चट्याङ लाग्नबाट बच्न के गर्ने ?

चट्याङ परेको समयमा अग्ला स्थान, टावर र ठूला रुखमुनि ओत लाग्नु हुँदैन । प्रायः जमिन र बादलको दूरी कम भइरहने पहाडी भूभागमा बढी चट्याङ पर्ने सम्भावना रहेकाले पानी परेका वेला यस्तो ठाउँमा बस्नु हुँदैन ।
दिउँसो ३ देखि ४ बजेसम्मको समयमा चट्याङ पर्ने सम्भावना बढी हुन्छ । तसर्थ, चट्याङ पर्ने संकेत देखिएका वेला घरमै बस्न उचित हुन्छ ।
चट्याङप्रतिरोधी घर बनाउनुपर्छ । घरमाथि तामाको रड राखेर घरमुनि माटोमा जिआई पाता गाडेमा चट्याङको जोखिम हुँदैन ।
चट्याङ परेको वेला विद्युतीय सामग्री र तारजडित टेलिफोन प्रयोग गर्नु हुँदैन । साथै, यो वेला धातुको तारबारनजिक बस्नु हुँदैन ।
चट्याङ पर्ने अवस्थामा समथर, खुला ठाउँ वा छत नभएको सवारीसाधनमा भएमा तुरुन्त सुरक्षित ठाउँमा जानुपर्छ ।










