स्वास्थ्यकर्मीलाई विदामा नबस्न निर्देशन

जाजरकोट , विगतमा झाडापखाला , स्वाईनफ्लु लगायतका रोगबाट झण्डै २५० भन्दा बढीको मृत्यु भएको जाजरकोटमा यो पटक भने जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा विभागको निर्देशनअनुसार काज वा बिदामा नबस्न परिपत्र गरिएको छ।
यो समय महामारी फैलन सक्ने भएकाले अत्यावश्यक कामबाहेक बिदामा छाड्न नमिल्ने र बिदामा बस्नैपर्ने अवस्था आए वैकल्पिक व्यवस्था गरेर मात्र बिदा स्वीकृति गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । पटक , पटकका बिभिन्न रोगका कारण थलिएको जाजरकोटमा अव यस्ता खालका घट्ना नहुँन भनेर समयमै सचेत भएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो ।
जाजरकोट २०६६ सालमा जाजरकोटका केही दुर्गम गाउँमा देखिएको झाडापखालाका कारण ५० हजार मानिस प्रभावित भए भने १५३ जनाको ज्यान गयो। २०७१ चैत र २०७२ वैशाखमा पुनः जाजरकोटमै सिजनल फ्लु फैलियो। यसबाट २७ जनाको मृत्यु भयो। यसमा पनि पुरानै नियति दोहोरियो । २०७४ माघमा जिल्लाको जुनीचाँदेमा फैलिएको रुघाखोकीबाट १२ जनाको मृत्यु भयो। सयौं बिरामी परे। समयमै उपचार गरिएका कारण थप क्षति हुन भने पाएन।
मानिस अहिले पनि बिरामी हुँदा स्वास्थ्य संस्था जानुको साटो धामीझाँक्रीकहाँ झारफुक गर्न जाने गरेका छन्। जाजरकोटलाई २०७१ सालमै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ। सरकारी तथ्यांकमा ८७ प्रतिशत जनताले शुद्ध खानेपानी उपभोग गर्छन् भन्ने छ। तर दाउरा र पराल राख्न शौचालय प्रयोग गरिएको पाईएको छ । अधिकांश नागरिक अहिले पनि खुला शौच गर्छन्। यहाँका करिब ७५ प्रतिशत मानिसले असुरक्षित पानी पिउने गरेको एक अध्ययनले देखाएको छ। दूषित पानीकै कारण धेरैजसो सरुवा रोग फैलिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ।
नौ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा एक जना एमडीजीपी चिकित्सक र अरू मेडिकल अधिकृत मात्र छन्। पहिलेको भन्दा अहिले अस्पतालको मुहार फेरिएको छ । जाजरकोटमा एक जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ स्वास्थ्य केन्द्र छन्। भौगोलिक रूपमा निकै विकट रहेको जाजरकोटमा ७७ वडा छन्। सरकारले एक वडा एक स्वास्थ्य संस्था बनाउने नीतिगत निर्णय गरिसकेको भएपनि यहाँ ३५ स्वास्थ्य संस्था छन् भने बाँकी ४२ वडा स्वास्थ्य संस्थाविहीन रहेको छ । भएका स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नभएको वर्षौ भएको स्थानीयको गुनासो छ ।
महामारी फैलिन नदिन जिल्लाका विभिन्न स्थानमा बफर स्टक औषधि राख्नुपर्ने र जिल्लामा स्वास्थ्यकर्मीको टास्क फोर्स (घुम्ती टोली) राख्नुपर्नेमा त्यो हुन सकेको छैन। तर स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति कृष्णबहादुर खत्रीले कार्यालय तयारी अवस्थामै रहेको दाबी गरेका छन्। तर उहाँले भनेपनि दुई हप्ता अघि पठाएको औषधी बाटोमै म्याद गुर्जेको पाइएपछि निकै आलोचना भएको थियो । स्थानीय सरकारले जनचेतना मुलक कार्यक्रम देखि पुर्व तयारीका लागि औषधीको कुनै ब्यवस्था नगरेको पाईएको छ । सञ्चार माध्यममा सुचना दिएर जनताको सुचना पाउँने अधिकार कुण्ठिन गर्दे फेसबुकमा सुचना सम्प्रेशन गरेर दिन कटाउने गरेका स्थानीय तहका कर्मचारीहरुले विकासे योजनाको अनुगमण समेत आफै गर्दै आएका छन् । आफै योजना बाँड्ने र आफै अनुगमण गर्दा आफै धामी र आफै बोक्सी हुँने गरेको नागरिक समाजको विश्लेषण रहेको छ । जिल्लाको भेरी नगरपालिका बाहेक अन्य ठाउँमा विकास निर्माणका योजनामा पत्रकारलाई सहयोगी नै नगराएको पत्रकार महासंघ , जाजरकोटका अध्यक्ष भीमबहादुर सिंहले बताउनुभयो ।
त्यस्तै अर्का पत्रकार तथा रेडियो हाम्रो पाईलाका प्रवन्ध निर्देशक बालकुमार शर्माका अनुसार कुनै पनि स्थानीय तहको सुचना रेडियोबाट अहिले सम्म प्रशारण भएको छैन् । सदरमुकाममा कार्यालय हुँदा सवै सुचना रेडियो मार्फत प्रशारण हुँदा सवैले थाहा पाउने काम हुन्थ्यो , अहिले स्थानीय तह गठन सँगै कुनै सुचना प्रशारण भएको छैन् त्यसैले सर्वसाधारणले कहाँ के भईरहेको छ भन्ने सम्म थाहा पाउन मुस्किल छ ।










