कहिले पुग्छ पाठ्यपुस्तक , किताव बिना शैक्षिक सत्र सुरु

सुकमाया थापा
डोल्पा ः कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, डोल्पा र मुगुमा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भए पनि अधिकांश विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन्  । पटकपटकको भारी हिमपातका कारण पुस्तक ढुवानीमा समस्या भएपछि विद्यार्थीले पुस्तक पाउन नसकेका हुन्  ।

ग्रामीण क्षेत्रमा बर्सेनि पुराना पुस्तकबाट पठनपाठन हुने गरेको विद्यार्थीको गुनासो छ । हिमपातका कारण हुम्लाका केही विद्यालय नखुल्दा भर्नाको कामसमेत प्रभावित भएको छ । मानिस आवतजावत र ढुवानीमा समस्या परेका कारण पाठ्यपुस्तक पुग्न नसकेको व्यवसायीको भनाइ छ । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार पुस्तक ढुवानी तथा बिक्री–वितरणका लागि हुम्लामा तीन एजेन्टले जिम्मा लिएका छन् ।

इकाईका अनुसार लोकेन्द्र भण्डारीले ताजकोट र अदानचुली, मानदेव शाहीले चंखेली र सर्केगाड तथा ज्ञानबहादुर रोकायाले खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकामा पाठ्यपुस्तक पुर्‍याऊने जिम्मा लिएका छन् । ताजकोट र अदानचुलीका लागि बिक्री केन्द्रबाट बित्री–वितरण गर्न सुरु गरिसकेको इकाई प्रमुख वर्ष फडेराले बताए । सिमकोट बिक्री केन्द्रमा पनि पुस्तक पुगिसकेको भए पनि हिमपातका कारण वितरणमा समस्या भएको उनले जानकारी दिए ।

ताजकोट र अदानचुलीमा बाजुराबाट पुस्तक ढुवानी गरिएको हो । त्यस्तै, सर्केगाड र चंखेली गाउँपालिकामा रहेका विद्यालयका लागि मुगुबाट पुस्तक ढुवानी हुने गरेको छ । हुम्ला र मुगु सिमानको चंखेली लेकमा भारी हिमपात भएका कारण ढुवानीमा समस्या भएको इकाईले जनाएको छ ।

सर्केगाड गाउँपालिकाको मण्डीका सुभाष शाहीले गत वर्ष एजेन्टले चैतमा मात्रै आफ्नो बिक्री केन्द्रमा पुस्तक पुर्‍याएको बताए । ‘यो वर्ष झनै बढी हिमपात भएको छ, सायद चैतभन्दा ढिलो हुन्छ होला,’ उनले भने, ‘तर विद्यालय भने खुलिसकेका छन् ।’ खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकामा हिमपात जारी रहेकाले विद्यालय अझै खुल्न सकेका छैनन् । शिक्षक र विद्यार्थीलाई विद्यालय आउजाउ गर्न समस्या भएको छ ।

एजेन्टले आफ्नो बिक्री केन्द्रसम्म पुस्तक पुर्‍याएको भए पनि अधिकांश स्थानमा बाक्लो हिउँ जमेकाले बिक्री वितरणमा समस्या भइरहेको छ । नाम्खा गाउँपालिकाको लिमीमा बर्सेनि विरलै पुस्तक पुग्ने गरेका छन् । ढुवानीको समस्या र विद्यालय पनि जेठपछि खुल्ने भएकाले पुस्तक गाउँ पुर्‍याउन सक्ने अवस्था छैन । सिमकोटबाट लिमी आउजाउ गर्न एकतर्फी चार दिन पैदल लाग्ने र झन्डै पाँच हजार मिटर उचाइको लेक पार गर्नुपर्ने अवस्था छ ।

हिमपातले ढुवानीमा समस्या
डोल्पाका अधिकांश विद्यालयमा अझै प्राथमिक तहका पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्न सकेका छैनन् । ढिलोगरी छाप्ने अनुमति पाएकाले पुस्तक वितरणमा ढिलाइ भएको निजी प्रकाशन संस्थाले जनाएका छन् । निजी प्रकाशन गृहले डोल्पाका लागि फागुन ७ गते पाठ्यपुस्तक काठमाडौंबाट पठाएका थिए । नेपालगन्ज हुँदै ढुवानी गर्नुपर्ने अवस्थामा पटकपटक हिमपात भएपछि समस्या भएको पुस्तक व्यवसायीको भनाइ छ ।

कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले समयमै उपलब्ध गराएका कारण फागुन पहिलो सातादेखि नै वितरण सुरु गरिएको थियो । हिमपातका कारण जुम्लाबाट डोल्पा आउने बाटोमा पर्ने मौरे लेकको बाटो खुल्न नसकेकाले पाठ्यपुस्तक जुम्लामै रोकिएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारसिंह रोकायाले बताए । यो वर्ष शैक्षिक सत्र सुरु हुनेबित्तिकै पटकपटक भारी हिमपात हुँदा पठनपाठन अवरुद्ध भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सिंहराज डाँगीले बताए । उनका अनुसार हिमपातका कारण पहिरोले ठाउँठाउँमा बाटो अवरुद्ध गरेपछि ढुवानीमा समस्या भएको हो ।

डोल्पाका जगदुल्ला, मुडेचुला, काइके गाउँपालिका, त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका सामुदायिक विद्यालयमा फागुनबाट नयाँ शैक्षिक सत्र सुरु हुने गरेको छ । त्यस्तै माथिल्लो डोल्पाको छार्का ताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकामा चैत १५ देखि शैक्षिक सत्र सुरु हुने गरेको इकाईले जनाएको छ ।

चाहिने २० हजार, पुगे १५ सय
जुम्लामा २० हजार सेट पाठ्यपुस्तक आवश्यक भए पनि एक हजार पाँच सय सेटमात्रै पाठ्यपुस्तक पुगेको छ । खलंगा बजारमा व्यापारीले समयमै पाठ्यपुस्तक पुर्‍याए पनि ग्रामीण क्षेत्रमा पुग्न सकेको छैन । जिल्लाभरका लागि २० हजार सेट पुस्तक आवश्यक रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख महेश देवकोटाले बताए । ‘बजारमा व्यापारीले साझा डिपो बनाएर पुस्तक बिक्री–वितरण गरिहेका छन्,’ उनले भने, ‘व्यापारी र विद्यालयसँग समन्वय गरिरहेका छौं ।’

व्यापारीले एकै पटक ठूलो संख्यामा पाठ्यपुस्तक जिल्लामा ल्याउन नसक्ने भएकाले अलिअलि गरेर ल्याइरहेको जनाएका छन् । माग अनुसार पाठ्यपुस्तक ल्याउने गरको जिपी स्टेसनरीका गणेश रोकायाले बताए । अहिलेसम्म कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि एक हजार पाँच सय सेट पुस्तक बिक्री गरिसकेको उनको भनाइ छ । पाठ्यपुस्तकको अधिकार स्थानीय तहलाई गएपछि पुस्तकको रकम समयमै नपाइने कारणले एकैपटक पुस्तक नल्याइएको व्यवसायीको भनाइ छ ।

व्यवसायीले बसपार्कमा एउटै गोदाम खडा गरी डिपोमार्फत पुस्तक बिक्री वितरण गरिरहेको जनाएका छन् । ग्रामीण क्षेत्रका विद्यार्थीले भने पुरानो पुस्तक पढ्न गरेको गुनासो गरेका छन् । सिँजा गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयका विद्यार्थी नर नेपालीले पुस्तक समयमै नपुग्ने भएकाले पुरानो किताबबाटै काम चलाउने गरेको बताए ।

सदरमुकामस्थित चन्दननाथ नगरपालिकाले पाठ्यपुस्तक अधिकांश विद्यार्थीको हातमा पुगिसकेको जनाएको छ । नगरपालिकाका विद्यालयले पाठ्यपुस्तक खरिद गरी पठनपाठन सुरु गरेरनगरेकोबारे अनुगमन भइरहेको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताइन् । ‘फागुनबाटै विद्यालय सुरु गरेर पठनपाठन भएरनभएको र विद्यार्थीको हातमा किताब पुगेरनपुगेको बारे अनुगमन सुरु गरिएको छ,’ उनले भनिन्, ‘लामो समयसम्म हिमपात भएकाले केही समस्या देखिएको छ, त्यसैले हामीले अनुगमनमा जोड दिएका हौं ।’




सम्बन्धित समाचार


error: Content is protected !!