सर्वोच्च शिखरको साखमा ह्रास

काठमाडौं ः यस वर्ष विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहीको संख्या बढेसँगै मृतक पनि बढेका छ । सन् २०१९ मा नौ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ । यस वर्ष भारतका चार, अमेरिकाका दुई, बेलायतका एक, आयरल्यान्डका एक र एक नेपाली आरोहीको मृत्यु भएको छ । यस सिजनमा तीन सय ८१ जनाले सगरमाथा आरोहण गरेका छन् । सगरमाथामा ट्राफिक जामका कारण बढीले ज्यान गुमाउनुपरेको चर्चाबीच आरोहीको संख्या तोक्ने कि नतोक्ने भन्ने विषयमा बहससमेत सुरु भएको छ । कतिपयले सगरमाथा आरोहणलाई सस्तो बन्न दिन नहुने र यसका लागि निश्चित मापदण्ड तय गरिनुपर्ने माग पनि गरेका छन् ।
तर, सरकार र शेर्पाहरू भने आरोहीको संख्या बढी भएकैले मृतकको संख्या बढेको अस्वीकार गर्छन् । अनुभवी गाइड र शेर्पा नलगेकाले आरोहीको मृत्यु भएको जानकारहरू बताउँछन् । यस वर्ष तीन सय ८१ जनाले पर्यटन विभागबाट आरोहणको अनुमति लिएका थिए । उनीहरूको शेर्पा र गाइडसमेत ६ सय ३१ जना सगरमाथा आरोहणमा गएका थिए । आरोहीको संख्या अघिल्ला वर्षमा भन्दा बढी भए पनि अत्यधिक होइन ।
सन् २०१८ मा तीन सय ४६ र २०१७ मा तीन सय ६६ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । जसमध्ये क्रमशः चार र पाँचजनाको मृत्यु भएको थियो । सन् २०१६ मा पाँच र सन् २०१५ मा भूकम्पका कारण १९ जना आरोहीको निधन भएको थियो । सन् २०१४ मा पनि आधार शिविरभन्दा केही माथि आएको हिउँपहिरोमा परी १७ जनाको निधन भएको थियो ।
सगरमाथामा ट्राफिक जाम
सगरमाथामा छोटो समयका लागि मात्र आरोहणअनुकूल मौसम हुने गर्छ । त्यही छोटो अवधिमा धेरै आरोहीले सगरमाथा आरोहण गर्नुपर्दा ट्राफिक जाम हुने गरेको छ । मौसम अनुकूल हुनेबित्तिकै एकैपटक धेरै आरोही र तिनका सहयोगी शिखर पुग्न खोज्छन् । त्यस्तै, आरोहण गरिसकेका पनि त्यही अवधिमा फर्किरहेका हुन्छन् । यसले गर्दा क्याम्प ३ भन्दा माथि जाम हुन पुग्छ । खासगरी हिलारी स्टेपमा धेरैजना अड्किने गरेको आरोहीहरू बताउँछन् । यसपटक आरोहणपछि फर्केर हिलारी स्टेपमा तीन घन्टासम्म पालो पर्खनुपरेको आरोही सोना शेर्पाले बताए । ‘लामो समय पालो पर्खनुपर्दा कतिपयको अक्सिजन सकिने अवस्था आउँछ भने कतिपय थाक्छन्,’ पाँचपटक सगरमाथा शिखर पुगिसकेका उनी भन्छन्, । आरोहीहरू शिखरतर्फ उक्लँदै थाकिसकेका हुन्छन्, फर्कंदासमेत लाइनमा बस्नुपर्दा झन् असजिलो हुने शेर्पाहरूको भनाइ छ ।
सरकार र शेर्पा भन्छन्– आरोही धेरै भएका कारण मृतक संख्या बढेको होइन
