सामाजिक सञ्जालबाट अपराध

काठमाडौं,
चिट्ठाका नाममा भाइबरबाट ठगी ‘कौन बनेगा करोडपति’ का नाममा म्यासेज

थानकोट गुर्जुधाराकी निशा सुवदीलाई भाइबरमा म्यासेज आयो । लेखिएको थियो, ‘कौन बनेगा करोडपति मे आपका स्वागत है । बधाई, आपने २५ लाख भारु जिता है ।’ सोच्दै नसोचेको म्यासेज आयो ।

जसले निशालाई जिज्ञासु बनायो । म्यासेज पुनः पढिन् । जवाफ लेखिन्, ‘थ्यांक्स ।’ उताबाट ‘वेलकम’ भनियो । भाइबरमै वार्ता चल्यो । केही दिनपछि भाइबरबाटै फोन आयो । फोन हेरिन् । उही नम्बरबाट थियो । फोन उठाइन् ।

हिन्दी र अंग्रेजी मिसिएको भाषामा भनियो, ‘कङ्ग्र्याचुलेसन । आपने कौन बनेगा करोडपति मे लोटरी जिता हैं । लोटरी पानेके लिए आपका दो कलर फोटो चाीहए । जल्दी भेज दिजिएगा ।’

भाइबरबाटै उनले रंगीन दुई फोटो पठाइन् । केही दिनपछि फेरि उही नम्बरबाट फोन आयो । फोन उठाइन् । भनियो, ‘लोटरीके मनी सेन्ड करनेके लिए इसका कोड नम्बर ओपन कर्ना चाहिए । इसके लिए बैंकने कुछ पैसे मागा है । जल्दी भेजदिजिए । वर्ना आपका जिता हुवा पैसे क्यान्सल होगा । डिटेल्स एसएमएसमे आएगा ।’

त्यसको केहीबेरमै भइबरमार्फत एसएमएस बक्स म्यासेज आयो । म्यासेजमा ६२ हजार रुपैयाँ ग्लोबल आइएमई बैंकको ३३०९०१२७८०५ नं। खाता तुरुन्तै जम्मा गर्नु भनिएको थियो । म्यासेजको अन्त्यमा अब्दुल रहमान लेखिएको थियो । निशा अलमल परिन् । पैसा पठाउँदा आफ्नो रकम गुम्ने डर, नपठाउँदा चिट्ठाबापत जितेको २५ लाख भारु गुम्ने डर ।

यस क्रममा उनीहरूबीच निकै चरणमा वार्तालाप भयो । अन्त्यमा उनी रकम पठाइदिने निष्कर्षमा पुगिन् । उनले उताबाट भनिएको बैंक खाता नम्बरमा नै ६२ हजार रुपैयाँ जम्मा गरिन् । अनि २५ लाख भारुको प्रतीक्षामा बसिन् । दिनसँगै रात बित्यो । तर, उक्त रकम आउने कुनै संकेत आएन ।

केही दिनपछि फेरि मोबाइलमा भाइबरको घन्टी बज्यो । हेरिन् । उही नम्बरबाट रहेछ । उठाइन् । भनियो, ‘रकम पठाउन जिएम ९जनरल म्यानेजर०को सिग्नेचर आवश्यक पर्ने भयो । पहिले पठाएको रकमले पुगेन । फेरी एक लाख ३५ हजार रुपैयाँ पठाइ दिनुपर्ने भयो ।’

अब बल्ल पो उनलाई आफु ठगिएको महसुस भयो । अनि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा पुगिन् । महाशाखाका अनुसार यो त प्रतिनिधि घटनामा मात्रै हो । यस्ता घटनासँग सम्वन्धित उजुरी प्रत्येक साता ४ भन्दा धेरै आउने गरेका छन् ।

भाइबरमार्फत चिठ्ठा परेको भन्दै ठगी बढेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाले सबै उजुरी एकीकृत गर्‍यो । सुक्ष्म बिश्लेषण गर्‍यो । तर, सबै पीडितले रकम जम्मा गरेको बैंक खाता एउटै थियो । प्रहरीले बैंकको डिटेल्स लियो ।

उक्त बैंक खाता अछाम वान्नीगढी जयगढ–६ का २७ बर्षीय राजेन्द्रबहादुर कठायत र २२ बर्षीय बसन्त कठायतको रहेको खुल्यो । अन्तत प्रहरीले दुवैलाई पक्राउ गर्‍यो ।

