शताब्दीआसपासका दम्पती

काठमाडौं ः विरलै मानिस शतायु बाँच्छन् । अझ भाग्यमानीले मात्रै त्यतिन्जेल दाम्पत्य सुख पाउँछन् । शताब्दीपुरुष सत्यमोहन र राधा जोशी हुन् वा इलामका टंकनाथ र इन्द्रछाया भुर्तेल, राष्ट्रकवि माधव घिमिरे र महाकाली अधिकारी हुन् वा रसुवाका नुर्पुछोवाङ र छिरिङ घले हुन्, शताब्दी उमेरको ढोका ढक्ढक्याउँदासम्म उनीहरूलाई दम्पतीको साथ छ । केटाकेटीमै बिहेबन्धनमा बाँधिएका यस्ता कतिपय जोडीले जीवनमा हजारौँ उतारचढाव भोगेका छन् । सुख विरलै पाएका यी दम्पती दुःखमा पनि कहिल्यै आत्तिएनन्, एक–अर्काको आडभरोसामा दुःख पन्छाउँदै सधैँ अगाडि बढे । संघर्षपूर्ण जीवनभोगाइले उनीहरूको दाम्पत्यजीवनलाई पनि दरिलो र सुखद बनायो । बिहेपछि सामान्य मनमुटावमै पारपाचुके गर्ने अहिलेको युवापिँढीका लागि यी दम्पतीको जीवन उदाहरण बन्न सक्छ ।
संस्कृतिविद् सत्यमोहन र राधा जोशी ८२ वर्षे सहयात्रा
‘बिहे गर्ने रुचि थिएन, तर बहिनीको विवाह हुने भएपछि बुबाले एउटै खर्चमा टार्ने विचारले कर गर्नुभयो,’ सत्यमोहन जोशीले सुनाए, ‘बहिनीको विवाह चार दिनपछि थियो । घर सानो भएकाले कोठा पुग्दैनथ्यो, त्यसैले राधालाई सिरी माइतीबाट ल्याएर घरमा नभिœयाई छिमेकमा राख्ने नेवारी परम्परा । जुन विशेष अवस्थामा मात्रै गर्ने गरिन्छ राख्नुपरेको थियो ।’ बिहेको पाँच दिनमा मात्रै उनले पत्नीको मुख देखेका थिए । किनभने त्यसवेला नेवारी संस्कारमा बेहुली लिन बेहुला जाँदैन थिए । सानो उमेरमा बिहे भए पनि महिनावारी नहुन्जेल दुवैलाई साथ बस्न दिइँदैनथ्यो । त्यसैले बिहेको ६ वर्षपछि मात्रै उनी साथ रहन थाले । सत्यमोहन धेरैजसो घरबाहिरै हुन्थे । राधाले घर सम्हालिन्, छोराछोरी हुर्काइन् । तीन छोराबुहारी, तीन छोरी–ज्वाइँ, १२ नातिनातिनी र सात पनातिपनातिनीका अभिभावक सत्यमोहन–राधाको दाम्पत्य सुमधुर छ । ‘मेरो सफलतामा राधाको हिस्सा पनि बराबर छ,’ सत्यमोहन भन्छन् ।
आउँदो वैशाख ३० गते सत्यमोहन सय वर्ष लाग्दै छन्, राधा ९६ । बिहे भएको साल उनीहरूलाई ठ्याक्कै सम्झना छैन, तैपनि ८२ वर्ष लागेको बताउँछन् । राधा घरभित्र र बाहिर मात्रै गर्न सक्छिन् । सत्यमोहन त ठमठमी हिँडेर एकै दिन सहरका दुई–चार कार्यक्रम भ्याउँछन् । उनका दर्जनभन्दा बढी सांस्कृतिक एवं साहित्यिक कृति प्रकाशित छन् ।
राष्ट्रकवि माधव घिमिरे र महाकाली अधिकारी ७० वर्षको दाम्पत्यजीवन
सय वर्षमा हिँडिरहेका छन्, राष्ट्रकवि माधव घिमिरे । गत असोजमा उमेरले शताब्दी छोए पनि उनको सक्रियता कम भएको छैन । नेपाली साहित्यका धरोहर मानिने घिमिरेले काव्यमा छन्दको प्रयोगलाई उचाइमा पुर्याएका छन् । सहज शिक्षण केन्द्रमा शिक्षक, नेपाल–भारत मैत्री संघका अध्यक्ष, कलेज अफ एजुकेसनका लेक्चर, काव्य प्रतिष्ठानका सदस्य, इन्द्रेणीका सम्पादक, तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य र उपकुलपति हुँदै कुलपतिसमेत बनेका थिए उनी । विभिन्न राष्ट्रिय पुरस्कार एवं सम्मान पाएका उनका गौरी, मालती–मंगले, हिमालपारि हिमालवारि, शकुन्तला, किन्नर किन्नरीलगायत कृति चर्चित छन् ।
