जब मन्त्रीले सचिवको कार्यकक्षमा ताला लगाईदिए‘

मकवानपुर । विभिन्न माग राख्दै कर्मचारीले कार्यालयमा, सर्वसाधारणले सरकारी कार्यालयमा ताला लगाएको सुन्दै आएको हो । तर प्रदेश–३ मा मन्त्रीले नै सचिवको कार्यकक्षमा ताला लगाइदिएका छन् ।

प्रदेश–३ का सामाजीक विकास मन्त्री युवराज दुलालले आफ्नै मन्त्रालयका सचिव लोकनाथ पौडेलेको कार्यकक्षमा मंगलबार ताला लगाई दिएका हुन् । मन्त्री र सचिवबीच केही समयदेखि चल्दै आएको विवाद उत्कर्षमा पुगेपछि मन्त्री दुलालले सचिवको कार्यकक्षमा ताला लगाइदिएको स्रोतले जनाएको छ ।

मन्त्री र सचिवको विवादले अहिले सामाजीक विकास मन्त्रालयको काम नै ठप्प भएको छ । मन्त्रीले नै सचिवको कार्यकक्षमा ताला लगाइदिएपछि सचिव पौडेल काठमाडौं गएका छन् । मन्त्री र सचिवको दोहोरीले मन्त्रालयका अन्य कर्मचारी भने अन्यौलमा परेका छन् । सचिव पौडेलले काम नगरेका कारण बाध्य भएर ताला लगाउनु परेको मन्त्री दुलालको भनाइ छ ।

उनका अनुसार सचिव पौडेलले फाइलहरु अड्काएर राख्ने, काम नगर्ने, असहयोग गर्ने बाररम्बार गरिरहेपछि उनको कार्यकक्षमा ताला लगाएको बताए । सचिवले फाइल थुपारेर बस्ने तर काम नगर्ने गरेपछि स्पष्टिकरण सोधेको मन्त्री दुलालले जानकारी दिए । तर सचिव पौडेलले स्पष्टिकरणलाई बेवास्ता गर्दै काम नगरेपछि ताला लगाउनु परेको उनले बताए ।

लामो समयदेखि अड्काएर राखेको फाइल पहिलाको मितिमा सही नगरुन भनेर प्रमाणका लागि कार्यकक्षमै ताला लगाउनु परेको उनको दाबी छ । सचिवले काम नगरेको हुनाले र अगाडिको मितिमा फाइल स्वीकृत गर्ने सम्भवना देखिएकोले आफूले सो फाइलहरु लक गर्ने उद्देश्यले ताला लगाएको मन्त्री दुलालले बताए । उता सचिव पौडेलले अहिले घरबिदामा रहेको प्रतिक्रिया दिए । मन्त्री दुलालले लगाएको आरोप बारे प्रश्न सोध्दा उनले यस विषयमा आफु केही नबोल्ने बताए । उनले भने–‘म १० दिनको घरविदा स्वीकृत गरी काठमाडौँ आएको छु । अरु मलाई थाहा छै्न ।’





error: Content is protected !!