 

 

कपाल काट्ने हजाम समेत ठगिए

भारतको बिहारबाट आएर कीर्तिपुरको भत्केको पाटीमा कपाल काट्ने पेसामा संलग्न युवा पनि भइबरमार्फत ठगिन पुगेका छन् । उनलाई भाइबरमार्फत चिठ्ठा परेको म्यासेज आयो । पछि चिठ्ठाबापतको रकम पठाउन ट्याक्स तिर्नुपर्ने भनियो । यसका लागि बैंक खाता दिइयो । बैंक खातामा उनले २ लाख रुपैयाँ हालिदिए ।

त्यसपछि उनलाई चिट्ठा बापतकोे रकम मलेसिया, दुबई, भारत हुँदै आउने जानकारी विजयकुमार नामका व्यक्तिले भने । त्यसको केही दिनपछि मुम्बईबाट राणा प्रतापसिंह नाम बताउने एक ब्यक्तिले रकम आएको तर, पठाउन एक प्रतिशत कर लाग्ने बताए । त्यसका लागि उनले २५ हजार रुपैयाँ फेरी मागे । तर, उनको रकम आएन ।

यसरी उनले पटक–पटक गरेर दुई लाख २५ हजार रुपैयाँ गुमाए । तर, चिठ्ठाबापतको रकम भने प्राप्त गर्न सकेनन् । अन्त्यमा कारबाहीको माग गर्दै उनी प्रहरीको अपराध अनुसन्धान महाशाखा पुगे । महाशाखाका अनुसार ठगिसँग सम्बन्धित अधिकांश भाइबर कल पाकिस्तानबाट आउने गरेका छन् । त्यस बाहेक भारत र दुवईबाट पनि यस्ता कल आउने गरेका छन् ।

उपहार र जागिरका नाममा फेसबुकबाट ठगी

प्युठान राम्दी–४ की रीता खड्का फेसबुकमा रमाइरहेकी थिइन् । यही क्रममा डेनियल हेन्ज वलग्याङ्गको नामबाट फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाइल हेरिन् । उनी अस्ट्रेलियन नागरिक रहेको देखियो ।

फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिन् । डेनियलले तुरुन्तै थ्यांक्स भन्दै म्यासेज गरे । उनले पनि वेलकम भन्दै उत्तर दिइन् । यसरी सुरु भएको संवाद केही महिनापछि मित्रतामा बदलियो । दुवैबीच घन्टौँ गफ चल्न थाल्यो ।

पछि पार्सलमार्फत सुन र डलर गिफ्ट पठाइदिएको भन्दै उसले म्यासेज लेख्यो । रीता खुसी भइन् । दुई दिनपछि भारतबाट भन्दै फेसबुक म्यासेन्जरमा फोन आयो । अंग्रेजी र हिन्दी भाषा मिसाएर महिलाले बोलिन्, ‘तिम्रो नामको पार्सल आएको छ । भन्सार तिर्नुपर्‍यो । तिमीले ६ लाख २० हजार रुपैयाँ पठाइदिनुपर्‍यो ।’

रकम कसरी पठाउने पार्सल आएको बताउने महिलाले उनलाई उपाय बताइन्, ‘तिमीले नेपालमा रहेकी क्रिस्टिना गुरुङको खातामा पठाइदिनू ।’ महिलाले पार्सलको फोटोसमेत खिचेर पठाएकी थिइन् ।

त्यसैले ६ लाख २० हजार पठाएर पार्सल पाउनेमा ढुक्क थिइन । भारतीय केटीको फेरि फोन आयो । भनिन्, ‘रकम पुगेन । भन्सार क्लीयरेन्स गर्न अझै रकम पठाइ दिनु ।’

पटकपटक गरी उनीबाट विभिन्न खातामा ४१ लाख ९० हजार नौ सय रुपैयाँ उठाइसकिएको थियो । अन्त्यमा फेरि आठ लाख ३० हजार रुपैयाँ माग गरियो । त्यसपछि भने रितालाई शंका लाग्न थाल्यो ।

उनी उजुरी दिन महानगरीय प्रहरी अपराध अनुसन्धानको कार्यालयमा पुगिन् । प्रहरीले उजुरी माथि तत्काल कारबाही अघि बढायो । अन्ततःघटनामा संलग्न रहेको आरोपमा प्रेमबहादुर कटुवाल, कृष्टिना गुरुङ, रुपा न्यौपाने, देवकी रोइला र सपना ढुंगाना पक्राउ परे ।

