जेल होईन, सीप, ज्ञान सिक्न आए जस्तो भएको छ ?

हेमन्त केसी 
जाजरकोट , कारागारमा जेल जीवन विताइरहेका दर्जनौ कैदीहरु किताव पढ्दै र उद्यम गरी राम्रो कमाइ गर्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताउँदै आएका कैदीहरु अहिले कारागार भित्र सीप सिकेर आर्यआर्जनमा व्यस्त रहेका छन् । उनीहरु साथीहरु सँग रमाई , रमाई बिभिन्न घरेलु बस्तुहरु निर्माण गर्नुका साथै बजारीकरणका लागि चिन्तित हुँने गरेका छन् ।
क्षमता अनुसारको सीप सिकेर अहिले कारगार भित्र कमाई गरिरहेको कैदी दीर्घबहादुर दीर्घबहादुर नेपालीले बताए । उनले भने “ हामी तीन दर्जन साथीहरु , एक आपसमा मिलेर घरेलु बस्तुहरु उत्पादन गरिरहेका छौँ , कैद भुक्तानी भन्दा पनि कारखानामा काम गर्न आए जस्तो भएको छ, ”। दीर्घ जस्तै कारागारमै दलबहादुर लुहार दराजको डिजाइन गराउदै अन्य साथीलाइ काममा लगाउँछन् । दीर्घ भन्छन् , “ दराज र टेवुल बनाउँने काममा व्यस्त मात्र होईन नयाँ , नयाँ डिजाइन दिएर बजारमा हामीले उत्पादन गरेका बस्तुको माग बढाउने कुरा सोच्ने गरेको छु , ” । दैनिक कारागारमा इच्छा अनुसारका पटुका, पछ्यौरा, झोला, टोपीहरु उत्पादन हुँने गरेका छन् । कारगारका कैदीबन्दीले मुढा, फेरे, मफलर, स्वीटर, झोला, डाइनिङ टेबुल, दराज, सल, टोपी, लिउ, लेस र डालीलगायत दर्जन बढी घरेलु सामग्रीको उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन् ।
धागो, उन, बाँस, चोयो, काठ, प्लाइउड, प्लास्टिक डोरी, भेडाबाख्राको ऊनलगायत कच्चा पदार्थको प्रयोगबाट विभिन्न घरेलु सामग्री निर्माण हुने गरेको कैदीबन्दी बताउँछन । कारागारमा कैदीबन्दीले निर्माण गरेका सामग्रीमध्ये मुढा रु तीन सयदेखि एक हजार तीन सय, डाइनिङ टेबुल रु १५ हजार, टोपी पाँच सय, डाली रु पाँच सयदेखि ९ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।
त्यस्तै सल रु एक हजार देखि एक हजार पाँच सय, लिउ रु पाँच हजारदेखि १० हजार र झोला पाँच सयदेखि एक हजारसम्ममा बिक्री हुने गरेको जेलर तेजवित्रम शाहले बताए । कारागारमा उत्पादन हुन थालेपछि खलंगा बजारका स्थानीयले नेपालगन्ज, सुर्खेत लगायत बजारबाट आपूर्ति हुने मुढा किन्न छाडेको जेलर शाहको भनाइ छ ।
जेल जीवन भन्न वितिकै दिक्क लाग्दो होला भनेर सोच्ने कुनै समय थियो होला , अहिले सीप सिकेर उद्यमी बन्ने र जीवन निवाह गर्ने आधार तय गर्ने स्थान भएको बन्दी पौरख मल्लले बताए । कारागारमा विभिन्न थरीका किताव राखिएको छ , पढ्न , लेख्न जान्ने साथीहरु पढ्दै ज्ञान आर्जन समेत गरिरहनुभएको छ ,मल्लले थपे ,“ अहिले नयाँ , नयाँ कितावहरु बजारमा आउँन वितिकै कारागारमा पुग्ने र बाहिर बाट साथीहरु सँग भएका किताव मागेर समेत पढ्ने गरिएको छ ,” ।
अर्का कैदी नीमबहादुर सिंहले भने , “जेल भित्र उत्पादन गरेका बस्तुहरु बिक्रीबाट मासिक रुपमा रु सात हजार भन्दा बढी कमाइ हुँने गरेको छ , घरमा हुँदा नसिकेकका सीपहरु कारागार आएपछि सिकेको छु , ” । बजारमा आफुहरुले उत्पादन गरेका बस्तुहरुले उचित स्थान नपाएको कैदहरुको गुनासो रहेको छ । जेल भित्र तालिमको व्यवस्था सँगै उत्पादन गरिएको बस्तुहरुको बजारीकरणमा सहयोग भएमा अझै राम्रो गर्न सकिने कैदीहरुले बताएका छन् ।
‘स्रोत–साधनको अभावका कारण कैदीबन्दीले सोचेजस्तो सामग्री उत्पादन गर्न समस्य परेको बताएका छन् । २० जनाको क्षमता भएको कारागारमा अहिले ५७ कैदीबन्दी छन् । नयाँ भवन निर्माण भइरहेकोले छिटै त्यहाँ सारेर आर्यआर्जनका काम लाइ व्यवस्थित गरिने कारागार प्रशासनले जानकारी दिएको छ । कारागारका कैदीका लागि नयाँ सीप सिक्नका लागि व्यवस्थापन गरिनुपर्ने माग समेत उठेको छ ।










