व्यवसायी फोहोर फाल्ने, जनप्रतिनिधि र कर्मचारी उठाउने

जाजरकोट ः जाजरकोट सदरमुकाम खलंगाको फोहोर जनप्रतिनिधि र कर्मचारीले उठाउने गरेका छन् । विभिन्न दिवस,पर्वको अवसरमा जिल्लाका सरकारी तथा गैह्रसरकारी कार्यालयका कर्मचारी,सेना,प्रहरी र जनप्रतिनिधिहरुले बजारमा यत्रतत्र फालिएका फोहोर उठाउने गरेका हुन् ।
होटेल र पसलेहरुले आफनो ढोका अघि मात्र सफा गर्ने र आफनो घरको फोहोरसमेत छिमेकीका घर वरिपरि फाल्ने गरेको भेरी नगरपालिकाकी उपप्रमुख भावना भण्डारीले बताउनुभयो ।
हरेक पटक बजारको फोहोर जनप्रतिनिधि र कर्मचारीले उठाउँदा स्थानीयहरु हात बाँधेर बस्ने र उल्टै खिल्ली उडाउने गरेको उपप्रमुख भाण्डारीको भनाइ छ । उहाँले भन्नुभयो , नागरिकमा सरसफाईको चेतनाको कमी हैन उनीहरुसँग अपनत्वको भाव छैन । जे गरेपनि हुन्छ भन्ने कुराको हाबी भएको मात्रै हो। स्थानीय सरकारले सरसफाइमा विशेष जोड दिएपनि स्थानीयलाई नै अग्रसर नगराएसम्म हाम्रो हो र हामीले नगरे कस्ले गर्ने भन्ने भावनाको उत्प्रेरणा नआएसम्म खलंगाबजार सुन्दर नहुने उहाँको भनाइ छ ।
घरको फोहोर बाटोमा
प्रत्येक हप्ता फोहोर उठाउनका लागि भेरी नगरपालिकाले ट्याक्टर ल्याएर आउँने गर्छ । नगरपालिकाले ठाउँ ठाउँमा राखेका डस्विनमा स्थानीयलाइ फोहोर राख्न अनुरोध गर्छ तर यहाँका व्यापारी तथा स्थानीयले सो डस्विनमा फोहोर राखेको देखिदैन् नागरिक अगुवा राजेन्द्रविक्रम शाहले भन्नुभयो । पसल, होटेल र स्थानीयको घरबाट निष्कने फोहोर सबै सडकमा लगेर फाल्ने गरिएकोले सडक फोहोर भएको छ । हाम्रो ठाउँ , हामी आफै सफा गर्नुपर्छ भन्ने भावना बिकास हुनुपर्ने सरोकारवालको भनाइ छ ।