श्रीमति बनाई ठगि

सिन्धुपाल्चोक माङ्खा–७ का ३३ बर्षीय तुलबहादुर तामाङले संखुवासभा माकल–५ की मनकला गुरुङलाई फेसबुक रिक्वेस्ट पठाए । मनकलाले रिक्वेस्ट एसेप्ट गरिन् । दुईबीच म्यासेज आदाप्रदान चल्यो । घनिष्टता बढ्दै गएपछि तुलबहादुरले मनकलालाई प्रेम प्रस्ताव गरे । मनकलाले त्यो पनि स्वीकार गरिन् । अन्तत दुई बीच विवाह नै भयो ।

तुलबहादुर अव मनकलाका आफन्तसँग घुलमिल हुन थाले । यही क्रममा मनकलाका नातेदार राजेश गुरुङ र कैलास गुरुङसँगको उनले फेसबुक मार्फत सम्वन्ध बढाए । राजेश र कैलास बिदेशमै थिए  । उनीहरु सकेसम्म राम्रो मुलुक जाने मनस्थितिमा थिए । यो कुरा उनीहरुले तुलबहादुरसँग भने ।

तुलबहादुरले तुरुन्तै अमेरिकन आर्मीमा जागिर मिलाइ दिने आश्वासन दिए । प्रलोभनबाट राजेश र कैलास प्रभावित बने । उनीहरुले हुन्छ भने । तुलबहादुरले भिसा प्रोसेस गर्न २१ लाख रुपैयाँ मागे । उनीहरुले बिना हिच्किचाहट रकम दिए ।

भिसा प्रोसेसका लागि थप काम गर्नु पर्ने भन्दै दुवैलाई काठमाडौं बोलाए । उनीहरु काठमाडौं आए । त्यसपछि तुलबहादुर एकाएक बेपत्ता भए । अनि पो उनीहरु आफु ठगिएको महसुस गरे ।

ज्वाइबाट एकाएक ठगिन पुगे, रन्थनिएका उनीहरु महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा पुगे । प्रहरीले उनकी श्रीमती मनकलालाई पनि झिकायो । तुलबहादुर त राजेश र कैलाशसँग २१ लाख रुपैयाँ लिएपछि श्रीमतीबाट बेपत्ता भएछन् । प्रहरीले अनुसन्धान अघि बढायो । खोज्दै जाँदा त्यसरी ठगिनेमा राजेश र कैलास मात्रै होइनन, अन्य पनि रहको खुल्यो ।

प्रहरीका अनुसार उनले यस अघि पनि थुप्रैसँग फेसबुक प्रयोग गरी ठगेका रहेछन् । त्यस मध्ये एउटा मुद्यामा त सजाय समेत भोगिसकेका रहेछन् । प्रहरीका अनुसार उनले सिन्धुपाल्चोककी श्रृजना दोङ र उनका आफन्तसँग २२ लाख रुपैयाँ ठगेका थिए ।

उनले सिर्जनालाई डिपेन्डेन्ट भिसामा अमेरिका लैजाने प्रलोभनमा ९ लाख रुपैयाँ ठगेका थिए । उनका आफन्त संजय दोङ र मिम लामालाई क्यानाडा लैजाने भन्दै १३ लाख रुपैयाँ ठगेका थिए ।

प्रहरीका अनुसार रोजगारीका क्रममा लेबनान पुगेकी दोङसँग उनको भेट फेसबुक मार्फत भएको थियो । जेभी नामबाट खोलिएको फेस बुक अकाउन्टबाट उनले दोङसँग सम्बन्ध बढाएका थिए । उनले सोही सम्बन्ध प्रयोग गरि दोङका आफन्त सञ्जय र मिमसँग सम्बन्ध बढाएका थिए । उनले सबैलाई नेपाल बोलाएर रकम फुत्काएका थिए ।

प्रहरीका अनुसार उनले यस अघि फेस बुक नै प्रयोग गरेर रोजगारका क्रममा साइप्रस पुगेकी कुसुम लामासँग पनि ९ लाख रुपैयाँ ठगेका थिए । उनले कुसुमलाई पनि क्यानाडा लैजाने प्रलोभन देखाई ठगि गरेका थिए ।

