अग्निपीडितलाई सहयोगको निर्णय


कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रदेश सरकारको शुक्रबार राति मन्त्रिपरिषदबाट भएका निर्णयहरु सार्वजनिक गर्दै । तस्वीरः शुरबहादुर सिंह, रासस,सुर्खेत
सुर्खेत, १४ पुस (रासस) : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कालीकोट पलाता गाउँपालिकाका अग्निपीडितलाई रु चार करोड ३५ लाख सहयोग दिने निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले आज पत्रकार सम्मेलनगरी शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकबाट भएका अग्निपीडितलगायत अन्य निर्णय सार्वजनिक गर्नुभएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश सरकारको ३२औँं मन्त्रिपरिषद् बैठकबाट पलाता गाउँपालिका–१ न्यौपाने खाडाका अग्निपीडित प्रतिघरपरिवारलाई आवास निर्माणका लागि रु पाँच लाख सहयोग गर्ने निर्णय गरिएको प्रवक्ता केसीले जानकारी दिनुभयो ।
“यही पुस ८ गते राति आगलागी भएको उक्त बस्तीमा भोलिपल्ट पुगेर प्रदेश सरकारले प्रतिघरपरिवार रु २० हजार नगद र अन्य राहत सामग्री सहयोग गरिसकेको छ,” प्रवक्ता केसीले भन्नुभयो,“बैठकबाट अग्निपीडित परिवार पुनःस्थापना कार्यक्रम सञ्चालन, उनीहरुको आवास निर्माणका लागि नमूना नक्सा र प्राविधिक सहयोगसमेत गर्ने निर्णय भएको छ ।”
उहाँका अनुसार बैठकले आगलागीबाट भएको आर्थिक तथा भौतिक क्षतिप्रति प्रदेश सरकारको तर्फबाट दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरिएको छ । त्यसैगरी अग्निपीडितको उद्धार, अस्थायी बसोवास, खाद्यान्न, लत्ताकपडालगायत आर्थिक तथा भौतिक सहयोग गर्न सङ्घीय सरकार, स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ÷संस्था र सहयोगी व्यक्तिलाई प्रदेश सरकारको तर्फबाट हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको मन्त्री केसीले बताउनुभयो ।
आगलागीबाट जलेर नष्ट भएका ८७ घरपरिवारको पुनःस्थापनमा सहयोग गर्न चाहने सरकारी तथा गैरसरकारी सङ्घ संस्था र व्यक्तिसँग प्रदेश सरकारले आवश्यक समन्वय तथा अपिल गर्ने निर्णयसमेत भएको जनाइएको छ ।
अस्पताल समितिका अध्यक्ष चयन
कर्णाली प्रदेश सरकारको शुक्रबार बसेको बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशअन्तरगत १० जिल्लाका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चयन गरेको छ ।
बैठकको निर्णयबाट प्रदेश अस्पताल सुर्खेतको व्यवस्थापन समितिको अध्यक्षमा श्यामलाल कँडेल, सदस्य हरिमाया शर्मा, जिल्ला अस्पताल सल्यानको अध्यक्षमा दामोदर गौतम, मुगुमा पारसमणि मल्ल, डोल्पामा तेजेन्द्र रोकाय, हुम्लामा छेपाल दोर्जे लामा तामाङ् र कालीकोटमा सरोज बोगटीलाई चयन गरिएको प्रवक्ता केसीले बताउनुभयो ।
त्यसैगरी, जिल्ला अस्पताल दैलेखको अध्यक्षमा लोमन शर्मा, जाजरकोटको अध्यक्षमा धर्मशिला बस्नेत, रुकुम पश्चिमको अध्यक्षमा सुन्दर ओली, जिल्ला अस्पताल सुर्खेत मेहलकुनाको अध्यक्षमा मानबहादुर खत्री, सुर्खेत आयुर्वेद औषधालय सुर्खेतको अध्यक्षमा ओमबहादुर बोहोरा र जुम्ला आयुर्वेद औषधालयको अध्यक्षमा मनोज बुढाथोकी मगरलाई चयन गरिएको उहाँले जानकारी दिनुभयो ।
मन्त्री केसीका अनुसार बैठकले अन्तरप्रदेश समन्वय परिषद्को २०७५ पुस ३ गतेको बैठकले स्वीकृत गरेको सङ्घीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनमा सहयोग गर्ने निर्णयसमेत गरेको छ ।
–––










