मदिरा सेवन गरी होहल्ला गर्ने कर्मचारीलाई कारबाही

रुकुम पश्चिम,
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले मदिरा सेवन गरी होहल्ला गर्ने वडा सचिव बालकृष्ण गिरीलाई नौ हजार जरिवाना गरेको छ । वडा ११ का सचिव गिरीले कार्यालय समयमा मदिरा सेवन गरी होहल्ला गरेपछि नगरपालिकाले प्रहरीको सहयोगमा कारबाही गरेको हो । कर्मचारीले कार्यालय समयमा मदिरा सेवन गरेको पाइएमा कारबाही गर्ने कानुन बनाएको र सोही अनुसार कारबाही गरिएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए ।

नगरपालिकाले बनाएको मदिरा नियन्त्रण निर्देशिकामा कुनैपनि कर्मचारीले मदिरा सेवन गरेको पाइएमा कारबाही गर्ने उल्लेख छ । उक्त निर्देशिकामा पहिलो पटक चेतावनीसहित नौ हजार जरिवाना गर्ने, दोस्रो पटक १८ हजार जरिवानासहित सरुवा गर्ने र तेस्रो पटकपनि गरेमा जागिरबाटै बर्खास्त गर्ने व्यवस्था गरिएको नगरप्रमुख केसीले बताए ।

वडा सचिव गिरी कार्यालयमा नियमित उपस्थित नहुने, बैठकमा उपस्थित नहुने, समयमा रिपोर्टिङ नगर्ने जस्ता समस्या देखिएको नगर प्रमुख केसीको भनाई छ ।

तीन कर्मचारीको सरुवा
नगरपालिकाले मदिरा सेवन गर्ने तीन जना कर्मचारीलाई सरुवा गरेको छ । कार्यालय समयमा मदिरा सेवन गरी कार्य सम्पादनमा कैफियत देखिएका तीन जना सचिवलाई यस अघि नै सरुवा गरेको केसीले जानकारी दिए । आफ्नो जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई नछाड्ने नगर प्रमुख केसीले बताए ।

‘जनताको सेवाको लागि भनेर सरकारी सेवामा प्रवेश गरेका कर्मचारीलाई दायाँ बाँया गर्ने छुट छैन,’ उनले भने, ‘कर्मचारीले तोकिएको जिम्मेवारी पुरा नगरेमा कारबाही हुन्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!