बजेट नहुँदा स्वास्थ्यकर्मीलाई रु ४४ लाख झुक्तानी गर्न बाँकी

जाजरकोट, ५ पुस(रासस) ः यहाँको जाजरकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले एक वर्षदेखि भत्ता नपाएको गुनासो गरेका छन्।
चाहिनेजति स्वास्थ्यकर्मी नहुँदा अस्पतालमा कार्यरतले कर्मचारीले अतिरिक्त समयमा काम गरेको तलबभत्ता एक वर्षदेखि भत्ता नपाएका हुँन् । स्वास्थ्यकर्मीले गत असारमा ६ महिना पछि मात्र तलब पाएका थिए। तलबका लागि उनीहरुले आन्दोलन नै गर्नु परेको थियो ।स्वास्थ्यकर्मीले अतिरिक्त तलब भत्ता पनि केही दिनभित्र उपलब्ध नगराए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
गत असारसम्मको २९ लाख र सावनदेखि मंसिरसम्मको १५ लाख गरी ४४ लाख रुपैया विभिन्न तहका स्वास्थ्यकर्मीलाई भुक्तानी दिन बाँकी रहेको अस्पतालका प्रमुख डाक्टर राजेन्द्र लामाले बताउनुभयो ।
बजेट अभावमा करिब ४४ लाख रुपैया भुक्तानी हुन नसकेको अस्पतालले जनाएको छ। चिकित्सक ५, स्टाफ नर्स १२, स्वास्थ्य सहायक ३ , फारमसिष्ट २, ल्याव टेक्निसियन ४, रेडियो ग्राफर २, विलिङ्ग कर्मचारी २ र १० जना कार्यालय सहयोगी गरी ४० जना स्वास्थ्यकर्मीले २०७४ पुस देखिको अतिरिक्त तलबभत्ता नपाएको अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले बताउनुभयो ।
उनका अनुसार दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा एउटै स्वास्थ्यकर्मीले २४ सै घण्टा काम गर्नुपर्छ। ८ घण्टाभन्दा बढी काम गरेको अवधिको थप भत्ता दिने व्यवस्था छ । तर बजेट अभावले गत एक वर्षदेखिको तलब भत्ता दिन नसकिएको उहाँले बताउनुभयो ।
अस्पताल र स्वास्थ्य कार्यालय अगल भएपनि अस्पतालमा तलब भत्ता बाहेकको बजेट नै आउन छोडेपछि समस्या भएका अस्पताल प्रमुख लामाले बताउनुभयो । उहाँका अनुसार अस्पताल अहिले प्रदेश सरकार मातहत छ तर तलब नगरपालिकामा आउँछ।’
यसअघि विभाग मातहतमा हुँदा सबै समस्या त्यहीबाट समाधान हुन्थे अहिले एकले अर्कालाई जिम्मेवारी देखाएर आफू पन्छिने काम भैरहेको छ। जसको मारमा स्वास्थ्यकर्मी परेका छन्।
’चालु आर्थिक वर्षमा दुई करोड ३३ लाख रुपैयाँ अस्पतालका लागि बजेट विनियोजन गरिएको छ। जबकी तलब, दुर्गमभत्ता, महंगी भत्तालगायतमा दुई करोड १२ लाख रुपैयाँ खर्च हुने गरेको छ।
बाँकी रकमले रातिमा गरेको डिउटी लगायतको अतिरिक्त भत्ता अपुग हुने देखिन्छ। वर्षमा करिब ५० लाख रुपैयाँ अतिरिक्त भत्तामा खर्च हुने गरेपनि सोही अनुसार बजेट विनियोजन नहुँदा समस्या देखिएको प्रमुख डा.लामाले बताउनुभयो ।
९ जना विशेषज्ञसहित १३ जना चिकित्सकको दरबन्दी भएपनि हाल ५ जना मात्र कार्यरत छन्। ६ जना स्वास्थ्य सहायकको दरबन्दी भएपनि दुईजना मात्र कार्यरत छन्। एकजनाको पदपूर्ति हुन सकेको छैन। एकजना स्वास्थ्य सहायक धनिकलाल यादव १२ वर्षदेखि सम्पक बिहिन छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा पठाउनु पर्ने स्त्रीरोग विशेषज्ञ र सर्जन डाक्टर नपठाउँदा उपचारमा थप समस्या भएको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तलब भत्ता स्थानीय तहमार्फत दिने निर्णय भएसँगै तलब भत्ता समयमा पाउन समेत नसकिएको उनीहरुको गुनासो छ।










