दुइ बर्ष देखि तीन स्वास्थ्य संस्था बन्द

जाजरकोट ,जनतालाइ प्रभावकारी स्वास्थ्य सेवा गाउँ घरमै दिने उदेश्यले स्थापना गरिएको गाउँ घर क्लिनिकहरु बन्द भएको छन् । जिल्लाको भेरी नगरपालिका – ८ बुरुङ्गे , वडा – ९ भुरचौर , वडा १० कालाभुरमा रहेका गाउँघर क्लिनिकहरु बन्द हुँदा सेवा प्रवाहमा समस्य भएको छ ।
भुरबाट स्वास्थ्यकर्मीहरु गाउँघर क्लिनिकमा नजाँदा सेवा प्रवाह हुँन नसकेको भेरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद शर्माले जानकारी दिनुभयो । तीन वटा वडाका स्वास्थ्य संस्था सञ्चालन नहुँदा हजार भन्दा बढी जनसंख्यले स्वास्थ्य सेवा पाउन नसकेको स्थानीयबासीको गुनासो छ । गाउँघर क्लिनिकमा दुइ जना स्वास्थ्यकर्मीको दरवन्दी हुँने गर्दछ ।
भेरी नगरपालिकाको दुर्गम मानिने यी वडामा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह नहुँदा दैनिक स्थानीयहरु बिरामी हुँदा सदरमुकाम आउनु पर्ने बाध्यता रहेको छ । स्वास्थ्य संस्था बन्द भएपनि सञ्चालन गर्ने कुनै पनि सुरसार नदेखिएको स्थानीयबासीहरु बताउँछन् । पटक , पटक स्वास्थ्य संस्था बन्द भएको र स्वास्थ्यकर्मीहरु सेवा नदिएको जानकारी गराएपनि कुनै प्रकारको कारवाही नभएको उनीहरुको भनाइ छ ।
स्वास्थ्य चौकी भुरमा जिल्लाबाट अनुगमणमा गएको एक टोलीले ६ जना स्वास्थ्यकर्मी भएको ठाउँमा एक जना मात्र स्वास्थ्यकर्मी बसेर सेवा प्रवाह दिएको फेला पारेको थियो । अन्य स्वास्थ्यकर्मीहरु व्यक्तिगत काममा गएको फेला परेको थियो ।
केही स्वास्थ्यकर्मीले स्वास्थ्य चौकीको गेटमै औषधी पसल स्थापना गरेर निजीमा बढी ध्यान दिएको समेत खुलासा भएको छ । स्वास्थ्यकर्मी अनियमित हुँदा सेवा प्रवाह खस्किएको स्थानीय रामबहादुर शर्माले गुनासो गर्नुभयो ।










