जुम्लाको तातोपानी धारामा नुहाउनेको भिड

दिलमाया शाही 
जुम्ला ः जुम्लाको तातोपानी धारामा नुहाउन जाने मानिसहरुको भिडभाड लाग्ने गरेको छ । दिनमा करिब २ सय भन्दा बढी मानिसले तातोपानी धारामा नुहाउने गरेका छन् । चिसो बढेसँगै तातोपानी धारामा नुहाउन आउनेहरुको आकर्षण बढ्दो गएको छ ।
तातोपानी धारामा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा बृद्धि भएको तातोपानी पर्यटन विकास केन्द्रका कर्मचारी हस्त वहादुर बुढाले जानकारी दिए । दिनमा झण्डै २ सय भन्दा बढी पर्यटक तातोपानी धारामा नुहाउन आउने गरेको उनको भनाइ छ । गर्मी सिजन भन्दा चिसो मौसमा तातोपानी धारामा नुहाउन तथा घुम्न आउनहरुको संख्या बढ्दै गएको बुढाले जानकारी दिए ।
तातोपानी गाउँपालिकाको जर्मी गाउँमा रहेको तातोपानी धारामा बाहै्र महिना तातोपानी बगिरन्छ, यस पानीमा एक घण्टासम्म चामल भिजाउँदा आफैँ भात पाक्ने तातेपानी पर्यटन विकास केन्द्रका कर्मचारी छक्कवहादुर बुढाले बताए । धारामा नुहाउँदा छाला र हाड सम्वन्धि बिभिन्न रोग निको हुने जनबिश्वास रहेको छ । तातोपानी धारामा नुहाउनको लागि कठमाण्डौँ, बाजुरा सुर्खेत र कर्णालीका डोल्पा, मुगु, कालिकोट र जाजरकोटका मानिसहरु आउने गर्दछन । तातोपानी धाराको प्रचार प्रचार हुनसके अझैँ धेरै पर्याटक आउने बुढाको भनाइ छ ।
जर्मी गाउँका स्थानीयहरु दैनिक कम्तिमा २ जनाको पालो गरी टिकट काट्ने र त्यहाको सरसफाई गर्ने गरेका छन् । हिँउदको समयमा तातोपानी प्रति आम नागरिकहरुको आकषर्ण बढ्दो देखिए पनि सुरक्षामा चुनौति देखिएको कर्मचारीले बताएका छन् । रातिको समममा धारामा नुहाउन आउनेहरुको सामानहरु चौरी हुने गरेको छ ।
तातोपानी धारामा दैनिक नुहाउन आउनेको संख्यामा वृद्धि भएपनि उचित व्यवस्थापन हुन सकेको छैन् । जिल्ला भित्रका र बाहिरका पर्यटकलाई शुल्क लिएर नुहाउन दिने गरिएको छ । बाह्य पर्यटकलाई ३० र जिल्ला भित्रकालाई २० रुपैया शुल्क लिने गरेको तातोपानी पर्यटन विकास केन्द्रले जनाएको छ । तातोपानी धारालाई व्यवस्थापन गर्न सके जुम्लाकै नमूना पर्यटन क्षेत्र बनाउन सकिने कर्मचारी हस्त वहादुर बुढाको भनाइ छ । टिकटबाट संकलन भएको रकमले तातोपानी धाराको विकास र सरसफाईका सामान किन्ने गरिएको छ ।
तातोपानी धारामा पर्यटकहरुको भिडभाड बढ्दै गएकाले व्यवस्थापान गर्न तातोपानी गाउँपालिकाले पनि विशेष ध्यान दिनु पर्ने त्यहाँका स्थानीयले बताएका छन् । तातोपानी धारामा पर्यटकहरूको घुइँचो लाग्न थालेपछि आसपासमा रहेका होटल व्यवसाय फस्टाउँदै गएका छन् । तातोपानी धारामा नुहाउन तथा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेपछि होटल व्यवसायबाट राम्रो कमाइ हुन थालेको व्यापारीहरू बताउँछन् ।










