सडक निर्माणसँगै डोल्पामा विकासको लहर

हेमन्त के सी
जाजरकोटः अहिले पनि घरको सानोतिनो काम गर्ने एकहत्तर वर्षीय पहाडी छोराछोरीलाई पनि सघाउने गर्छन । नुन ल्याउन जाँदा बाटोमा रहेका ओढारमा पिठो लुकाएर गएको र आउँदा सोही पिठोको रोटी बनाएर खाँदै घर फर्केको कुरा सुनाउँदा नातीनतिना अचम्म मान्छन् । अहिले घरआँगनमै जिप तथा ट्याक्टर चलेको र त्यसमै सबै सामान ल्याउने गरेको देखेका उनीहरूलाई विगतका घटना कथाजस्तै लाग्ने भएकाले सबै घटना सुनाउने गरेको उनि बताउछन् ।
उनिजस्तै अर्का ६५ वर्षीय कौशिला थापा र उनिको श्रीमान्को भोगाइ पनि कम छैन । भावविह्वल हुँदै उनि भन्नुहुन्छ, “विसं २०४१ मा आफ्ना श्रीमान् नुन लिएर नेपालगञ्जबाट फर्कंदा बाटोमा नुन बोकेको भारी बिसाएर थकाइ मार्दा सल्यानको रेउचे लेकबाट तल खसेर मृत्यु भएको थियो । अहिले नुनदेखी सुनसम्म घरआँगनमै जिप, ट्याक्टरमा ल्याएर खाना पाउँदा खुशी एकातिर लाग्छ भने अर्कोतिर मृत्यु भएका श्रीमान्को याद पनि बेलाबखत आउने गर्छ ।”

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत डोल्पाको त्रिपुराकोटमा अहिले सहजै यातायातका साधन सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । पहिलेजस्तो दैनिक उपभोग्य सामग्री महङ्गो नभएकाले केही राहत महसुस भएको अर्का स्थानीयवासी टङ्क न्यौपाने बताउछन् । पहिले जाजरकोटबाट पिठ्युमा बोकेर ल्याइएका सामान महङ्गो हुन्थ्यो भने अहिले यातायातका साधनमा ल्याउँदा सस्तो पर्ने उनि उल्लेख गर्छन ।
निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्रीसम्म हवाइ जहाजमा ल्याउँनुपर्दा भने तिनको मूल्यभन्दा पनि भाडा बढी लाग्ने गरेको त्रिपुरासुन्दरी नगरपालिका–९ लिकुका हरिबहादुर खत्रीको गुनसो छ । डोल्पामा भौतिक संरचना निर्माण गर्दा आवश्यक सामग्री नपाएर काममा समेत बाधा पुग्दै आएको उनिको भनाइ छ ।
अहिले कुनै पनि संरचना निर्माण गर्नका लागि सामग्री घर, आँगनमै पाइने भएपछि भवन निर्माण शुरु गरिएको जानकारी दिँदै खत्री भन्नुहुन्छ । वर्षेनी डोल्पामा भवन निर्माणका लागि बजेट आए पनि निर्माण सामग्रीको अभावमा रकम फिर्ता भएर जाने गरेको थियो ।


अहिले जाजरकोट–डोल्पा सडकखण्डको ट्याक खुला भएपछि गाउँगाउँमा स्काभेटरद्वारा आन्तरिक सडक निर्माणको काम तीव्ररूपमा बढेको त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख ओमबहादुर बुढा बताउछन् । गाउँगाउँमा सडक पु¥याउनका लागि काम भइरहेका छन्, सडक निर्माण पहिलो प्राथमिकता भएको उनिको भनाइ छ ।
नेपाली सेनाले यो सडकखण्डको ट्याक खुलाउने काम पूरा गरेसँगै यहाँका बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्य ह्वात्तै घटेको सांसद पद्मा बोहरा बताउछन् । पहिले यातायात सञ्चालन नहुँदा मसिनो चामल रु चार हजार ५०० मा किन्नुपथ्र्यो भने अहिले यातायात सञ्चालनपछि दुई हजार १०० मा पाइने उनिको भनाइ छ । त्रिपुरासुन्दरी नगरपालिकाले आन्तरिक सडक निर्माणलाई तीव्रता दिएसँगै मसिनाचौर विमानस्थलसम्म ट्याक्टर सञ्चालन भएको छ ।
त्रिपुराकोटदेखि छल, रमा, रसी, रल्ली, कालीकासम्मको सडक निर्माणको काम शुरु भएको छ । यसैगरी ठूलीभेरी नगरपालिका, जगधुला गाउँपालिका, मुट्केचुला गाउँपालिकामा समेत सडक निर्माणका लागि काम भइरहेको छ । जुम्लाबाट चौरीकोट जगधुला जोड्ने सडकको कामसमेत भइरहेको सांसद बोहोरा बताउछन् । सडक निर्माण तीव्ररूपमा भएमा अर्को वर्षदेखि जगदुला हाइड्रोपावरका लागि सामग्रीसमेत ढुवानी गर्न सकिने उनिको भनाइ छ ।
अहिले नेपाली सेनाले जाजरकोट–डोल्पा सडकखण्डको डोल्पा खण्डमा ट्याक खुला भएको ठाउँमा सडक स्तरोन्नतिका लागि काम जारी राखेकाले डोल्पामा उत्पादन भएको वस्तु जाजरकोट, रुकुममा ल्याएर बिक्री गर्न सजिलो भएको निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडी बताउछन् ।





error: Content is protected !!