सेल्फी खिच्ने बहानामा बलात्कार

हरि गौतम
रुकुम पश्चिम — बालिका बलात्कारको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सानीभेरी गाउँपालिकामा १५ वर्षीया एक बालिकामाथि बलात्कार गरेको अभियोगमा रुकुमपूर्व भूमे गाउँपालिका–९ चुनवाङका २१ वर्षीय मनोज ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत मंसिर २८ गते गोठमा बाख्रा बाँध्दै गरेकी बालिकालाई गोठभित्र लिएर जबरजस्ती करणी गरेको अभियोगमा ओलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए।

सेल्फी खिचौं भनेर बालिकालाई गोठ भित्र लगेर जबरजस्ती करणी गरेको पाइयो,’ डिएसपी खड्काले भने, ‘करणीपछि बालिकाले प्रहरी गुहारेपछि अभियुक्तलाई सोही दिन पक्राउ गरियो।’ प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी अभियुक्त ओलीलाई सार्वजनिक गरेको हो।

पक्राउ परेका ओलीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ओली चुनवाङबाट जन्ती बनेर सानीभेरी गाउँपालिकासम्म पुगेका थिए।

यसैबीच चोरीमा संलग्न अर्का किशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ।रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–५, हुकामका १९ वर्षीय विजय मल्ल चोरी गरेका सामग्री सहित पक्राउ परेका हुन्।

मंसिर २९ गते राति त्रिवेणी गाउँपालिका–३ र ६ वडाको पर्ने झुल्नेटा बजारको इलेक्ट्रोनिक्स पसल र सुनचाँदी पसल चोरीमा संलग्न भएको आरोपमा मल्ल पक्राउ परेका हुन्।

दुवै पसलबाट २ लाख ५० हजार बराबरको धनमाल चोरी भएको निवेदनको आधारमा छानबिन गर्दा मल्ल पक्राउ परेको डिएसपी खड्काले बताए। पक्राउ परेका मल्लको साथबाट प्रहरीले ५ हजार ८ सय ३५ नगदको साथमा ५ वटा मोबाइल सेट, एउटा क्यामेरा, नमस्ते र एनसेलका केही थान रिचार्ज कडा, घडी र ताला तोड्न प्रयोग हुने सामानहरु बरामद गरेको छ।





error: Content is protected !!