डोल्पाका विद्यालयहरुमा वार्षीक परीक्षाको तयारी तिब्र

सुकमाया थापा
डोल्पा(दुनै) – उच्च हिमाली हावापानी रहेको डोल्पा जिल्लाका सम्पूर्ण विद्यालयहरुले चालु शैक्षिक सत्रको वार्षीक परीक्षा संचालनको तयारी तिब्र बनाएका छन् ।
जिल्लाका सबै स्थानीय तह भित्र रहेका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुले चालु शैक्षिक सत्र २०७५ को अन्तिम तथा वार्षीक परीक्षा यही मंसिर महिनाको तेस्रो देखि अन्तिम साताबाट सुरु गर्ने तयारीलाई तिब्रता दिएको शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाले जनाएको छ ।
जिल्लाका ८ स्थानीय तहहरु मध्ये जगदुल्ला गाउंपालिका, मुड्केचुला गाउंपालिका, काइके गाउंपालिका र त्रिपुरासुन्दरी नगरपालिकाले यस मंसिरको १८ गतेबाट वार्षीक परीक्षा संचालन गर्ने गरी तयारी तिब्र बनाएका हुन् । ठुलीभेरी नगरपालिकाले भने चौथो सातादेखि मात्र परीक्षा संचालन गर्ने गरी तयारी थालेको ठुलीभेरी नगर शिक्षा समितिका एक सदस्यले बताए ।
कक्षा १ देखि ९ कक्षा सम्मको वार्षीक परीक्षा गर्न लागिएको हो । कक्षा ८ को भने प्रत्येक स्थानीय तह स्तरिय परीक्षा संचालन हुनेछ । कक्षा १० को एसइइ परीक्षा भने प्रदेश स्तरिय रुपमा चैततिर संचालन हुने छ ।
केही दिनमा सुरु हुन लागेको वार्षीक परीक्षा मध्ये तथा तल्लो डोल्पाका ८९ सामुदायिक विद्यालयहरु र ४ वटा संस्थागत विद्यालयहरुमा संचालन गर्ने तयारी गरिएको छ । माथिल्लो डोल्पाका ३ गाउंपालिकाका १९ वटा सामुदायिक विद्यालयहरुमा कात्तिक मसान्तमा परीक्षा सम्पन्न गरी शैक्षिक सत्र सकिएको छ । डोल्पामा अति चिसो उच्च हिमाली हावापानीका कारण फागुनबाट नयां शैक्षिक सत्र सुरु भई पुसको १५ गते समाप्त हुने शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका प्रमुख सिंहराज डांगीले जानकारी दिए ।










