डोल्पामा महामारीको रुप लिँदै टाइफाइड

टेकबहादुर शाही
डोल्पा जिल्ला अस्पताल डोल्पा टाइफाइडका बिरामीले खचाखच भरिएको छ।दिनहुँ टाइफाइडका बिरामी आउन थालेपछि भुँइमै राखेर उपचार सुरु गरिएको छ। पन्ध्र सैयाको क्षमता रहेको जिल्ला अस्पताल डोल्पामा हाल २५ जना भन्दा बढी बिरामी भर्ना भएका छन्।कसैलाई भुइमा त कसैलाई बेन्चमा सुताएर उपचार गर्न थालिएको छ।

गत सातादेखि निरन्तर भाइरलको रुपमा फैलिएपछि टाइफाइडले महामारीको रुप नै लिन थालेको जिल्ला अस्पतालले जनाएको छ। अस्पतालका सबै कोठामा बिरामीले भरीभराउ भएका छन्।

ुविद्यालयमा सँगैका साथी बिरामी हुन थालेपछि आफ्नो पढाइ समेत छुटेको सरस्वती माध्यामिक विद्यालयकी ९ कक्षाकी छात्रा रेसिका बुढाले बताइन् । दिनहुँ बिरामी आउन थालेपछि अस्पतालमा बस्न अप्ठ्यारो भएको बिरामी भिमबहादुर थापा बताए। एक महिनामा ५० भन्दा बढी टाइफाइडका बिरामीले उपचार गराइसकेका छन्।

कसैले आफैं बेडको व्यवस्था गरेका छन् भने कसैले बेड नै नपाएर औषधि लिएर घर फर्किने गरेका छन्।एकै कोठामा ९ देखि १० बेड राखिएका छन्। साना बालबालिकादेखि वृद्धवृद्धासम्म कोठामा उकुसमुकुस गरी बसिरहेका छन्।

जिल्लामा टाइफाइडले महामारीको रुप लिन थालेपछि अस्पतालमा औषधि अभाव खट्किँदै गएको छ।अस्पतालमा औषधि अभाव हुन नदिन सम्बन्धित निकायसँग पहल गरिरहेको निमित्त जिल्ला अस्पताल प्रमुख डक्टर सिजन रावलले बताए।

प्रदेशबाट औषधि र चिकित्सकको टोली आउने तयारी रहेको र जिल्लामा सचेतनामूलक काम गरिरहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए। डक्टर रावलका अनुसार ठुलीभेरी नगरपालिकाले तत्काल १० वटा बिरामी राख्ने म्याट्रिस,सिरानी र ब्ल्याङकेटको व्यवस्था गर्ने भनेपनि ५ वटा मात्रै उपलब्ध गराएको छ।

पानी परीक्षण गर्दा तिप्ला खोलाको पानीमा किटाणु भेटिएकाले पानी उमालेर र फिल्टर गरेर खान चिकित्सकले सल्लाह दिएका छन्।




सम्बन्धित समाचार


error: Content is protected !!