डाक्टर आए, औषधि आएन

रातापानी मुगु,
अलिकति ज्वरो आउँदा पनि घर नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रमा दगुर्ने पश्चिम मुगुको खत्याड गाउँपालिका–९ रातापानी गाउँकी सत्या कार्की जहिल्यै ‘डाक्टर छैन’ भन्ने उत्तर पाउँथिन् । यो वर्ष डाक्टर आएपछि खुसी भएकी उनी एक साताअघि दाँत दुखेर अस्पताल धाउँदा पनि उपचार पाइनन् ।
७० वर्षीया कार्कीले भनिन्, ‘कहिल्यै डाक्टर हुँदैनथे । अहिले डाक्टर त आए, औषधि छैन ।’ डाक्टरले दाँत हेरेर कोट्याए पनि औषधि नहुँदा त्यसै फर्किएर आएको उनले बताइन् । सुन्निएको गाला देखाउँदै उनले भनिन्, ‘घरनजिकै अस्पताल भएर के गर्नु रु औषधि छैन, दाँत दुखेर सुन्निएको छ ।’
कार्कीजस्तै रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामी स्वास्थ्यकर्मीलाई त देखाउँछन्, तर औषधि नपाएर फिर्ता हुन्छन् । औषधि सकिँदा एक महिनादेखि बिरामीको उपचार गर्न नसकिएको केन्द्र प्रमुख डा। त्रिलोचन पन्थीले बताए । ‘औषधी छैन । उपचार गर्न आएका बिरामी रिसाएर जाने गरेका छन्,’ डा। पन्थीले भने । एक महिनादेखि सिटामोलसमेत नभएको उनले बताए ।
तीन शैयाको प्राथमिक स्वास्थ्य केन्द्रमा असोजदेखि नै औषधिको अभाव सुरु भएको थियो । कात्तिकदेखि त सामान्य औषधि पनि नभएको केन्द्रले जनाएको छ । गाउँबाट उपचारका लागि आएका बिरामी स्वास्थ्यकर्मीलाई भेटेर औषधिविना नै फर्किने गरेका छन् । स्वास्थ्य संस्था स्थानीय निकायको मातहत गएसँगै औषधिको समस्या हुन थालेको स्वास्थ्यकर्मीको भनाइ छ । स्थानीय सरकारको मातहतमा गएपछि जिल्ला स्वास्थ्य कार्यालय तथा क्षेत्रीय मेडिकल स्टोरले औषधि पठाउन छोडेको छ । स्थानीय सरकारले पर्याप्त औषधि खरिद नगरेपछि समस्या भएको हो ।
रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा पश्चिम मुगुको आम, सुकाढिक, रिघा, लुई, रिखिया, नखर्जी, कर्खा, जामिर गाउँका बासिन्दा उपचारका लागि आउने गरेका छन् । त्यस्तै, बाजुराको हिमाली गाउँपालिकाका बासिन्दाको पनि उपचार गराउने ठाउँ यही नै हो । तीनरचार घन्टा हिँडेर रातापानी प्राथमिक स्वास्थ्य केन्द्र पुगे पनि औषधि नहुँदा स्वास्थ्यकर्मीले लेखिदिएको पर्चा बोकेर निजी मेडिकल धाउने गरेका छन् । औषधि नहुँदा बाध्य भएर निजी क्लिनिकतिर पठाउनुपरेको डा। पन्थीले बताए ।
बजेटले धान्न सकेन अध्यक्ष
खत्याड गाउँपालिकाले औषधि खरिद गर्न बजेट नपुगेको जनाएको छ । गाउँपालिकाले नै औषधि किनेर स्वास्थ्य संंस्थालाई उपलब्ध गराउनुपर्ने भएपछि झन समस्या भएको स्वास्थ्य संयोजक दीपबहादुर कार्कीले बताए ।
खत्याड गाउँपालिकामा एक प्राथमिक केन्द्र, ६ स्वास्थ्य चौकी र तीन सामुदायिक स्वास्थ्य इकाइ छन् । पहिलो चौमासिकमा चार लाखको औषधि खरिद गरिएको गाउँपालिकाले जनाएको छ । त्यसपछि खरिद गर्न नसक्दा औषधि अभाव भएको गाउँपालिका अध्यक्ष उब्जन शाहीले बताए । ‘डाक्टरसँग सल्लाह गर्दा १२ लाखभन्दा माथिको औषधि माग भयो । गाउँपालिकाको बजेटले धान्न सकेन,’ अध्यक्ष शाहीले भने ।








