खाद्य संस्थानकै नापतौल सामग्री नक्कली


जाजरकोट , नेपाल खाद्य संस्थान बारेकोट गाउँपालिकामा घाट डिपोमा प्रयोग भएका सामग्री नै नक्कली भएको पाइएको छ । डिपो कार्यालय घाटको अभिलेख रजिष्टरमा हेर्दा ३५ प्रकारका सामग्री रहेको अभिलेखिकरण गरिएको छ ।
नाप ,तौल गुणस्तर विभाग कार्यालयले प्रमाणित नगरेका काठबाट निर्माण गरीएका तराजु प्रयोग भएको पाइएको छ । ढुङगाबाट निर्माण गरिएका ढकहरु प्रयोग भएको पाइएको छ । कार्यालयमा रहेको अभिलेख भन्दा फरक तरिकाले घाट डिपोमा काम हुँदै आएको छ । काठ तथा ढुङगाबाट बनेका सामग्रीबाट दैनिक नापतौल गरेर खाद्यान्न बिक्री , वितरण गरी उपभोक्ता ठग्ने काम हुँदै आएको पाइएको छ ।
नायकबाडा घाट डिपोमा दुइ वर्ष अघि खरिद गरि गरी अभिलेखमा पुगेका भनिएका सामग्रीहरु कहाँ छन् भनि सोधिएको प्रश्नमा नेपाल खाद्य संस्थान जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले भन्नुभयो “ घाट कार्यालयमा होलान् नि ? ”, । हामीले कार्यालयमा नभेटेर प्रश्न गरेको हो भन्दा उहाँले थप्नुभयो “ बाटोमा जाँदै होला उसो भए ”, । दुइ वर्ष अघि खरिद गरिएको दैनिक प्रयोगमा आउने नाप, तौलका सामग्रीहरु बीचबाटोमै लथालिङक हुँदा सम्म ध्यान नदिने गैरजिम्मेवारी कार्यालय प्रति बारेकोटबासी आक्रोषित भएका छन् ।
विसं २०५१ सालमा स्थापना भएको संस्थानको घाट डिपो विसं २०५२ सालदेखि २०६७ सम्म खाद्य व्यवस्थापन समितिद्धारा संचालनमा रहेको थियो । सो समयमा खरिद गरिएका सामग्रीहरु पनि कार्यालयमा भेटिएका छैन्न ।
विसं २०६७ देखि नायकबाडाको घाट खाद्य डिपो नेपाल खाद्य संस्थानका बरिष्ठ सहायक कर्मचारीबाट सञ्चालन हुँदै आएको छ । तत्कालिन नायकबाडा गाउँ विकास समितिको सहयोगमा घाट खाद्य डिपोको भवन निर्माण गरिएको थियो । जिर्ण अवस्थामा रहेको भवनमा चामल राख्न समस्य हुँदा , हुँदै पनि सोही ठाउँमा चामल राख्न बाध्य भएको घाट डिपोका प्रमुख रुद्र देवकोटाले जानकारी दिनुभयो । बर्षायाममा पाल हालेर चामल जोगाएको उहाँले बताउनुभयो ।
भवनको छानो मर्मतका लागि गत बर्ष बारेकोट गाउँपालिकाले रु २ लाख बजेट विनियोजन गरेको भएतापनि कामनै नगरेपछि उक्त बजेट फ्रिज भएको थियो । अहिले खाद्य डिपो भवनको छाना मर्मत गर्ने भनेर नेपाल खाद्य संस्थानले रु १ लाख ५० हजारको अख्तियारी दिएको छ तर, अन्तिम चौमासिक लागि सक्दापनि कामको सुरुवात भएको छैन ।
खाद्य डिपोको नाममा आउने बार्षिक झण्डै ६० हजार बराबरको बजेट पनि नेपाल खाद्य संस्थान शाखा कार्यालय जाजरकोट आफैले चलाउने गरेको देवकोटाले गुनासो गनुभयो ।
डिपो कार्यालयको छाना मर्मतको लागि बारेकोट गाउँपालिकाले रु २ लाख बिनियोजन गरेको आफुलाई जानकारी नभएको र आर्थिक बर्षको असार मसान्तमा मात्र आफुलाई जानकारी भएको शाखा कार्यालय प्रमुख बस्नेतले बताउनुभयो ।
चालु आर्थिक बर्षमा घाँट खाद्य डिपोको छाना मर्मतका लागि संस्थानबाट अख्तियारी प्राप्त १ लाख ५० हजारको काम गर्नको लागि यहाँबाट प्राविधिक स्टीमेट बनाएर प्रधान कार्यालयबाट स्वीकृत भएपछि मात्र काम सुरुवात हुने प्रमुख बस्नेतको भनाई रहेको छ ।
सधैभरि खाद्य अभाव भईरहेने बारेकोट गाउँपालिकाको नायकबाडा घाट खाद्य डिपोमा गत बर्षहरुमा एक हजार क्वीन्टलको कोटा रहेको थियो भने, यसबर्ष देखि २१ सय क्वीन्टल बार्षिक कोटा रहेको छ । शाखा कार्यालय जाजरकोट अन्तरर्गत नायकबाडा घाट, रग्दा चौखा, दशेरा र पजारुको घोगीमा गरेर ४ वटा खाद्य डिपो रहेका छन् भने, नलगाड नगरपालिकाको दल्लीमा यसबर्ष देखि वितरण केन्द्र स्थापना भएको छ ।










