एकै जिल्लामा दुई शैक्षिक सत्र

डोल्पा,
उपल्लो डोल्पाका २४ स्कुलमा बिदा, तल्लो डोल्पाका ९१ स्कुलमा पढाइ

नयाँ वर्षदेखि शैक्षिक सत्र शुरु भएका देशभरिका विद्यालयले अर्धवार्षिक परीक्षा पनि लिइसकेका छन् । तर, उपल्लो डोल्पाका विद्यालयमा भरखर शैक्षिक सत्र सकिएको छ भने तल्लो डोल्पाका विद्यालय परीक्षाको तयारीमा जुटेका छन् ।

मौसमअनुसार शैक्षिक सत्र लागू गर्नुपर्ने भएकाले एउटै जिल्लामा पनि दुइटा शैक्षिक सत्र प्रयोगमा रहेका छन् । ‘उपल्लो डोल्पा र तल्लो डोल्पामा छुट्टाछुट्टै शैक्षिक सत्र लागू गरिएको छ,’ शिक्षा विकास तथा समन्वय इकाइ सिंहराज डाँगीले भने । भौगोलिक विकटता र फरक–फरक हावापानीका कारण शैक्षिक सत्र दुइटा बनाउनुपरेको उनले बताए ।

उपल्लो डोल्पामा कात्तिक अन्तिम साता वार्षिक परीक्षा सकिएको छ । यहाँका २४ विद्यालयमा मंसिर पहिलो सातादेखि बिदा गरिएको छ । उपल्लो डोल्पाका शे–फोक्सुन्डो, डोल्पो बुद्ध र छार्कातासोङ गाउँपालिकामा पर्ने विद्यालय चिसोका कारण बन्द गरिएका हुन् ।

प्रतिकूल मौसमका कारण जनजीवन कष्टकर हुने भएकाले कात्तिक अन्तिम साताभित्रै विद्यालय बन्द गरेर घर फर्केको उपल्लो डोल्पाको धोस्थित क्रिस्टल माउन्टेन आधारभूत विद्यालयका शिक्षक गंगाराम कठायतले बताए । ‘अत्यधिक चिसोले स्थानीय बासिन्दा नै बस्दैनन्,’ उनले भने । अभिभावकसँगै विद्यार्थी पनि बेँसी झरेका छन् ।

उपल्लो डोल्पाका विद्यालय ६ महिना बन्द रहनेछन् । ‘भारी हिमपात हुन्छ, हिमपातका कारण तापक्रम माइनसमा झर्छ । बालबालिका विद्यालय पुग्नै सक्दैनन्,’ शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख डाँगीले भने । यहाँका विद्यालय चैत अन्तिम साता तथा वैशाख पहिलो सातादेखि खुल्नेछन् ।

देशभरि चैतमा शैक्षिक सत्र सकिएर नयाँ वर्षदेखि सुरु हुने गरेपछि डोल्पालगायत कर्णाली प्रदेशका हुम्ला र जुम्लामा पुसमा शैक्षिक सत्र सकिएर फागुनदेखि पढाइ सुरु हुने गरेको हो ।

तल्लो डोल्पामा परीक्षाको तयारी

तल्लो डोल्पाका विद्यालय शैक्षिक सत्रको अन्त्यतिर पुगेका छन् । वार्षिक परीक्षाको तयारी भइरहेको जनाइएको छ । मंसिर अन्तिम सातासम्म वार्षिक परीक्षा सम्पन्न गर्ने तयारी भइरहेको तल्लो डोल्पास्थित त्रिपुरा माविका शिक्षक लोकेश खत्रीले बताए ।

‘मंसिर अन्तिम सातासम्म परीक्षा सकिन्छ, पुस पहिलो साता रिजल्ट प्रकाशन गरेर पुस १५ देखि बिदा हुन्छ,’ शिक्षक खत्रीले भने । तल्लो डोल्पाका त्रिपुरासुन्दरी र ठुलीभेरी नगरपालिका तथा काइके, मुड्केचुला र जगदुल्ला गाउँपालिकामा यो शैक्षिक सत्र लागू हुने गरेको छ ।

जसअनुसार यहाँका ९१ विद्यालय १५ पुसदेखि दुई महिना बन्द रहनेछन् । फागुन पहिलो सातादेखि मात्रै पढाइ सुरु हुने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!