चीनमा भयानक दुर्घटना कारले ठक्कर दिँदा बाटोमा हिँडिरहेका ७ जनाको मृत्यु

एजेन्सी 
बेइजिङ– दक्षिणपश्चिमी चीनको एक शहरमा एक कारले ठक्कर दिँदा बाटो हिँडिरहेका कम्तीमा पनि ७ जना बटुवाको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको लेसान शहरमा मङ्गलबार बिहान सो दुर्घटना भएको हो । सडकमा गुडिरहेको कार अकस्मात सडक किनाराबाट आफ्नो बाटो हिँडिरहेका नागरिकलाई ठक्कर दिन पुगेको थियो ।
यसरी कार अकस्मात बटुवाहरुको भिडतर्फ लागेपछि यसले ठक्कर दिइ सातजनाको घटनास्थलमै निधन भएको बताइएको छ । यस दुर्घटनामा परी अरु चार जना नराम्ररी घाइते भएका छन् । उनीहरुलाई नजिकैको अस्पताल पुर्याइएको छ ।
एक कारले बाटो काटिरहेका बालबालिकालाई हान्दा ७ जनाको ज्यान गएको घटनाको केही दिनपछि यो अर्को दुःखद घटना भएको चिनियाँ प्रहरीले जानकारी दिएको छ । मङ्गलबार बिहान दुर्घटना गराउने कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सो दुर्घटनाको कारण के हो भन्ने बारेमा केही बताइएको छैन ।
प्रहरीले विज्ञप्ति प्रकाशन गरेर उक्त घटना के कसरी हुन पुगेको हो भन्ने बारेमा अनुसन्धान शुरु भएको जनाएको छ । –एएफपी