२००४ मा पहिलो पत्नी गौरीको निधन भएपछि उनले गौरी शोककाव्य लेखेका हुन् । गौरीबाट उनका दुई छोरी छन् । पहिलो पत्नीको मृत्युपछि उनले महाकाली अधिकारीसँग दोस्रो विवाह गरे । २००५ मा विवाह गरेका घिमिरे र अधिकारी अहिले ७० वर्षे वैवाहिक यात्रामा छन् । अधिकारीतर्फबाट चार छोरी र दुई छोरा छन् । पाँच छोरी र दुई छोराबाट २० नातिनातिना छन् भने १९ पनातिपनातिनी छन् ।
पत्रकार तथा साहित्यकार मदनमणि र रीता दीक्षित ः आठ दशकको साथ
‘पानी पोखाएको बुबालाई भन्दिन्छु १’ विवाह गरेको दुई वर्षपछि उनले दुलहीसँग बोलेको पहिलो वाक्य थियो यो । बुबाको कोठामा संगमरमरको टेबलमा रीताले पानी पोखेपछि मदनमणिले पोल लाइदिने धम्की दिएका थिए । अहिले मदनमणि ९७ पुगे, रीता ९३ पुगिन् । तर, उनी त्यो क्षण अझै सम्झिरहन्छन् । गत माघ २५ गते उनीहरूले ८०औँ वैवाहिक वर्षगाँठ पूरा गरे । १९९५ मा बनारसमा विवाह हुँदा मदनमणि १७ लागेका थिए भने रीता १३ वर्ष । रीता वीरगन्जकी थिइन् ।
आठ दशकको सहयात्रामा दीक्षितदम्पतीले अनेक समस्या भोग्नुपरेको रीता सम्झिन्छिन् । मदनमणि रीतासँग कहिल्यै छलफल गर्दैनथे । उनको पढाइ, लेखनबारे पनि रीताले अरूको मुखबाट सुनिन् । ‘िछोराछोरीको पढाइ, हालखबर कहिल्यै सोध्नुभएन,’ रीता भन्छिन्, ‘गुनासो गर्दा नबोलेरै जित्नुहुन्छ ।’
तर, रीतासँग मदनमणिको कुनै गुनासो छैन । ‘घर सम्हालिन्, छोराछोरी योग्य बनाइन्, म खुसी छु,’ उनी भन्छन्, ‘मेरो जीवनमा उनी नआएको भए अहिलेको उचाइमा पुग्ने थिइनँ ।’ विवाहबारे नबुझ्दै विवाह गर्ने प्रचलन बदलिएकोमा पनि रीता खुसी छिन्, ‘अहिले त उमेर पुगेपछि, विचार मिलेपछि बिहे गर्छन्, अनि सम्बन्ध पनि सुमधुर हुन्छ ।’
टंकनाथ र इन्द्रछाया भुर्तेल ः जसले सय वर्षको उमेरमा फेरि बिहे गरे
चार वर्षअघि सय वर्ष पुगेका टंकनाथ भुर्तेल र ९० वर्षकी इन्द्रछाया भुर्तेलले बिहे गरे । शतायु पार गरेको अवसरमा उनीहरूले दोस्रोपटक बिहे गरेका थिए । उनीहरूबीच पहिलो विवाह त इन्द्रछाया १० र टंकनाथ २० वर्षको हुँदै भएको थियो । बेहुलाबेहुली दुवैलाई एउटै डोलीमा बोकिएको थियो । ‘डोलीमा नै निद्रा लागेर बेहुलाको काखमै निदाएछु,’ इन्द्रछाया सम्झिन्छिन् । मैतालु फिर्ता भएको लामो समयसम्म पनि उनीहरूबाट जायजन्म भएन । ‘अर्को बिहे गर भनेर मलाई दिनभर फकाउँथे,’ टंकनाथले भने, ‘मैले मानिनँ ।’ दिनदिनै सौता भित्रिने कुरा सुनेर इन्द्रछाया ज्योतिषीलाई चिनासमेत हेराउन पुगिन् । ‘३० वर्षको उमेरमा जायजन्म हुन्छ भने, नभन्दै ठ्याक्कै पुग्यो । भुर्तेलदम्पतीबाट ६ छोरा र ३ छोरी जन्मिए । एक छोरा र एक छोरी भने बालकैमा बिते ।
