कहिले बन्छ पुल ?

डोल्पा , ठूलीभेरी नगरपालिका– ८ स्थित रुपगाढ खोलामा चार वर्षअघि निर्माण सुरु गरिएको मोटरेबल पुल ठेकेदारको लापरबाहीले अझै बनेको छैन । साबिक जिविसले तीन करोड बजेट विनियोजन गरी पुल निर्माणको काम सुरु गरेको थियो । जिविस र जिल्ला प्राविधिक कार्यालयको खारेजीसँगै पुलको जिम्मेवारी कसले लिने भन्ने विषय लामो समयसम्म टुंगो नलाग्दा पुल निर्माणको काम अलपत्र परेको हो ।
२०७२ सालमा टेन्डरमार्फत मित्र सञ्जीवनी कन्स्ट्रक्सनका प्रोप्राइटर गौरी उप्रेतीले एक वर्ष ६ महिनाभित्र पुल निर्माण पुरा गर्ने जिम्मा लिएका थिए । जिविस र प्राविधिक कार्यालयको खारेजीसँगै पुल निर्माण गर्न उनले आलटेल गरिरहेका छन् । उनले पुल निर्माणको जिम्मेवारी डोल्पाकै हिम बुढालाई दिएका छन् । पुल निर्माणको समयावधि २०७४ चैत्रमा सकिएको थियो । अहिलेसम्म तीन पटक निर्माणको म्याद थपिएको छ । तेस्रो पटक म्याद थप्दा समेत पुल निर्माणको काम अलपत्र रहेको स्थानीयको भनाइ छ ।
जिल्ला समन्वय समिति प्रमुख शेरबहादुर बुढाले साबिक जिविसले गरेको प्राविधिक स्टमेटअनुसार विस्तृत नक्सांकन नमिलेकाले फेरि नक्सांकन गरिएको जनाए । नक्सांकनको कारण देखाउँदै ठेकेदार पक्षले पटक पटक म्याद थपेको उनको भनाइ छ । मोटरबाटो नभएको र पुलको पाता ठूलो हुने गरी नक्सांकन गरेकाले त्यसमा प्राविधिक गल्ती देखिएको उनले जानकारी दिए ।
‘प्राविधिक समस्या देखिएकाले व्यवसायीलाई कारबाही गर्न सकिएको छैन,’ उनले भने, ‘जिसस र प्राविधिक कार्यालयको खारेजी भएपछि निर्माणको काम हेर्ने कार्यालय जिल्लाबाहिर हुँदासमेत केही समस्या देखिएको छ ।’ जिससका अनुसार चालु वर्षमा उक्त पुलमा बजेट नै परेको छैन । अहिले पुल निर्माणको जिम्मा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा गएको छ ।
समयमै पुलको निर्माण नहुँदा सदरमुकाम दुनै भित्रने यातायातका साधन जोखिम मोलेर वारपार गर्न बाध्य छन् । काठको फड्कोमार्फत गाडी वारपार गराउँदा जोखिम भएको यातायात व्यवसायी बताउँछन् ।
मित्र सञ्जीवनी कन्स्ट्रक्सनबाट कामको जिम्मा लिएका स्थानीय व्यवसायी हिम बुढाले आफूले गरेको कामको रकम नपाएका कारण पुल निर्माणमा ढिलाइ भएको दाबी गरे तर साबिक जिविसले व्यवसायीलाई झन्डै दुई करोड ७० लाख रुपैयाँ भुक्तानी दिएको जनाएको थियो । ‘पेस्कीस्वरूप लिएको रकम ढुंगा, गिट्टी तथा बालुवा संकलनमा खर्च भइसक्यो,’ व्यवसायी बुढाले भने, ‘पुलको दुबैतर्फको पिलर निर्माणको काम सकिएको छ । बाँकी रकम भुक्तानी भए पुल निर्माणको कामलाई तीव्रता दिनेछौं ।’
पुलको कामको प्रगति बुझ्न र स्थलगत अनुगमन गर्न डोल्पा आएका मन्त्रालयका इन्जिनियर वीरेन्द्र लामाले काममा ढिलाइ भए पनि अहिलेसम्म भएको काम सन्तोषजनक भएको बताए । साबिकका कार्यालय खारेजीमा परेपछि पुल रेखदेखको जिम्मा रुकुमको चौरजहारीस्थित प्राविधिक कार्यालयलाई दिइएको उनको भनाइ छ । ‘प्रदेश सरकार मातहतको पूर्वाधार निर्देशनालयमा प्रमुख नआएकाले खटनपटनमा केही समस्या परेको छ,’ उनले भने, ‘निर्माणाधीन पुलको रेखदेखका लागि कार्यालय छनोट तथा बजेट व्यवस्थापन भइसकेकाले निर्माणको कामले अब गति लिनेछ ।’










