रोकायगाउँमा खानेपानी अभाव

जाजरकोट , बारेकोट गाउँपालिका– २, रोकायगाउँमा तीन सय घरपरिवार शुद्ध पानीबाट वञ्चित भएका छन् । शुद्ध पानीको अभाव भएपछि उनीहरू दूषित पानी पिउन बाध्य छन् ।
दूषित पानी प्रयोगका कारण रोकायगाउँका करिब एक हजार व्यक्ति झाडापखाला, आउँ, जुकालगायत रोगको प्रकोपको जोखिममा पर्ने गरेका छन् ।
ऋष्तष्शभल
रोकायगाउँस्थित जनता आधारभूत विद्यालयका दुई सय विद्यार्थी पनि शुद्ध पिउने पानीबाट वञ्चित भएका छन् ।
स्रोत तथा मुहान अभावमा बारेकोट २ को रोकायगाउँ, विउरी, मुग्रेगाउँ, गैरागाउँ, अएर्न, भुरारा, ढाडदारा, लिम्सा, बुढागाउँलगायत टोलका बासिन्दालाई खानेपानी समस्या भएको हो ।
वर्षौंदेखि यहाँका बासिन्दा शुद्ध पिउने पानीको सुविधाबाट बञ्चित भएको वडाध्यक्ष कर्णे कामीले बताए । ‘नाउलाको धमिलो र दुषित पानीको भरमा बाँच्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘दुईरतीन घण्टा पालो कुरेर त्यही नाउलाबाट एक गाग्री पानी ल्याउनुपर्ने अवस्था छ ।’ स्थानीयबासी र पशु चौपाया एउटै नाउलाको पानीको भरमा रहेको उनले जानकारी दिए । उनका अनुसार रोकायगाउँका स्थानीयमा घर व्यवहारका समस्याभन्दा पानीको जोहो कसरी गर्ने भन्ने चिन्ता हुने गरेको छ ।
गाउँका महिला र बालवालिकाले पानी ओसारपसारमै समय खर्चिने गरेका छन् । कतिपय स्थानीय आकाशे पानी संकलन गरेर गुजारा चलाउन बाध्य छन् । दुई हजार मिटरको उचाइमा रहेको गाउँमा खानेपानीको अभाव मात्र हैन, चर्पीको प्रयोग तथा सरसफाइ गर्नसमेत समस्या भएको छ । आसपासमा पानीको स्रोत नहुँदा एउटै मूलको भरमा सिंगो गाउँ रहेको स्थानीय सावित्रा विकले बताइन् । ‘एक गाग्री पानी ल्याउन घण्टौं पालो कुनुपर्ने, त्यसैमा दुषित पानी,’ उनले भनिन्, ‘कपडा धुन र नुहाउन दुई घण्टा टाढाको घाटखोला जानुपर्ने वाध्यता छ ।’ महिनावारी र सुत्केरी महिलालाई सरसफाइमा झन समस्या हुने गरेको विकको भनाइ छ ।
दूषित पानी तथा सरसफाइका कारण २०६६ सालको झाडापखाला माहामारीमा रोकायगाउँका एक दर्जनले ज्यान गुमाएका थिए । जलवायु परिवर्तन, बढ्दो वन विनाश, बाढी पहिरो, सुक्खा खडेरीलगायत कारण रोकायगाउँमा खानेपानीको समस्या बढ्दै गएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।
यस वर्ष पटकपटक हिमपात भएकोले मुहानमा पानीको स्रोत नघटेको उनको भनाइ छ । रोकायगाउँको खानेपानी समस्या समाधान गर्न बृहत् खानेपानी योजनाको प्रक्रिया अगाडि बढाएको अध्यक्ष शाहले जानकारी दिए ।










