विमानस्थलमा हातले छामेर दैनिक जाँच

सुकमाया थापा

डोल्पा – डोल्पाको जुफाल विमानस्थलमा एक्सरे मेसिन नहुँदा हातले छामेर दैनिक सामग्रीहरु उडान भर्ने गरिदै आएको छ ।
एक्सरे मेसिनको अभावमा जोखिम मोलेर हातैले छामछुम गर्नुपर्ने बाध्यता रहेको सुरक्षाकर्मीले बताएका छन्। यात्रु र उनीहरूको झोला चेकजाँच गर्ने विमानस्थल जस्तो संवेदनशील ठाउँमा सामान चेकजाँच गर्ने एक्सरे मेसिन नहुँदा हातले छामछुम गरेर बैध अबैध सामानको सुनिश्चिता गर्नु परिरहेको सुरक्षार्थ खटिएका प्रहरीको गुनासो छ।
वि.स.२०३२ सालमा संचालनमा ल्याइएको ठुलीभेरी नगरपालिका ७ जुफालस्थित विमानस्थल ४३ वर्षसम्म पनि आधुनिक प्रविधिको सुविधाको पहुँचमा पुग्न सकेको छैन्। डोल्पालीका लागि जिल्ला बाहिर आवात जावत गर्ने तथा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्ने भरपर्दो माध्यामको रुपमा डोल्पाको पहिलो विमानस्थलको रुपमा जुफाल विमानस्थल रहेको छ। डोल्पालीको लागि आवत जावत गर्ने भरपर्दो साधनको रुपमा हवाई जहाजनै भएकाले पनि जुफाल विमानस्थल भएर डोल्पा भित्रने र बाहिर जाने यात्रुको सधैजसो विमानस्थलमा भिडभाड हुने गर्दछ।
प्रहरीले सामान चेकजाँच गर्दागर्दै जहाज आइपुग्छ, हतार हतारमा यात्रुका लगेज अन्दाजमा चेकजाँच गरेर पठाउनु पर्दा कुनै ठुलो अपराध वा घटना घट्न गएमा ड्युटीमा रहने सुरक्षाकर्मीको जागिर नै धरापमा पर्ने गरेको छ। ठुलो समस्यालाई जोखिम मोलेरै काम गर्नुपर्ने बाध्यता रहेको विमानस्थल सुरक्षा क्याम्पले जनाएको छ । मेसिनद्धारा गर्नुपर्ने काममा हातले छामछुम गरेर सामानको ग्यारेन्टी गरेर पठाउँदा कहिलेकाँही प्रतिबन्धित बस्तुहरू छिर्नसक्ने सम्भावना पनि उत्तिकै रहेकोले एक्सरे मेसिन आवश्यक रहेको सुरक्षा अधिकारीले बताएका छन् ।
पछिल्लो समय डोल्पा घुम्नका लागि प्याकेज नै बनाएर आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ। विमानस्थलमा यात्रुको चाप दिनप्रतिदिन बड्दै गएको तारा एयरलाइन्सका डोल्पा स्टेशन मेनेजर यज्ञ ठकुल्लाले बताए। डोल्पा पर्यटकीय सामरीक महत्वका सम्पदाले पनि धनी जिल्ला भएको र यहाँका प्रसिद्ध श्री बाला त्रिपुरासुन्दरी भगवतीको मन्दिर नेपालकै गहिरो फोक्सुण्डो ताल शे–गुम्बा र विश्वकै उच्च मानववस्ती धो–उपत्यका जस्ता पर्यटकीय स्थलहरूको अवलोकन र प्राकृतिक स्वाद पान गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन्।
जुफाल विमानस्थलका अनुसार गत आर्थिक वर्ष २ लाख ५० हजारको हाराहारीमा पर्यटकहरू हवाई मार्गबाट ओहोरदोहर गरेका थिए। पछिल्लो समय डोल्पाको जुफाल विमानस्थलमा यात्रुको चाप बढ्दै गएकोले सुरक्षा संवेदनसिलतालाई ध्यानमा राखेर प्रभावकारी र छिटो चेकजाँच गर्नको लागि विमानस्थलमा एक्सरे मेसिनको आवश्यकता रहेको नेपाल नागरिक उडड्यन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले बताए। जुफालमा तारा, समिट, सिता, नेपाल एयरलाइन्स लगाएतका एयरलाइन्सले सुबिधा दिँदै आएका छन्। त्यस्तै डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिकाको मसिनेचौरमा रहेको मिानस्थलमा सञ्चालनमा नआउँदा समस्य भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!