चोरबाटो निकासी हुँने क्रम रोकिएन सेतोचिनी

जाजरकोट ः वातावरणीय मुल्यांकन नगरी संकलन गरिएको सेतोचिनी निकासी समेत अवैद्य तरिकाले भएको पाइएको छ । जिल्लाका विभिन्न पाटनबाट बातावरणी प्रभाव मुल्यांकन नगरी जथाभावी संकलित सेतोचिनी (खिरौलो) अवैद्य तरिकाले निकासी हुँने क्रम नरोकएको हो । बन उपभोक्ता समितिले ठेकेदारको नाममा उजुरी दिएपछि डिभिजन वन कार्यालयबाट सिफारिस दिने काम रोकिएको छ । आवश्यक छानविन पछि मात्र कारबाही अगाडी बढ्ने डिभिजन बनले बताएको छ ।
अवैद्य तरिकाले चोरीको बाटो बाटो प्रयोग गरी सेतोचिनी निकासी हुँदा यहाँको लाखैको राजस्व गुमेको छ । कतिपयले छिमेकी जिल्लाबाट पुर्जी लिएर निकासी गरेको एक ब्यापारीले बताउनुभयो । कार्यालयको लापरवाही र ढिलासुस्तीले समयमै वातावरणीय प्रभाव मूल्यांकन नगरी बारेकोट गाउँपालिकाको मिलेपत्तोमा सेतोचिनी संकलन गर्न दिएपछि यस्तो समस्य आएको हो ।
केही समयअघि वन डिभिजन कार्यालयले सम्बन्धित वन क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण गरेका कारण पाँच सय क्विन्टलको मात्र छुट पुर्जी दिने अनुमति पाएपछि सानो मात्रामा चलानी पुर्जी दिएको छ । करिब दुई सय ठेकेदारले ६ लाख किलो छुट पुर्जीको माग गर्दै निवेदन दिएपनि डिभिजन बनको नम्स भन्दा बाहिर चलानी पुर्जी मागेपछि चलानी पुर्जी रोकिएको हो । अहिले कार्यालयले प्रतिठेकेदार तीन सय किलोसम्म मात्र छुट पुर्जी दिएको छ। मागको तुलनामा निकै कम परिमाणको पुर्जी पाएपछि व्यवसायीले चोरबाटो प्रयोग गरी सेतोचिनी निकासी गरेका छन् ।
केही व्यावसायीले अहिले सम्म बारेकोटको पाटनमै सेतोनिची राखेर जुम्लाको सिमाना हुँदै अवैद्य रुपमा निकासी गरिरहेको स्थानीय तीर्थराज बोहोराले बताउनुभयो । असोजदेखि मंसिर पहिलो सातासम्म जिल्लाको बारेकोट गाउँपालिकाका विभिन्न पाटनमा बहुमूल्य सेतोचिनी (खिरौलो) संकलित गरिएको थियो । जमिनमुनी सखरखण्डजस्तो गरी फलेका दाना खनेर निकाल्ने र निकालिसकेपछि पकाएर सुकाएर तयार पारेको सयौं क्विन्टल सेतोचिनी बारेकोट, थलहबजार, कालिमाटी, रिम्ना, पाँचकाटिया, तल्लुबगरलगायतका स्थानमा अवैद्य रुपमा निकासी गर्नका लागि राखिएका छन् ।
वन कार्ययोजना स्वीकृति नभएका कारण सेतोचिनीलगायत जडीबुटीको निकासी पुर्जी दिन नसकिएको डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख मन्जुर अहमदले बताउनुभयो । एक्सन फर इन्जिनियरिङ सोलुसनले जाजरकोटमा वनको वातावरणीय प्रभाव मूल्यांकनको जिम्मा लिएकोे थियो। तर, समयमा उक्त कार्य नगर्दा समस्या देखिएको डिभिजन वन प्रमुख अहमदले बताउनुभयो ।
डिभिजन वन कार्यालयले गरेको अध्ययन प्रतिवेदनमा प्रत्येक वर्ष जाजरकोटमा १७ लाख ६५ हजार पाँच सय ५३ किलो जडीबुटी संकलन गर्न सकिने उल्लेख छ। तर, गत आर्थिक वर्षमा दुई लाख ६९ हजार सात सय ४३ किलो विभिन्न प्रजातिका जडीबुटी निकासी गरी १९ लाख ६७ हजार मात्र राजस्व संकलन भएको जनाएको छ। कतिपय जडीबुटी संकलन नै नभई जंगलमा खेर जाने गरेका छन् भने संकलितमध्ये पनि धेरैजसो चोरी–निकासी हुने गरेको छ। प्रतिकेजी निकासी पुर्जी दिएबापत १५ रुपैयाँ राजस्व लिने गरिएको छ।
सेतोचिनी संकलन गर्दा वन फडानी
बारेकोटका सामुदायिक वन समुहले दिएको उजुरी माथी कुनै कारवाही नभएको भन्दै समुहहरु आक्रोष्ति भएका छन् । जथाभावी संकलन गरिएको र चोरबाटो जडीवुटी निकासी गर्ने माथी कारवाहीको माग गरिएको छ । तर यता बन डिभिजन कार्यालय जाजरकोटले अनुसन्धान भइरहेको भन्दै ढाँटीरहेको स्थानीय तीर्थराज बोहोराले बताउनुभयो । सेतोनिची संकलन गर्दा ठेकेदारको मिलेमत्तोमा भारी मात्रामा वन जंगल फडानी भएको वन समुहको आरोप छ ।





error: Content is protected !!