नेकपाका केन्द्रीय सदस्य भन्छन् , हिंसाको सहाराबाट समाधान खोज्नु ‘उत्ताउलोपन’

जाजरकोट ः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य निरज आचार्यले हिंसाको सहाराबाट राजनीतिक समाधान खोज्नु कमजोर, आवेगपूर्ण र उत्ताउलोपना भएको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौँ उपत्यकासहित देशमा विभिन्न स्थानमा भएको बम विस्फोटको घटनालाई लिएर प्रतिबन्धित विप्लव समूहलाई लक्षित गरी आचार्यले वार्ताबाटै समाधान खोज्न आग्रह पनि गरेका छन् ।
सामाजिक सञ्जालमा नेत्रविक्रम चन्द विप्लव र हालका गृहमन्त्री रामबहादुर थापा बादलको युद्धकालिन फोटो राखेर उनले वार्ताबाट समाधान थाल्न दुवै पक्षलाई आह्वान गरेका हुन् ।
उनले दम्भ, कुण्ठा, आक्रोश र बदला भावबाट मुक्त हुन पनि आग्रह गरेका छन् ।
‘हिंसाको सहाराबाट राजनीतिक समाधान खोज्नु कमजोर, आवेगपूर्ण र उत्ताउलो निष्कर्ष हो । यस्तो निष्कर्षले कुन्ठा, बदला, र प्रतिहिंसा जन्माइरहने छ । हामीलाई पुनः उहि ठाउँमा पुर्याउँछ’, आचार्यले लेखेका छन्, ‘दम्भ, कुण्ठा, आक्रोश र बदला भावबाट एकपटक मुक्त होऔँ । सम्बाद थालौँ, कहाँ के हो राजनीतिक, आर्थिक, सामाजिक समस्या छलफलबाट हल गरौँ ।’
सोमबारको बन्दको पूर्वसन्ध्यामा आइतबार काठमाडौँमा भएको विस्फोटमा ४ जनाको ज्यान गएको थियो भने देशका अन्य भाग भएको विस्फोटमा केही घाइते भएका थिए ।
अघिल्लो हप्ता प्रहरीको गोली लागेर भोजपुरमा आफ्ना एक कार्यकर्ताको ज्यान गएपछि विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गरेको छ ।