थुप्रै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपाल सरकारले सगरमाथा आरोहणलाई व्यवसायीकरण गरेर धेरै आरोहीलाई अनुमति दिएका कारण मृत्यु हुनेको संख्या बढेको समाचार सम्प्रेषण गरेका छन् । यद्यपि, नेपाली सरकारी अधिकारी र शेर्पाहरू त्यस्तो आरोप अस्वीकार गर्छन् । प्रख्यात आरोही कामीरिता शेर्पा पनि आरोही धेरै भएर निधन हुनेको संख्या बढेको तर्क मान्न तयार छैनन् । ‘झन्डै चार सयको संख्या ठूलो होइन । तर, गुणस्तरीय शेर्पा तथा गाइड र गुणस्तरीय सामानको प्रयोग नगर्दा दुर्घटना बढेको हो,’ उनी भन्छन् । सस्तो खोज्दा आरोहीले राम्रो जनशक्ति नपाएको उनको भनाइ छ । ‘कम्तीमा पनि राम्रो शेर्पा, गाइड लैजाने हो भने आरोहीको मृत्यु कम हुन्छ,’ उनले थपे, ‘आरोहणको गुणस्तर बढाउन ध्यान दिनुपर्छ ।’
सगरमाथाजस्तो विश्वको धरोहर आरोहण गर्न चाहनेजति सबैलाई अनुमति दिने कि बर्सेनि निश्चित संख्या तोक्ने रु यस्तो बहस सुरु हुँदै गर्दा पर्यटन विभाग माउन्टेनियरिङ शाखा प्रमुख मीरा आचार्यले अहिले नै आरोही संख्या तोक्नेबारे सरकारले नसोचेको बताइन् । ‘छोटो समयमा मौसम अनुकूलता हेरी आरोहण हुने हुँदा चाप बढेको हो,’ उनले भनिन्, ‘आरोहीको संख्या बढी भएका कारण निधन हुनेको संख्या बढेको भने होइन ।’
नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा पनि सगरमाथा आरोहीको अहिलेको संख्या धेरै नभएको बताउँछन् । ‘विश्वका कतिपय हिमालमा हजारौँ आरोही जान्छन् । सगरमाथामा त चार सय पनि छैनन्,’ उनी भन्छन्, ‘संख्या धेरै होइन, मौसमको अवस्थालाई राम्रो विश्लेषण गरी आरोहण व्यवस्थित बनाउनुपर्छ ।’
मापदण्ड
पर्वतारोहण व्यवसायीबीच सस्तो दरमा आरोहण गराउने होडबाजी नै चल्ने गरेको छ । जसले गर्दा कम पैसा भएका आरोहीले सस्तो उपकरण, शेर्पा, गाइडलगायतको प्रयोग गर्छन् । यसले पनि दुर्घटना बढाइरहेको तथा मृत्यु हुनेको संख्या थपिएको जानकारहरू बताउँछन् । अत्यन्त कठिन आरोहणमा सस्तो उपकरण प्रयोग र अदक्ष शेर्पा तथा गाइडको प्रयोगले आरोहीको जीवन रक्षा गर्न कठिन हुने उनीहरूको भनाइ छ । ‘सगरमाथा आरोहणमा कम्तीमा उपकरण र जनशक्तिको मापदण्ड भने तोक्नैपर्छ,’ सगरमाथा आरोहीसमेत रहेका सरकारी सूचना अधिकारी ज्ञानेन्द्र श्रेष्ठ भन्छन्, ‘त्यसो भयो भने मात्र मापदण्डअनुसार आरोही जानेछन् र त्यसले मृत्युदरसमेत कम गर्छ ।’
वर्ष आरोही संख्या निधन
२०१९ ३८१ ९
२०१८ ३४६ ४
२०१७ ३६६ ५
२०१६ ३१८ ५
२०१५ – १९
२०१४ – १७
स्रोत – पर्यटन विभाग
२४ पटक सगरमाथा आरोहण गरेका र यसैपालि सातामा दुईपटक शिखर पुगेका कामीरिता शेर्पा भन्छन्, ‘ट्राफिक जामले होइन, सस्तोमा आरोहण गर्दा दुर्घटना बढेको हो’
कामीरिताले नयाँ पत्रिकासँग भने, ‘सगरमाथाका लागि झन्डै चार सय आरोहीको संख्या धेरै होइन । त्यसैले, आरोही धेरै भएर ट्राफिक जाम बढ्यो र दुर्घटना बढ्यो भन्न मिल्दैन । कारण त्यस्तो होइन । बरु सस्तो बजेटमा आउने आरोहीले कम गुणस्तरीय जनशक्ति र सामानको प्रयोग गर्दा दुर्घटना बढेका छन् । यस्तै कारणले आरोहीको मृत्यु भएको हो । त्यसैले राम्रो पारिश्रमिक दिएर अनुभवी शेर्पालाई लिएर गएमा दुर्घटना कम हुन्छ । अनुभवी शेर्पाले चलाएको आरोहणमा दुर्घटना पनि कम भएकै छन । ध्यान दिनुपर्ने मुख्य विषय यही हो ।’
