छिन्चु–जाजरकोट सडक जीर्ण

जाजरकोट ः छिन्चु– जाजरकोट सडक कालोपत्रे भएको ४ वर्ष नपुग्दै जीर्ण भएको छ । खलंगादेखि छेडाचौर खण्डको दर्जनौं स्थानमा कालोपत्रे उम्किएर खाल्डाखुल्डी बनेका छन् । सडकमा खाल्डाखुल्डी हुँदा यात्रुलाई आवतजावतमा सास्ती हुने गरेको छ ।

सडकको कालोपत्रे उम्किएर बनेका खाल्डाखुल्डी र गिट्टी–बालुवा यत्रतत्र छरिएपछि यातायात सेवा जोखिमपूर्ण भएको छ । व्यवसायी कम्पनीहरूको गुणस्तरहीन निर्माण कार्यका कारण सडक छोटो समयमै जीर्ण भएको सरोकारवालाको आरोप छ ।

विश्व बैंकको आर्थिक सहयोगमा सडक विभागले चार वर्षअघि उक्त सडकको सुर्खेतको पोखरेदेखि जाजरकोट सदरमुकाम खलंगासम्मको ८१ किलोमिटर कालोपत्रे ओटासिल कार्य सम्पन्न गरेको थियो । पासागाडखोला, फेराखोला पुल, कालाभीर, आली, छेडाचौरलगायत दर्जनौं स्थानमा सडकको कालोपत्रे उप्किएको छ । नाली, पर्खाललगायत संरचना भत्किँदा बीच सडकमा पानी बग्ने हुँदा थप समस्या भएको छ । निर्माण कम्पनीको गुणस्तरहीन कार्यले सडक भत्किएको स्थानीय कमानबहादुर खड्काले बताए । ‘छोटो समयमै कालोपत्रे उप्किनुले सडक विभागका प्राविधिक, परामर्शदाता र व्यवसायीको मिलोमतो देखिन्छ,’ उनले भने, ‘यसमा गहिरोसँग छानबिन गरिनुपर्छ ।’

सदरमुकाम प्रवेश गर्ने पक्की सडकमा २ वर्षदेखि खाल्डाखुल्डी परेर पानीको ताल परेको छ । यससम्बन्धी निकाय भने मौन छन् । भेरी नगरपालिका–११, पासागाडखोला नजिकैका खाल्डाले यात्रुलाई भेरी नगरपालिका–११, पासाखोलामा सास्ती दिएको छ ।

त्यस्तै पासागाड खोलामा लामो समयसम्म पुल निर्माण नहुँदा थप सास्ती भएको छ । भेरी नगरपालिका–११, पासाखोला सडक डिभिजन कार्यालय, जनप्रतिनिधिलगायत निकायको बेवास्ताका कारण खाल्डाखुल्डी परेको उक्त सडकमा सवारी दुर्घटना बढ्ने देखिएको चालक भीमबहादुर बुढाले बताए ।

खलंगादेखि छेडाचौरसम्मको ३९ किलोमिटर दूरीको सडकमा दर्जनौं ठाउँमा पहिरो तथा पानीका कारण खाल्डाखुल्डुी परी सडकको अवस्था बिग्रेको बुढाले बताए । ‘सडकको सयौं स्थानमा कालोपत्रे उम्किँदा दुर्घटनाको खतरा झन् बढेको छ,’ उनले भने, ‘कालोपत्रे सडक भन्नु मात्र छ, जताततै खाल्डाखुल्डी छन् ।’

सडक जीर्ण बनी यात्रुलाई सास्ती भएको जनगुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको टोलीले उक्त सडक खण्डको आइतबार अनुगमन तथा निरीक्षण गरेको छ । अनुगमनका क्रममा सडकका विभिन्न स्थानमा खाल्डाखुल्डी फेला परेको प्रजिअ बस्नेतले बताए ।

जीर्ण सडकलाई तत्काल सुधार्न सडक डिभिजन कार्यालय चौरजहारीलाई निर्देशन दिइएको उनको भनाइ छ । ‘फेरा पुल, पासगाडखोला किनारा, आलीलगायत स्थानमा बढी समस्या भएको पाइयो,’ उनले भने, ‘पहिरो खस्दा र पानीको निकास नहुँदा सडक भत्केको देखिन्छ ।’ फेराखोला पुलको दुवै छेउमा पुल निर्माण कम्पनीले सडक स्तरोन्नतिको कार्य पूरा नगर्दा समस्या देखिएको उनले बताए ।

७७ मिटर लम्बाइ फेराखोला पुल ६ करोड लागतमा आशिष निर्माण सेवाले गरेको थियो । जीर्ण सडकको मर्मत सुधारमा सडक डिभिजन कार्यालय चौरजहारीले पनि समयमा ध्यान नदिँदा समस्या भएको उनले बताए । छिन्चु–जाजरकोट सडकको सुर्खेतको पोखरेदेखि खलंगा खण्डको ५० करोड लागतमा कालोपत्रे गर्ने कार्य आशिष गोर्खा जेभी, वाइपीरगौरीपार्वती जेभी र हिन्दुङ थोकर भैरव जेभीले गरेका थिए ।

सडकको भत्केकोबिग्रेको स्थानमा तत्काल सुधार गर्न लागेको सडक डिभिजन कार्यालय चौरजहारीका डिभिजन इन्जिनियर नरेन्द्र भट्टले बताए । ‘यसअघि के कति कारणले सडक मर्मतमा लापरबाही भयो मलाई थाहा भएन,’ उनले भने, ‘म भर्खरै कार्यालय प्रमुख भएर आएको छु, अब अनुगमन गरी समस्या समाधानमा लाग्नेछु ।’




सम्बन्धित समाचार


error: Content is protected !!