तीन दिनदेखि जुफाल विमानस्थल बन्द


डोल्पा ः डोल्पाको जुफाल विमानस्थल तीन दिनदेखि बन्द रहेको छ । खराब मौसमका कारण लागेको बाग्लो हुस्सुले गर्दा जुफाल विमानस्थल र नेपालगञ्जदेखि डोल्पासम्मको जहाजको मार्ग अवरुद्ध भएपछि जुफाल विमानस्थल बन्द भएको हो ।
तीन दिनदेखि बाग्लो हुस्सुले विमानस्थल आसपास क्षेत्र छोपिएकाले कुनैपनि उडानहुन नसकेको नागरिक उड्डयान प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।
जहाज नआएपछि यात्रामा निस्किएका सर्वसाधारणहरु विमानस्थलमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामाग्री ढुवानीमासमेत समस्या भएको छ ।
मौसम खराबका कारण नेपालगञ्जबाट उडान भर्दै आएका तारा, गोमा, नेपाल एयरलाइन्सलगायतका सरकारी तथा निजि बिमान कम्पनीहरुले उडानभर्न सकेका छैनन् ।