सरकारले पनि आरोहीको संख्या बढी भएकैले मृतक संख्या बढेको टिप्पणीलाई अस्वीकार गरेको छ । पर्यटन विभाग माउन्टेनियरिङ शाखा प्रमुख मीरा आचार्यले अहिले नै आरोही संख्या तोक्नेबारे सरकारले नसोचेको बताइन् । ‘छोटो समयमा मौसम अनुकूलता हेरी आरोहण हुने हुँदा चाप बढेको हो,’ उनले भनिन्, ‘आरोहीको संख्या बढी भएका कारण मृतकको संख्या बढेको भने होइन ।’
अन्तर्राष्ट्रिय मिडिया भन्छन्, ‘ट्राफिक जामले दुर्घटना बढ्यो’
द न्युयोर्क टाइम्स
यसपालि सगरमाथामा तुलनात्मक रूपमा धेरै आरोहीको मृत्यु भएकोमा द न्युयोर्क टाइम्स एडिटोरियल बोर्डले नै विचार स्तम्भ लेखेको छ । सगरमाथामा शव थुप्रिँदै गएको बताउँदै टाइम्सले लेखेको छ, ‘सगरमाथामा भिडको समस्या समाधान गर्ने समय यही हो ।’ सरकारले आरोहीको स्वास्थ्य जाँचेर मात्र पठाउनुपर्ने र संख्या सीमित गर्नुपर्ने सुझाब पनि उसले दिएको छ ।
नेपाल सरकारको कमजोर नियमनका कारण बढी ज्यान गएको उल्लेख गर्दै टाइम्सले आरोहण कम्पनीको क्षमतामा पनि शंका गरेको छ । ‘चीनले पनि आफ्नोतर्फबाट सगरमाथा आरोहण गराउँछ, तर त्यो मार्ग कमले प्रयोग गर्छन् र नियन्त्रण पनि कडा छ भन्ने गरिन्छ,’ उसले भनेको छ । आरोहीका लागि मापदण्ड तोक्ने काम नेपाली अधिकारीले बल्ल सुरु गर्न थालेको बताउँदै त्यो मापदण्ड अर्को सिजन सुरु हुनुअघि नै लागू हुनुपर्ने टाइम्सको राय छ ।
रोयटर्स
समाचार एजेन्सी रोयटर्सले तन्दुरुस्ती परीक्षणविना सगरमाथा आरोहणमा लग्ने प्रचलनले भीड बढेको जनाएको छ । त्यस्तै, सस्तो खर्चमै आरोहण सम्पन्न गर्ने उद्देश्यले पर्याप्त सहयोगी र सामग्रीविना अनुमति पाउने आरोही जोखिममा परेको उसको टिप्पणी छ । सस्तो आरोहण योजनाले खासगरी भारतीय आरोही बढी जोखिममा रहेको पनि रोयटर्सले उल्लेख गरेको छ ।
द वासिङटन पोस्ट
द वासिङटन पोस्टले सगरमाथामा जाम परेर आरोहीहरू मृत्युको मुखमा पुगिरहेको बताएको छ । अन्य मिडियाले जस्तै नेपालले कुनै मापदण्ड तोक्नेमा शंका गर्दै पोस्टले पनि एकाध वर्षका लागि सगरमाथालाई विश्राम दिनुपर्ने तर्क अघि सारेको छ ।
फाइनान्सियल टाइम्स
फाइनान्सियल टाइम्सले सर्वोच्च शिखर आरोहणको व्यवसायीकरणबारे प्रश्न उठाएको छ । भिडभाडयुक्त सगरमाथामा नौजनाको मृत्यु भएपछि आरोहण व्यवस्थापनमा कडा बहस सुरु भएको जनाउँदै सस्तो सेवा दिने नेपाली कम्पनीको गुणस्तरमा आशंका गरेको छ । ‘सगरमाथा चढ्न युकेको ज्याग्ड ग्लोबले प्रतिव्यक्ति ४५ हजार चार सय ९० डलर शुल्क लिइरहँदा नेपाली कम्पनीहरूले २५ हजार डलर मात्रै लिन्छन्,’ फाइनान्सियल टाइम्स भन्छ नयाँ पत्रिकाबाट साभार ।
वर्ष आरोही संख्या निधन
२०१९ ३८१ ९
२०१८ ३४६ ४
२०१७ ३६६ ५
२०१६ ३१८ ५
२०१५ भूकम्प वर्ष० १९
२०१४ हिमपहिरो १७