प्रहरीका अनुसार उनी उक्त मुद्दा डेढ बर्षअघि नै फक्राउ परेका थिए । धरौटी तिरे पछि उनी त्यस बेला अदालतबाट छुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । त्यस लगतै उनी फेरी सोही धन्दामा सक्रिय रहेको प्रहरीको भनाई छ ।

सैनिक पनि ठगिए

संखुवासभा स्थापुन–९ का २४ बर्षीय अमृत दहाल नेपाली सेनाका सिपाही हुन् । उनलाई फेसबुक मार्फत मिराबेल विलसन नामबाट फेसबुक रिक्वेस्ट आयो । रिक्वेस्ट एसेप्ट गरे । विलसन र उनीबीच कुराकानी हुन थाल्यो । विलसनले आफु अमेरिकन भएको र अमेरिकी सेनाअन्तर्गत अफगानिस्तानमा कार्यरत रहेको अमृतलाई भने ।

अमृत उनीहरुसँग अझ नजिकए । बर्ष दिनसम्म उनीहरुबीच कुराकानी चल्यो । यही क्रममा विलसनले उनलाई यूएस डिपार्टमेन्टमा होमल्याण्ड सेक्यूरिटिको जागिर लगाइ दिने प्रलोभन दिए । विलसनले तुरुन्तै स्नेहा श्रेष्ठको नाममा ९२ हजार चार सय रुपैयाँ हालि दिन भने । उनले त्यसै गरे ।

रकम अपुग भएको भन्दै पछि फेरी ३ लाख ८९ हजार ८७० रुपैयाँ पठाउन भने । उनले त्यो पनि पठाए । त्यसपछि विलसन एकाएक सम्पर्क विहिन बने । बल्ल पो उनलाई आफु ठगिएको महसुस हुन थाल्यो । उनी महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको कार्यलय पुगे । उजुरी दिए ।

प्रहरीले अनुसन्धान गर्यो । फेसबुक मार्फत अमेरिकि आर्मी बताउने दुई अभियुक्त काठमाडौंबाट पक्राउ परेपछि थाहा भयो, आफुलाई अमेरिकि नागरिक बताउने विलसन त नाइजेरियन नागरिक पो रहेछन् ।

फेसबुकमा हनिट्र्यापिङको जालो योजनाबद्ध सम्बन्धपछि आर्थिक ब्ल्याकमेलिङ

 

 

धनाढ्य फसाउने सञ्जालसमेत बन्न पुगेको छ फेसबुक । पछिल्लो उदाहरण– गोरखा पालुङटारका बद्रीनाथ लामिछाने र पाँचथरकी इन्दिरा उप्रेती यही आरोपमा पक्राउ परेका छन् ।

कुपन्डोल बस्ने एक व्यापारीलाई निशा अधिकारीको नामबाट फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाइएको थियो । पछि च्याटमार्फत नजिकिएपछि ती युवती व्यापारीलाई भेट्न उनकै कार्यालयमा गइन् ।

सुन्दर युवतीलाई देखेर पहिलो भेटमै व्यापारी मोहित भए । उनीहरूबीचमा चुम्बन आदान–प्रदान भयो । युवती फर्किइन् । पछि गणेश लामाको नामबाट इमोमा फोन गरी ती व्यापारीलाई धम्क्याउन थालियो– एक करोड देऊ, अन्यथा भिडियो सार्वजनिक गरिदिन्छौँ ।

ती व्यवसायीसँग दुईवटा विकल्प थिए, बार्गेनिङ गरेर पैसा थोरै तिर्ने वा प्रहरीलाई उजुरी गर्ने । उनले दोस्रो विकल्प रोजे । प्रहरीले अनुसन्धान गर्दा थाहा भयो, बद्री र इन्दिराको मिलेमतोमा योजना बनाइएको थियो । उनीहरू दुवै पक्राउ परे । अहिले धरौटीमा छुटेका छन् । यसरी योजनाबद्ध रूपमा हनिट्र्यापिङ गर्ने र पैसा असुल्ने धन्दा नौलो रहेन ।

