चारगाउँका सयौँ बालबालिका विद्यालयको पहुँच बाहिर

हेमन्त केसी 
जाजरकोट ः बारेकोट गाउँपालिका – ८ स्थित चारबटा गाउँका बालबालिकाहरु विद्यालयको पहुँच बाहिर रहेका छन् । विद्यालय भन्दा गाउँ धेरै टाढा भएपछि यहाँका बालबालिकाहरु विद्यालय जान नपाएका हुँन् ।
जिल्लाको अत्यन्तै दुर्गम क्षेत्रमा पर्ने बारेकोट गाउँपालिका – ८ का रिम्दारा, खालकाट्टे, डाडाखानी, र माथेल्लो लैखमगाउँका सयौँ बालबालिका विद्यालय जान बाट बन्चित भएको स्थानीय रणबहादुर खत्रीले जानकारी दिनुभयो । चार गाउँका बालबालिकाहरु हाल विद्यालय रहेको साँघुतरामा जानका लागि ३ घण्टा भन्दा बढी लाग्ने भएकाले जान नसकेको बताउदै खत्रीले भन्नुभयो “ म आफै पनि ११ वर्षको उमेरमा विद्यालयमा पाइला टेकेको थिए , घर देखी विद्यालय टाढा भएपछि हिड्न नसकेकै कारण म उमेर बढेपछि विद्यालयमा गएको हुँ ” । ११ बर्षको उमेरमा विद्यालयमा कक्षा १ मा पढ्दा निकै अप्ठ्यारो महसुस भएको अनुभव सुनाउदै खत्रीले थप्नुभयो “ मेरो उमेरका अधिकांश साथीभाइ, दिदी वैनी बिद्यालयको मुख नै देख्न नपाइ अहिले निरक्षर हुनुभएको छ ” ।
पछेल्लो समयमा गाउँ , गाउँमा बिद्यालय खोल्ने होडवाजी नै चलेपनि यहाँको चार गाउँलाइ सम्वोधन हुँने गरी विद्यालय सञ्चालन नहुँदा सयौ बालबालिका विद्यालय सम्म पुग्न पाएका छैन्न। आधारभुत विद्यालय पढ्ने उमेरमा कक्षा १ मा भर्ना हुँदा यहाँका सयौँ बालबालिकाहरु बीचमै पढाइ छोड्ने गरेको अर्का स्थानीय हरीबहादुर खत्रीले बताउनुभयो । खत्री भन्नुहुन्छ “ अन्य बालबालिका सानै उमेरमा आधारभुत तहमा पढ्छन् , हाम्रा छोराछोरी सोही उमेरमा कक्षा १ मा पढ्न जाँदा लाजले विद्यालय नै जाँन नमान्ने गरेको छन् , घर नजिक बिद्यालय भएको भए सानै उमेरमा विद्यालय गएर सवै विद्यार्थीहरु संग समान उमेर हुँने थियो ” ।
दलित समुदाय बाहेक अन्य समुदाय बसोबास गर्ने यि चार गाउँमा यहाँका स्थानीयहरु बसोबास गरेदेखि हाल सम्म विद्यालय स्थापना हुँन सकेको छैन् । हाल भगवती आधारभुत विद्यालय रहेको साँघुतरामा पुग्न चार गाउँका बालबालिकालाइ फलामको चिउरा चलाउनु सरह भएको अभिभावकहरु बताउँछन् । लैखम गाउँमा विद्यालय स्थापना भएमा यहाँका चार गाउँका बालबालिकाहरु विद्यालयको पहुँचमा पुग्ने अर्का जयबहादुर खत्रीले बताउनुभयो । शिक्षा मात्र होइन , यहाँका स्थानीयहरु सञ्चार , विद्युत, स्वास्थ्य सेवा बाट समेत बन्चित रहेका छन् । नलगाड नगरपालिका – ५ सिर्के स्थित जुनिबालसंरक्षण मावि साँघुतराबाट १५ मिनेटको दुरीमा रहेको छ ।
यता भने चार गाउँका बालबालिका विद्यालय आउँन तीन घण्टा लाग्ने गरेको कारण विद्यालयको मुख देख्न नपाउँने समस्य भएको खत्रीको भनाइ छ । चारबाट गाउँका स्थानीयले तत्कालिन जिल्ला शिक्षा कार्यालय र हालको गाउँपालिकामा पटक , पटक विद्यालय स्थापना गर्न माग गरेपनि त्यसको सुनुवाइ नभएको स्थानीयको गुनासो छ । चार गाउँका स्थानीयहरु स्वास्थ्य लिनका लागि सेपुखोला स्थित स्वास्थ्य संस्था आउँन झण्डै ४ घण्टा लगाउनु पर्ने बाध्यता रहेको छ । चारगाउँका स्थानीयबासीका बालबालिकाहरु पढ्नका लागि घर नै छोड्नु पर्ने बाध्यता रहेको छ ।










