नेकपा एकता ः पार्टी कार्यक्रम शून्य, कार्यकर्ता निराश

काठमाडौं।सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकता टुंगो लाग्न नसक्दा पार्टी कार्यक्रम शून्य भएको छ । पार्टी एकता प्रक्रिया लम्बिँदा केन्द्रदेखि स्थानीय तहसम्मकै गतिविधि प्रायः ठप्प हुन पुगेको हो । नेकपा स्रोतका अनुसार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच भागबन्डा नमिलेपछि एकतासमेत अलमलमा परेको छ । कुन विभाग कसले लिने, जिल्ला नेतृत्व, जनवर्गीय संगठनको प्रमुखलगायतका विषयमा भागबन्डा नमिलेकै कारण एकता टुंगो लाग्नमा समस्या भएको हो । शीर्ष नेताबीचको भागबन्डाको किचलोले पार्टी एकता अलमलमा पर्नुका साथै पार्टी गतिविधि शून्य अवस्थामा पुगेको र यससँगै हजारौं नेता कार्यकर्ता जिम्मेवारीविहीन हुन पुगेका छन् ।

‘पहिला पहिला पार्टी र नेता कार्यकर्ता सक्रिय हुन्थे, सातामै दर्जनौं कार्यक्रम भइरहेको हुन्थ्यो,’ एक नेताले भने, ‘अहिले नेता कार्यकर्ता जिम्मेवारीविहीन हुनुका साथै कार्यक्रम पनि शून्य भएको छ ।’
स्थानीय तहदेखि जिल्ला, जनवर्गीय संगठन, विभागहरूको टुंगो लाग्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् । जिम्मेवारीविहीन भएका उनीहरूले नेतृत्वप्रति आक्रोश व्यक्त गर्न सुरु गरिसकेका छन् ।
एकता प्रक्रियामा जानु अघिसम्म तत्कालीन एमाले र माओवादी दुवै दलका गतिविधि नियमित रूपमा हुने गरेका थिए तर एकता भएर नयाँ पार्टी बनेपछि भने पार्टीका गतिविधि प्रायः शून्य भएका छन् ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले बैठक, छलफल, प्रशिक्षण, भेला, आमसभालगायतका कार्यक्रम भइरहेकोमा अहिले कार्यक्रम नै हुन छोडेको र पार्टी सरकारमा भएको अवस्थामा उसका राम्रा कामको प्रचार पनि हुन नसकेको स्विकारे ।
उनले एकता टुंगो लगाउँदै तलदेखि माथिसम्मका नेता कार्यकर्तालाई जिम्मेवारी दिनका लागि पार्टी सचिवालय र कार्यदलबीच संयुक्त बैठक हुन लागेको पनि बताए ।
‘पार्टी एकता छिट्टै नै टुंगो लाग्छ, तलदेखि माथिसम्मका सबै नेता कार्यकर्ताले ठोस जिम्मेवारीका साथ कार्यक्षेत्रमा लाग्नुहुनेछ,’ पौडेलले भने, ‘यस विषयमा पार्टी सचिवालय र कार्यदलको संयुक्त बैठक बसेर निकास दिने बारेमा छलफल हुनेछ ।’

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले पार्टी पहिलाकै जस्तो चलायमान हुन नसकेको स्वीकार गर्छन् । उनले पार्टीका नेता कार्यकर्ता जिम्मेवारीविहीन भएकाले विभिन्न कार्यक्रम आयोजना गर्नमा अन्योल हुनुका साथै आफ्नै पार्टी नेतृत्वको सरकारले गरेका राम्रा काम समेत जनतामा बुझाउन नसकिएको बताए ।
तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा ३ जेठमा एकीकरण भएको हो । एकता घोषणासभालाई सम्बोधन गर्दै शीर्ष नेताले तीन महिनाभित्रैमा एकता टुंगो लगाउने उद्घोषण गरे पनि नौ महिना बित्दासमेत टुंगो लाग्न सकेको छैन ।

अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालका बीचमा विवाद रहेको छ । केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेको छैन ।
पछिल्लो नौ महिनामा एकता टुंगो लगाउन चार कार्यदल गठन गर्दै विघटन भयो । केन्द्रीय सचिवालय गहन रूपमा छलफल गरे पनि टुंगो लाग्न समस्या हुने गरेको दाबी उनले गरे ।

सचिवालय बैठक निष्कर्षहीन

नेकपाको सचिवालय बैठक सोमबार बिनानिष्कर्ष टुंगिएको छ । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल गर्दै सम्पन्न भएको छ । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा कार्यदलको प्रतिवेदनका विषयमा छलफल गर्दै सचिवालय र कार्यदलको संयुक्त बैठक बस्ने निर्णय भएको बताए ।

पछिल्लो समयमा सचिवालयले प्रतिवेदन जेजस्तो अवस्थामा भए पनि बुझाउन निर्देशन दिएपछि कार्यदलले अधुरै प्रतिवेदन बुझाएको हो । आउँदो बिहीबार पार्टी सचिवालय बैठक कार्यदलसहितको बस्ने बताउँदै प्रवक्ता श्रेष्ठले सोही बैठकबाट निकास निकाल्ने बताए । पार्टी एकताको बाँकी काम टुंगो लगाउन कार्यदल र सचिवालयको संयुक्त बैठक बस्ने बताउँदै उनले बाँकी काममा सहमति हुने विश्वास व्यक्त गरे ।





error: Content is protected !!