०७७ असार १४ गते अवकास हुँदैछ । बिडारी उमेरहदका कारण अवकास हुन लागेका हुन् । उनी २०७५ साल साउन १४ गते मात्र सचिव भएका थिए ।
को सचिव कहिले अवकास हुँदैछन्
सचिव अवकास मिति
अर्जुनकुमार कार्की २०७६ साउन २२ गते
दीपेन्द्रनाथ शर्मा २०७६ साउन २२ गते
विष्णुप्रसाद लम्साल २०७६ साउन २२ गते
कृष्णप्रसाद देवकोटा २०७६ साउन २३ गते
कृष्णराज विसी २०७६ साउन २९ गते
लालशंकर घिमिरे २०७६ भदौ १० गते
किरण पौडेल २०७६ भदौ २१ गते
महेन्द्रमान गुरुङ २०७६ कात्तिक २१
डा पुष्पा चौधरी २०७६ मंसिर ६ गते
अनिल कुमार ठाकुर २०७६ पुस २१ गते
गजेन्द्र कुमार ठाकुर २०७६ माघ २२ गते
डा राजन खनाल २०७६ माघ २२ गते
प्रेमकुमार राई २०७६ माघ २२ गते
महेश प्रसाद दाहाल २०७७ वैशाख १९ गते
विनोद केसी २०७७ साल जेठ १२ गते
डिल्लीराज घिमिरे २०७७ जेठ १५ गते
राजीव गौचम २०७७ साल जेठ २६ गते
नारायण प्रसाद बिडारी २०७७ साल असार १४ गते










