पटक-पटक परेको हिमपातले सडक अवरुद्ध, उपभोग्य वस्तुको अभाव

मुगु,लगातारको हिमपातले कर्णाली राजमार्ग अन्तर्गत गमगढी–नाग्मा सडक एक महिनादेखि अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा एलपी ग्यासलगायत दैनिक उपभोग्य वस्तुको अभाव भएको हो ।

गत माघ ८ गतेदेखि लगातार परेको हिमपातले जिल्लाको गमगढी बजार लगायत खत्याड, सोरु र कार्मारोङ्ग गाउँपालिकामा समेत दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको हो ।माझचौर कालाकाडा गोठीज्युला सडक खण्ड अवरोध हुँदा सामानको अभाव भएको स्थनीय ब्यापारी लोकेन्द्र भण्डारीले बताए ।

सुर्खेत नेपालगञ्जदेखि सवारी साधानबाट ढुवानी गरिने दैनिक उपभोग्य वस्तुको सदरमुकाम तथा जिल्ला भरिनै अभाव भएको हो । एलपी ग्यास अभाव हुँदा स्थानीय दाउरा किनेर खाना पकाउन थालेका छन् ।

सडक अवरुद्ध हुँदा निर्माण समाग्री अभाव हुन थालेपछि सरकारी तथा गैह्र सरकारी निकायबाट संचालन हुने खानेपानी, पुल, भवन निर्माणमा समस्या उत्पन्न हुन थालेको छ । डिजेल पेट्रोलको अभावमा बिकास निर्माणमा प्रयोग गरिएका डोजर स्काभेटर बन्द गरिएका छन् ।

हिमपातले अबरुद्ध बनेको सडक खुलाउन जुम्ला सडक डिभिजन कार्यालयबाट स्काभेटर नियमित प्रयोग गरिएपनि हिमपात नरोकिँदा समस्या परेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधीकारीले जानकारी गराए ।

‘गाडी चल्न छोडेको एकमहिना पुगिसक्यो पसलमा सामान सकियो’, खत्याड कुसुमबाडस्थित विविध स्टेशनरी तथा स्र्पोटका संचालक बिकास भण्डारीले भने, ‘अब त पसल बन्द गर्नुपर्ने जस्तो छ ।’

ढुवानीको समस्याले जिल्लाका दुर्गम स्थानका स्वास्थ्य केन्द्रहरुमा औषधीसमेत अभाव हुन थालेको स्वास्थ्यकर्मीको भनाइ छ ।




सम्बन्धित समाचार


error: Content is protected !!