बिहे गरेर अमेरिका लैजाने भन्दै एउटै युवकद्वारा २३ युवतीलाई ठगी

गत वर्ष प्रहरीले यस्ता एक युवकलाई पक्राउ गर्‍यो जसले फेसबुकबाट चिनजान गरी बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेका थिए, एक–दुई युवतीलाई होइन, २३ जनालाई । फेसबुकबाट सम्बन्ध विस्तार भएपछि जीवन तामाङ भन्ने मनबहादुर तामाङले अमेरिका जान केही खर्च चाहिएको भनेर माग्दै सँगसँगै यति धेरैलाई ठगी गरेका हुन् ।

उनले युवतीहरूबाट करिब एक करोड रुपैयाँ ठगी गरेका थिए । तामाङले पहिला अमेरिकन आर्मीसँग अफगानिस्तानमा बसेर काम गरेका थिए । सोही आधारमा आफ्नो ठूलो पहुँच भएको भन्दै ठगी गर्दै आएका थिए ।

पूर्वडिएसपीद्वारा आफ्नै बुहारीलाई फेसबुकमार्फत यातना

आफ्नै बुहारीलाई फेसबुकमा अश्लील सन्देश पठाएको आरोपमा नेपाल प्रहरीका अवकाशप्राप्त डिएसपी कृष्णबहादुर खड्का क्षेत्री गत ८ असोजमा पक्राउ परे । उनले आफ्नै भाइबुहारीको फोटोमा आपत्तिजनक शब्द प्रयोग गरी कमेन्ट गरेको तथा अश्लील सन्देश पठाएका थिए ।

उनकी बुहारीले २ असोजमा उजुरी दिएकी थिइन् । उनले ती सन्देश आफूले नपठाएको र फेसबुक ह्याक भएको बताएर छुटे । प्रहरीले अनुसन्धान नै नगरी उनलाई छाडिदिएको भन्दै पीडितले प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरी गरेपछि खड्का फेरि पक्राउ परेकोमा एक लाख धरौटीमा छुटेका छन् ।

प्रहरीका अनुसार पीडित र उनीबीच अशं मुद्दा चलिरहेको छ । पीडित महिला श्रीमानसँग सम्बन्ध बिच्छेदको क्रममा छिन् । तर, उनलाई सम्पती नदिन श्रीमान तथा जेठाजुहरु मिलेका छन् । सोही विवाद फेसबुकमा समेत पोखिएको हो ।

शिक्षकद्वारा बिद्यार्थीलाई यातना

आफ्नै विद्यार्थीलाई फेसबुकमा अश्लील सामग्री पठाएर यातना दिएको आरोपमा नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०का वरिष्ठ भेटेरिनरी डाक्टर डा। मेघराज तिवारी भदौको अन्तिम साता पक्राउ परे ।

कलंकीस्थित हिमालयन कलेज अफ एग्रिकल्चर, साइन्स एन्ड टेक्नोलोजी ९हिकास्ट०का शिक्षक समेत रहेका तिवारीले आफ्नै छात्रालाई फेसबुकमा बारम्बार अश्लील फोटो पठाएर यातना दिएका थिए । जसकारण छात्रा बिक्षिप्त भएकी थिइन् । डा तिवारी पनि धरौटीमा छुटेका छन् ।

फेसबुकमा लाइभ गरेर आत्महत्या

फेसबुक आत्महत्या गर्ने माध्यम समेत बनेको छ । गत १४ असोजमा चितवनका निश्चल लामाले फेसबुकमा लाइभ गरेर आत्महत्या गरे । आत्महत्या गर्नुअघि उनले फेसबुकमा लाइभ गरेर आत्महत्या गर्न लागेको भनेर जानकारी दिएका थिए । लाइभ बन्द गरेलगत्तै उनी झुन्डिएका थिए ।

फेसबुकबाट प्रेम, गेष्ट हाउसमा हत्या

फेसबुकबाट गाँसिएका सम्बन्धले दुर्घटना निम्त्याएका छन् । मलेसियामा रहँदा फेसबुकमा चिनजान भएकी लक्ष्मी परियारसँग खोटाङका अनिल परियारले नेपाल आएपछि बिहे गरे । तर युवतीको अन्य युवकसँग सम्बन्ध रहेको विषयलाई लिएर झगडा सुरु भयो । सोही आरोपमा गत १२ भदौमा नयाँ बसपार्कको होटलमा हत्या गरे । ११ कात्तिकमा परियारलाई प्रहरीले पोखराबाट पक्राउ गरी ल्याएको थियो ।





error: Content is protected !!