चालिस वर्ष देखि तुइनकै भरमा

जाजरकोट । दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ ।
नलगाड नगरपालिका– १, ठुलाबगरकी ४१ बर्षिया हस्तकला घर्ती घरबाट दैनिक दिन तरकारी बिक्री गर्न रिम्नाबाजार जान्छिन् । तुइन्मा झुण्डिएर जाँदा यहाँलाइ बाँचिन्छ , कि बाँचिदैन, भन्दै मनमा डरले सातो जाँने गरेको छ । वजार जानलाई सहज बाटो छैन् । त्यस्तै गरी सोही ठाउकी गोलाबी पुन, पठबीर पुन, टबबहादुर घर्ती र अमर पुन लगायत स्थानीय तुईनको भरमा नदी वारपार गरी बजार आउजाउ गर्न वाध्य छन् । ठुलाबगरका स्थानीयका लागि सदरमुकाम खलंगा तथा स्थानीय बजार पुग्न जोखिमपूर्ण तुइन नचढी सुक्कै छैन ।
उनीहरु मात्र हैन । बर्षौदेखि सयौं स्थानीय तुईनबाटै जोखिम मोलेर भेरी नदी वारपार गर्दै आएका छन् । आठवीसकोट नगरपालिका –१४ का सिर्जना आधारभुत विद्यालय शिक्षक ज्ञानबहादुर घर्तीले भन्नुभयो, “ विद्यालय जाने बालबालिका, बृद्धबृद्धा लगायतलाई तुईनकै भरमा नदी वारपार गर्नु परेको छ , ठुलाबगर, खर्चा, दम्सीला, भित्रखोला, ओडारा, पाली लगायत गाउका १ सय घरपरिवार स्थानीय प्रविधीबाट निर्मित तुईनकै भर वारपार गर्न वाध्य हुनुपरेको छ,” । यसैगरी तुइनबाटै नदी स्थानीयबासीहरु लाई आवतजावत गर्न नलगाड नगरपालिका – १ माउरे ठुलाबगर र पश्चिमरुकुमको आठविसकोट नगरपालिका– १४, छोटेतरा बीच भेरी नदीको तुईनको विकल्प छैन । नदीमा झोलुंगे पुल नहुँदा र अन्य स्थानबाट पनि आवजावत गर्ने बाटो नहुँदा बर्षौदेखि यहाँका बासिन्दा तुईनको जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका हुन् ।
त्यस्तै पश्मिरुकुमको पिपलचौर, छोटेतरा, छेपारे, चाख्लेमेला लगायत ठाउका बासिन्दा पनि उक्त तुईनको सहयोगले भेरी नदी वारपार गर्दै आएका छन् । स्थानीय प्रविधीबाट काठले बनेको ढुंग्रोमा बसी फलामको डोरीमा झुण्डिएर एक सय मिटर चौडा भेरी नदी वारपार गर्ने गरेको स्थानीयको भनाइ छ । तुईन तरेरै जिन्दगी वित्न थालेको स्थानीयबासीको भनाइ छ । पुल बनाइदिन विभिन्न निकायसंग आग्रह गर्दा पनि कसैले नसुनेको स्थानीयको गुनासो छ । पुल भएको स्थान सम्म पुग्न डेड् घण्टा समय लाग्छ । त्यो पनि जोखिमपुर्ण भीरको बाटो छ । उक्त अप्ठेरो बाटोबाट लडेर कतीको ज्यान समेत गैसकेको छ । अप्ठेरो बाटोबाट लडेर ज्यान गुमाउनु भन्दा जोखिमपूर्ण तुईनकै सहायता लिनु जाति छ स्थानीयलाई ।
बर्षौदेखि एउटै तुइनको सहायताले नदी वारपार गर्दै आएका छन स्थानीय । ३०÷४० बर्ष अघिसम्म नदी वारपार गर्दा चिन्डा र ढुंगा(नाउ) को प्रयोगमा थियो । चिन्डा र ढुंगाको माध्यमले वारपार गर्ने क्रममा नदी बगेर ३ जनाले समेत ज्यान गुमाउनु परेको थियो । स्थानीय बीररबहादुर पुनले जानकारी दिनुभयो,“तत्कालिन जिल्ला विकास समितिसंग फालामे लठ्ठा माग गरेर तुईन बनाएको भेरी नदी आउजाउ गर्न स्थानीयलाई धेरै दुःख छ, विभिन्न निकायहरुमा पुल बनाउन माग गरेपनि कतैबाट सुनुवाइ भएको छैन् ,” । २० बर्ष अघि बनेको उक्त तुईनकै भर दैनिक उपभोग्य बस्तुको आपुर्ती गर्न, औषधी उपचार गर्न र अन्य कामकाजका सदरमुकाम खलंगा आवतजावत गर्नुको विकल्प नै छैन ।
भेरी नदीमा पुल बनाई दिन विभिन्न निकायमा पटक पटक आग्रह गरेपनि राजनीतिक पहुच नहुँदा सम्बन्धित निकायको ध्यान नपुगेको ठुलाबगरबासीको गुनासो छ । विकासे कार्यकर्ता र राजनीतिक दलका स्थानीय नेता यसै तुईनको सहायताले नदी वारपार गर्छन् । चुनाव आउदा नेताले हामी पुल निर्माणका लागि पहल गर्छौ, भनेर जान्छन तर जितेर गएपछि फर्केर नआउने गरेको स्थानीयले बताएका छन । बर्षौ वित्यो तर पुल निर्माण हुन सकेको छैन् । तुईनबाट वारपार गर्ने क्रममा मोबाईल, विद्यार्थीका किताब, खाद्य सामग्री नदीमा खस्ने गरेको छ ।
उता नलगाड नगरपालिकाको २ स्थानमा तुईन सञ्चालनमा रहेको नगरप्रमुख टेकबहादुर रावलले बताउनु भएको छ । वडा नं. १ को ठुलाबगर र वडा नं.८ मैदे मालुवातरामा तुईन संञ्चालनमा छन् । पुल बनाउन नगरको बजेटले नभ्याउने हुदा संघीय सरकारसंग माग गरेपनि अहिसम्म कुनै सुनुवाई नभएको नगरले जनाएको छ ।
तुइनको पोल, घिर्नी र मान्छे बस्ने ढुवांग्रो काठबाट बनेकोले झन जोखिम भएको छ । बर्षेनी उक्त काठ बदल्ने र मर्मत खर्च स्थानीयबाट चन्दा उठाएर जुटाउने गरेका छन । यस बर्ष १० हजार खर्चेर तुईन मर्मत गरिएको छ ।
प्रधामन्त्री केपी शर्मा वलीले दुई बर्षमा देशभरका तुईन विस्थापन गर्ने भने पनि हालसम्म उक्त भनाई पुरा नभएको स्थानीयले बताउनुभयो । अघि जनजाति र दलितको बाहुल्यता रहेको ठुलाबगर लगायत गाउका बासिन्दाको पुलद्वारा नदी वारावार गर्ने धोको कल्पनामा सिमिति भएको छ । कडा चट्टान भएको निउमा जाजरकोट – डोल्पा मोटर बाटो पनि रुकुमको भुभागबाट निर्माण हुँदा झन स्थानीय मर्का परेका छन ।










