गर्भपतन गराउँदा युवतीको ज्यान जोखिममा

डोल्पा,
औषधि सेवन गरेर गर्भपतन गराउन खोज्दा एक युवतीको ज्यान जोखिममा परेको छ । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
काइके गाउँपालिका स्थित बैजीवाराकी १९ वर्षीया आमाले गर्भपतन गराउन खोजेकी थिइन् । उनका दुई सन्तान छन् । तेस्रो सन्तान नजन्माउन स्थानीय मेडिकलबाट औषधि सेवन गरेकी उनी सिकिस्त भएकी छिन् । उनले सदरमुकाम दुनैस्थित दीप ज्योति मेडिकलबाट तीन हजार रुपैयाँमा गर्भपतनको औषधि गरिद गरेर सेवन गरेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालका अनुसार, गर्भमा रहेको भ्रुण नझरेको र रक्तस्राव भएकाले उनलाई समस्या भएको हो ।
१२ हप्ताभन्दा बढी समयको गर्भपतन गराउन खोज्दा समस्या भएको जिल्ला अस्पतालका डा। हिमविक्रम शाहीले बताए । उपयुक्त जाँच नगरी औषधि सेवन गरेकाले समस्या भएको उनको भनाइ छ । उनको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
औषधि बिक्री गर्नेलाई कारबाहीको माग
स्थानीय बासिन्दाले जथाभावी औषधि बिक्री गर्ने मेडिकललाई कारबाही गर्न माग गरेका छन् । जनप्रतिनिधि तथा नागरिक समाजका अगुवाले जिल्ला प्रशासन कार्यालय पुगेर औषधि बिक्री गर्ने मेडिकल सञ्चालक भीम विसीलाई कारबाही गर्न माग गरेका हुन् । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले मेडिकल सञ्चालक विसीलाई प्रशासनमा बोलाएर छलफल गरिएको बताए । गर्भवती आमाको उपचारको जिम्मा लिएको र अबदेखि यसरी बिक्री नगर्ने प्रतिबद्धता गरेपछि छोडिएको बताए । ‘उपचार गराइरहेकी किशोरीले निको भएर आएपछि उजुरी दिए कारबाही गर्छौँ,’ प्रजिअ थापाले भने ।
मेडिकलको अनुगमन गरिने
जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सबै मेडिकलको अनुगमन गर्ने निर्णय गरेको छ । ठूलीभेरी नगरपालिका–३ का अध्यक्ष अर्णबहादुर न्यौपानेले जिल्लाका सबै औषधि पसलको अनुगमन गरिने बताए । विशेषज्ञसहितको टोलीले मेडिकलको अनुगमन गर्ने तय गरिएको छ । अवैध रूपमा सञ्चालित मेडिकल बन्द गरिने र निषेधित औषधि बिक्री गर्नेलाई पनि कारबाही गरिने प्रजिअ थापाले बताए ।