टंकनाथ १०४ वर्षको उमेरमा पनि प्रशस्तै पुस्तक पढ्छन् । उनलाई चस्मा चाहिँदैन । बिहानभर धार्मिक पुस्तक पाठ गर्छन् । खाना खाएपछि भने घरवरिपरि घुम्छन् । नजिकै रहेको वरको रूखबाट खसेको पात टिपेर गाईलाई खुवाउँछन् । आशीष थाप्न आउनेहरू पनि बाक्लै हुन्छन् । ‘आशीर्वाद माग्नेलाई फूल दियो, हामीजस्तै बाँच्नू भनेर आसिक थियो, दिन बितिहाल्छ,’ उनी भन्छन्, ‘कोही त पैसा दिएर जान्छन् ।’
नुर्पुछोवाङ घले र छिरिङ घले ः १२ पैसामा काम गर्ने जमानाका दम्पती
गोसाइँकुण्ड गाउँपालिका–६ का ९९ वर्षीय नुर्पु छोवाङ घलेकी पाँचौँ पत्नी हुन्, ७३ वर्षीया छिरिङ घले । चार पत्नीको कालगतिले मृत्यु भइसकेपछि नुर्पुले छिरिङसँग विवाह गरेका हुन् । घलेदम्पतीका एक छोरा, दुई नाति र तीन नातिनी छन् । घले सदरमुकाम धुन्चेमा रहेको टुल्कु छोलिङ गुम्बाका प्रमुख लामासमेत हुन् । ‘हाम्रा पितापुर्खाले लामाको काम गर्दै आएको नुभएको हुँदा मैले पनि यही गर्दै छु,’ उनले भने, ‘अब त बुढो भइयो, आँखा पनि राम्रोसँग देख्दिनँ ।’ सरकारले दिने वृद्धभत्ता र लामाको काम गरेर आएको पैसाले दैनिकी चलिरहेको घलेदम्पतीको भनाइ छ । लामा पढ्दा तीन दिनमा हजार रुपैयाँसम्म कमाइ हुन्छ । सरकारले मासिक दुई हजार रुपैयाँ वृद्धभत्ता दिने गरेको छ । बारी कमाउनेले मकै, कोदो, गहुँ ल्याइदियो भने त्यसबाट केही दिन चल्छ । आफूसँग जेठो नाति बस्ने गरेको नुर्पुले बताए ।
नुर्पुका ४० शिष्य लामा छन् । त्यसमध्ये ९ जना परमधाम भइसके । तिब्बतको लेन्दी लेकसम्म कुटकी, पदमचाल, प्वेजस्ता जडीबुटी खन्न गएको उनी स्मरण गर्छन् । ती जडीबुटीलाई काठमाडौंसम्म बेच्न लैजाने गर्थे । १२ पैसा ज्यालामा दिनभर काम गरेको अनुभव उनीसँग छ । अहिले हजार रुपैयाँमा पनि कामदार नपाउने जमाना देखेर उनी छक्क पर्छन् ।
लालबहादुर र भद्रकाली थापा ः पुराना दिन सम्झेर दिन काट्छन्
‘उः पारिबाट जन्ती आए १’ त्यसवेला ७ वर्षकी भद्रकाली थापा उफ्रेकी थिइन् । ती जन्ती उनैलाई लिन आएका थिए । बाग्लुङ काँठेखोलाकी उनी र रायडाँडा भौरीभिरका लालबहादुर थापाबीच बिहे भएको थियो । लालबहादुर ९६ पुगे, भद्रकाली ८६ वर्ष । तर लालबहादुरले तीन वटा बिहे गरेपछि दाम्पत्य धर्मरायो । ‘बैंसमा उन्मात लाग्यो, दुईवटीले नभएर तीनवटीसम्म बिहे गरियो,’ लालबहादुर आफैँप्रति चुक्चुकाउँछन् । तेस्री पत्नीले बिहे गरेको तीन महिनामै उनलाई छोडिन् । दोस्री पत्नीको ०५२ मा निधन भयो । ‘जीवनभर यसैसँग बित्न लेखेको रहेछ,’ उनले भद्रकालीतिर हेर्दै भने । उनीहरूका १० छोराछोरी १७ नातिनातिना र १६ पनातिपनातिना छन् ।
बमबहादुर र गीताकुमारी थापा ः एक–अर्काको सहारा
दोलखा भीमेश्वर नगरपालिका–७ कुप्रीका ९२ वर्षीय बमबहादुर थापा र ७३ वर्षीया पत्नी गीताकुमारी एक–अर्काका कुरा सुनेर दिन बिताउँछन् । चरिकोटस्थित मानेडाँडामा बस्ने उनी घाम लागेको दिन सातदोबाटोतिर जान्छन् । बुढापाकामध्ये उनी चतुर पनि देखिन्छन् ।
लालबहादुरले १९९९ मा विवाह गरेका थिए । तीन छोरा र एक छोरी जन्मेपछि उनकी पत्नीको निधन भयो । जागिरको सिलसिलामा पोखरा पुगेका वेला उनले ०२७ मा गीताकुमारीसँग दोस्रो विवाह गरे । ‘छोराछोरी हुर्काउन पनि बिहे नगरी धर थिएन,’ उनी भन्छन् । गीताकुमारीबाट पनि एक छोरा एक छोरी जन्मिए ।
