कांग्रेसमा पदाधिकारी संख्याको किचलो ः देउवा र पौडेलको आ–आफ्नै दाऊ

आउने महाधिवेशनपछि केन्द्रीय पदाधिकारी कति जना हुने र कसरी छानिने भन्ने टुंगो नलाग्दा नेपाली कांग्रेसको महासमिति बैठक लम्बिँदै गएको छ ।
दुई पक्षबीच ८ जना पदाधिकारी राख्ने सहमति भएको थियो । तर, सभापति शेरबहादुर देउवा पक्षले यसलाई समावेशी बनाउनु पर्ने शर्त राखेपछि नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट भयो । पौडेल पक्षले सुरुमा ११ जना पदाधिकारी राख्नु पर्ने माग गर्दै आएको थियो, तर ८ जनामा सहमत भएको थियो । तर, देउवा पक्षले महिला, मधेशी र जनजातिलाई आरक्षणको व्यवस्था गर्ने शर्त थपेपछि दुईपक्षबीचको सहमति कायम रहन सकेन ।
पदाधिकारी संख्या बढाउन दुवै पक्षका आ–आफ्नै दाउ छन् । नेता पौडेल सकेसम्म धेरै पदाधिकारी भए भने आफ्ना पक्षका सबै नेतालाई मिलाएर फेरि सभापतिको चुनाव लड्ने दाउमा छन् । सभापति देउवा भने पदाधिकारी बढाउन सकेमा पौडेल पक्षका नेताहरुलाई आफ्नो खेमामा तानेर महाधिवेशनमा आफूलाई थप बलियो बनाउने कसरतमा छन् ।
देउवा इतर खेमामा पौडेलसहित पदाधिकारीका आकांक्षी धेरै नेताहरु छन् । शशांक कोइरालाले समेत सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् । त्यसबाहेक शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंह, रामशरण महत, सीतादेवी यादव, दिलेन्द्र बडु, आनन्दप्रसाद ढुंगाना, आफताव आलमलगायतका नेताहरु छन् । पदाधिकारीका आकांक्षी अर्जुननरसिंह केसी, कृष्ण सिटौला, गगन थापालगायतका नेता देउवाइतर खेमामा छन् । गएको महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि केसी देउवालाई छोडेर पौडेलको पक्षमा गएका हुन् । प्रकाशमान सिंहले त अघिल्लो महाधिवेशनमै सुशिल कोइराला र देउवाबीच सभापतिका लागि प्रतिस्पर्धा हुँदा देउवालाई छोडेर कोइरालालाई सहयोग गरेका थिए, त्यसपछि उनी पौडेल समूहमा नै छन् ।
आफूलाई बलियो बनाउन कृष्ण सिटौला पक्षलाई पनि व्यवस्थापन गर्नुपर्ने चुनौति पौडेललाई छ । यसका लागि सिटौला आफैंलाई पनि पदाधिकारीमा व्यवस्थापन गर्नु जरुरी छ भने यो पक्षका प्रभावशाली नेता गगन थापा पनि पदाधिकारीको स्वभाविक आकांक्षी हुनेछन् । साथै, उमाकान्त चौधरी र प्रदीप पौडेल पनि सिटौला समूहका आकांक्षी हुनसक्छन् । सिटौला फेरि पनि अलग समूह बनाएर नै महाधिवेशनमा जान्छन् कि पौडेल वा देउवा पक्षमा समाहित हुन्छन् भन्ने अहिले स्पष्ट छैन ।
पदाधिकारी संख्या धेरै भयो भने यी मध्ये धेरै आकांक्षीलाई व्यवस्थापन गरेर आफू सभापतिको बलियो उम्मेद्वार बन्न सक्ने पौडेलको विश्लेषण छ । तर, उनकै समूहबाट अघिल्लो महाधिवेशनमा महामन्त्री जितेका सशांक कोइराला आफैं सभापतिको उम्मेदवार बन्ने योजनामा छन्, त्यसैले कोइरालाको समर्थन प्राप्त गर्नु पौडेलका लागि अर्को चुनौति हुनेछ । सशांकलाई सभापतिको उम्मेदवार बनाउन शेखर र सुजता कोइराला पनि पछिल्लो समय सकारात्मक देखिएका छन् ।
देउवा समूहमा अहिले पदाधिकारीका आकांक्षी धेरै छैनन्, तर पदाधिकारी संख्या बढाएपछि पौडेल समूहका केही नेताहरुलाई आफ्नो पक्षमा तान्न सभापति देउवालाई सहज हुनेछ । आफ्नो समूह छोडेर गएका केसी र सिंहलाई फर्काउने उनको चाहना छ । धेरै आकांक्षी भएको पौडेल समूहमा सबैले पदाधिकारी पाउन सक्दैनन्, त्यसैले त्यो समूहका असन्तुष्टलाई आफनो पक्षमा तान्न सकिने देउवा पक्षको बुझाई छ ।
देउवा पक्षमा उपसभापतिहरु विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, चित्रलेखा यादव, फर्मुल्लाह मन्सुर, बालकृष्ण खाँड पदाधिकारीका दावेदार छन् । यीमध्ये केही नेतालाई मनाउन सकेभने ८ जनाको पदाधिकारीमा केही पदमा ठाउँ खालि हुन्छ, जसमा देउवाले पौडेल पक्षका नेतालाई ठाउँ दिएर आफ्नो पक्षमा तान्न सक्छन् ।
अहिले नेपाली कांग्रेसमा सभापति, एक उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष गरी ६ पदाधिकारीको व्यवस्था छ, जसमा एक महामन्त्री र सहमहामन्त्री सभापतिले मनोनयन गर्ने प्रावधान छ । सभापति देउवाले महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गरेका थिए । विधानमा दुई उपसभापति नहुने प्रावधान भएपनि देउवाले केही समयअघि काँग्रेस फर्किएका गच्छदारलाई उपसभापतिमा मनोनयन गरेका थिए ।
अहिले विधानमा रहेको व्यवस्थामा एक उपसभापति र एक सहमहान्त्री थपेर जम्मा ८ जना पदाधिकारी बनाउने विषयमा मंगलबार राती बसेको शीर्ष नेतासहितको पदाधिकारी बैठकमा सहमति जुटेको थियो । यसमा कति जना प्रत्यक्ष निर्वाचित हुने र कतिजना मनोनित हुने भन्ने विवाद कायमै थियो । यसैबीच, देउवा पक्षले पदाधिकारी समावेशी समेत बनाउनु पर्ने प्रस्ताव ल्याएपछि पौडेल पक्ष थप असन्तुष्ट बनेको छ । पदाधिकारी समावेशी बनाउनु पर्ने भएमा आफ्ना पक्षका आकांक्षीलाई व्यवस्थापन गर्न पौडेललाई अझै कठीन हुनेछ ।
कांग्रेसको विधान अनुसार १४ औं महाधिवेशन २०७६ फागुन २० भित्र सम्पन्न गर्नुपर्ने हुन्छ ।










