विपद् प्रतिकार्यका लागी स्टेचर वितरण

जाजरकोट ः विपद् प्रतिकार्यका लागी भेरी नगरपालिका वडा नम्बर ४ का विभिन्न बस्तीमा स्टेचर वितरण गरिएको छ । भेरी नगरपालिकाले उपलब्ध गराएको बजेटबाट ४ नम्बर वडा कार्यालयले ९ ओटा बस्ती र तीन सुरक्षा निकायलाई स्टेचर प्रदान गरेको हो । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले एक कार्यक्रमका विच सुरक्षा निकाय र समुदायलाई स्टेचर हस्तान्तरण गरेका हुन् ।
विपद् जतिखेर पनि आउने सक्ने भएकोले प्रतिकार्यका लागी टोल–टोल, बस्ती–बस्तीमा स्टेचर प्रदान गरिएको वडाध्यक्ष खम्बजंग शाहले बताए । सदरमुकाम भएर पनि सवै टोल र बस्तीमा यातायातको पहुँच नपुगेकाले गर्भवति, सुत्केरी, विरामी र विपद्का घटनामा घाईते भएकालाई तत्काल सडकसम्म वा अस्पतालसम्म पुरयाउन स्टेचर आवश्यक पर्ने भएकोले वडा कार्यालयले स्टेचर खरीद गरेर वितरण गरेको उनले बताए ।
नेपाली सेनाको मालिका ब्यारेक, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई दुई दुई सेट सामग्री प्रदान गरिएको छ । त्यस्तै वडाका काजीवाडा, बाहुनवाडा, रानागाँउ, गोरखालीवाडा, शान्तीटोल, मुलपानी, बोहरा, युउरी, शान्तिचौतारा लगायतका टोलमा स्टेचर प्रदान गरिएको हो । स्टेचिङ्ग फोल्डिङ्ग, स्टेचर फोर फोल्डिङ्ग, विपी सेट, रेक्सिन सिरानी र कम्मल सहितको सेट प्रदान गरिएको हो ।
तीन लाख रुपैयामा दुई दर्जन सेट खरीद गरिएकोमा केही थान सामग्री वडा कार्यालयमै मौज्दात गरिएको वडाध्यक्ष शाहले बताए । जहाँ आवश्यक पर्छ त्यही दिन्छौ उनले भने ‘ हाम्रो जस्तो भौगोलिक विकटता भएको ठाँउमा स्टेचरको आवश्यकता निकै महसुस गरेरै किनेका हौ । विपद् नपरोस कामना गरौ तर, पुर्वतयारी र सचेत भने हुनै पर्छ ।’ उनले समुदायका साथै विपद्मा सुरक्षा निकाय तत्काल खटिने भएकोले प्रदान गरिएको बताए ।
नगरप्रमुख चन्द्रप्रकाश घर्तीले विपद् बाजा बजाएर नआउने, जतिखेर पनि जहाँ पनि विपदका घटना घट्न सक्ने र मानिस विरामी पर्दा तत्काल स्वास्थ्य संस्था लैजान पनि स्टेचर आवश्यक पर्ने कुराको महसुस गरेर स्टेचर वितरण गरेर वडा कार्यालयले राम्रो कामको शुरुआत गरेको बताए । स्टेचर सवै बस्ती र टोलमा आवश्यक पर्ने भएकोले अन्य वडाले पनि यस वडाको राम्रो कामको अनुसरण गर्नु पर्ने बताए ।










