प्लाष्टिकका झोला उत्पादक कम्पनीमाथि कडाइ हुन्छ ः मन्त्री बस्नेत

काठमाडौं ः सरकारले प्लाष्टिकका झोला उत्पादन गर्ने कम्पनीमाथि कडाइ गर्ने भएको छ। राष्ट्रियसभाको आइतबार बसेको बैठकमा प्लाष्टिकका झोलामा लगाइएको प्रतिबन्ध कार्यान्वयन सम्बन्धमा सदस्यहरूले दर्ता गराएको ध्यानाकर्षण प्रस्तावमाथि बोल्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्लाष्टिकको स्रोतमाथिकै व्यवस्थापनमा सरकार लागेको बताए।
मन्त्री बस्नेतले उत्पादन हुने क्रम नरोकिनु र प्रयोगमा मात्रै रोक लगाउने काम भएकाले त्यसको प्रभाकारिता न्यून देखिएको स्वीकार गरेका थिए। उनले प्लाष्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका, २०६८ लाई संसोधन गरी कम तौलका प्लाष्टिकका झोला उत्पादनमा नै रोक लगाउने तयारी सरकारले गरिरहेको स्पष्ट पारेका थिए।
सकेसम्म न्यून प्रयोगको वातावरण सिर्जना गर्ने तथा प्रशोधनका लागि आवश्यक वातावरण सिर्जना गर्ने र पुनःप्रयोग नहुने प्लाष्टिकको प्रयोग नै नगर्ने वातावरण सिर्जना गर्ने विषयलाई सरकारले केन्द्रमा राखेर काम गरिरहेको मन्त्री बस्नेतले बताए।
मन्त्री बस्नेतले कम तौलका प्लाष्टिकका झोला प्रयोगमा लगाइएको प्रतिबन्धको कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम भइरहेको र अहिलेसम्म १९ स्थानमा कारवाही भएको पनि उनले जानकारी दिए। ध्यानाकर्षण प्रस्तावक डा बिमला राई पौडेलले काठमाण्डौं उपत्यकामा मात्रै १० लाखभन्दा बढी प्लाष्टिकका झोला एक पटक मात्रै प्रयोग गरेर फालिने गरेको र यसले जम्मा फोहोरको ११ प्रतिशत ओगट्ने गरेको तथ्यांकले देखाएको भन्दै उपयुक्त व्यवस्थापन तर्फ पनि मन्त्रीको ध्यानाकर्षण गराएका थिए।