बमबहादुरले जीवनको लामो समय निजामती क्षेत्रमा बिताए । ००३ मा चार दिन हिँडेर काठमाडौं पुग्दा उनले सैनिक कवाज खेलेको देखे । तिनको फुर्ती देखेपछि उनले सेनामा जागिर खाने निश्चय गरे । घरमै बुबाको सहयोगमा चिठी र तमसुक लेख्न सक्ने भएका उनले जागिर सजिलै पाए । तलब थियो, १२ रुपैयाँ । ७ वर्ष सेनामा काम गरेपछि उनी कृषि विभागको बहिदार बने । आफ्नै आँखाले राणादेखि राजासम्म फालिएको देखेका उनी देश नबन्नुमा घुस सबैभन्दा ठूलो कारण रहेको बताउँछन् ।
डोमन र जलियादेवी कामती ः मन्त्री सूर्यनाथ दासका सहयोगी
औरही–५ सिरहाका डोमन कामती ९३ वर्षका भए । उनकी पत्नी जलियादेवी ८४ पुगिन् । कमजोर आर्थिक अवस्थाका कारण डोमनको बाल्यकाल कठिन रह्यो । डोमनको सानै उमेरमा भारत सुगोनाकी जलियादेवीसँग विवाह भयो । सिरहाका पुराना कांग्रेस नेता सूर्यनाथदास यादवको सहयोगी थिए डोमन । सूर्यनाथको बिपी, मातृकाजस्ता नेतासँग राम्रो सम्बन्ध थियो ।
सूर्यनाथको ससुराली पटनामा थियो । उनीसँगै डोमन पनि त्यता जान्थे । उनीसँग भेटिने नेपाली र भारतीय नेतालाई आफूले चिया पकाएर खुवाएको डोमनको भनाइ छ । सूर्यनाथ मन्त्री बनेपछि डोमन पनि काठमाडौं पुगे । राजा महेन्द्रले कु गरेपछि उनी फेरि औरही फर्के । पछि उनले जिल्ला शिक्षा कार्यालयको भान्सेका रूपमा काम गर्न थाले । जागिर छुटेपछि उनी गाउँ फर्केर खेतीपातीमा जुटे । डोमन–जलियादेवीका ३ छोरा र २ छोरी छन् ।
छविलाल र रेवती सुवेदी ः सबैका स्यानाबा–स्यानीआमोई
स्याङ्जा पुतलीबजार नगरपालिका–१३ जिमिरेनिवासी ९१ वर्षीय छविलाल र उनकी पत्नी रेवती सुवेदीलाई गाउँका बुढापाका र केटाकेटीसमेतले ‘स्यानाबा–स्यानीआमोई’ भनेर बोलाउँछन् । उनीहरूलाई जनाति पुस्तासम्मले यही साइनो लाउँछन् ।
गाई चराएर, घाँसपात र मेलापात गरेर उनले जीवनको अधिकांश समय गुजारे । ‘कि पाल्नु बाख्रोपाठो, कि लाग्नु लामो बाटो भन्ने उखान थियो । मैले लामो बाटो रोजिनँ, घरमै बाख्रोपाठो पाल्ने काम रोजेँ,’ उनले भने, ‘अब त सक्न छोडियो, अरूले गरेको हेरेर दिन बिताउने हो ।’ सुवेदीदम्पतीसँग अहिले नातिनीज्वाइँ बस्छन् ।
बखतनारायण र बालकुमारी श्रेष्ठ ः ९२ वर्षमा खेत खन्ने फुर्ती
व्यास नगरपालिका– ३ दमौलीका बखतनारायण श्रेष्ठ र उनकी पत्नी बालकुमारीको दिन स्नानबाट सुरु हुन्छ । दुवै पूजापाठ र चियापान गर्छन् । त्यसपछि खेतबारीतिर लाग्छन् । दुवै गफ गर्दै खेतसम्म पुग्छन् र सँगै खन्छन् । छिमेकीहरू उनीहरूको यो जोस देखेर छक्क पर्छन् । किनभने उमेरले बखतबहादुर ९२ वर्ष र बालकुमारी ८२ वर्षकी हुन् । उनीहरूका चार छोरा र तीन छोरी छन् ।
बुबाआमालाई खेतबारीमा काम नगर्नु भन्दा नमान्ने छोरा शंकरनारायणले बताए । ‘यत्रो उमेर भइसक्यो तर बाबा फुर्तिलो नै हुनुहुन्छ । काम गर्न खेतमा जान अघि सर्नुहुन्छ । अरू मान्छे छक्क पर्छन्,’ उनी भन्छन् ।







