मोरिम्लामा मन्त्रीको टोली, चीनसँगको नाका खोल्न पहल गरिने

डोल्पा,
चीनसँगको नाका खोल्न पहल गरिने, नाका सञ्चालन गर्न लैनी–धो ३० किलोमिटरका सडकका लागि दुई अर्ब आवश्यक

कर्णाली प्रदेशको चीनसँगको नाका सञ्चालनका लागि स्थलगत अध्ययन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको टोली मोरिम्ला पुगेको छ । शनिबार उत्तरी नाका मोरिम्ला पुगेको मन्त्रीको टोलीले स्थलगत निरीक्षणसँगै स्थानीय बासिन्दासँग छलफल गरेको छ । हेलिकोप्टरबाट मोरिम्ला पुगेका मन्त्री महासेठले नाका सञ्चालनका लागि पहल गर्ने बताए । ‘डोल्पा सम्भावनाको खानी हो, यसको विकासका लागि सरकारले काम गर्नेछ,’ उनले भने ।

मन्त्री महासेठले चीनसँगको नाका खोल्नेसँगै मोरिम्ला–दुनै सडक निर्माणलाई पनि तीव्रतासाथ अघि बढाइने बताए । तीनवटा खण्डमा काम भइरहेको जनाउँदै मन्त्री महासेठले आवश्यक बजेट विनियोजन गरेर सडक निर्माणको गतिलाई तीव्रता दिइने उनको भनाइ थियो ।

चीनसँग जोडिने दुनै–मोरिम्ला एक सय २० किलोमिटरमध्ये मोरिम्लादेखि धोसम्मको ६५ किलोमिटरमा सडक विभागले निर्माण गरिरहेको छ । त्यस्तै, दुनैदेखि ल्यासिक्यापसम्म २५ किलोमिटरमा विकेन्द्रीकृत ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम ड्रिलिपले ट्र्याक खोलेको छ । बीचको ल्यापिक्यापदेखि धोसम्मको ३० किलोमिटर खण्डमा ट्र्याक खोल्न बाँकी छ ।

यस क्षेत्रमा कडा चट्टान भएकाले ट्र्याक खोल्न अप्ठ्यारो भएको मोरिम्ला पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले बताए । ‘यो खण्डको डिपिआर तयार भइसकेको छ, दुई अर्ब लाग्ने अनुमान छ,’ राज्यमन्त्री बुढाले भने ।

दुनै–मोरिम्ला सडक निर्माण भए पाँच हजार तीन सय मिटरभन्दा उचाइको क्षेत्रमा गाडी गुड्नेछन् । चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग बन्नेछ । संघीय र प्रदेश सरकारले मोरिम्ला–दुनै–जमुनाहा भेरी करिडोरलाई राष्ट्रिय गौरवको योजनाका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

मन्त्री महासेठसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री धनबहादुर बुढा, भौतिक पूर्वाधार यातायात मन्त्रालयका सचिव मधुसुधन अधिकारी, सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठ मोरिम्ला पुगेका हुन् ।

काम छिटो गर्न बेलिब्रिज
जाजरकोट–डोल्पा सडक पनि यही वर्षभित्र सञ्चालनमा ल्याइने मन्त्री महासेठले बताएका छन् । उनले पक्की पुल निर्माण गर्नुपर्ने ठाउँमा बेलिब्रिज राखेर भए पनि यातायात सञ्चालन गरिने बताए ।

जाजरकोट–डोल्पा सडकको ट्र्याक खुलिसकेको छ भने अधिकांश ठाउँमा निर्माण पनि सम्पन्न भएको छ । यो सडकमा पर्ने ६ वटा खोलामा भने पक्की पुल निर्माण गर्नुपर्नेछ । ती पुल निर्माण नहुँदासम्म यातायात सञ्चालन गर्न अप्ठ्यारो हुने भएकाले बेलिब्रिज राखिने मन्त्री महासेठको भनाइ थियो ।

चिनियाँ मोटरसाइकल रयालीको स्वागत
मोरिम्ला नाका निरीक्षणका क्रममा उपल्लो डोल्पाको तिन्जे पुगेका मन्त्री महासेठको टोलीलाई चिनियाँ मोटरसाइकलको (यालीले स्वागत गरेको छ । यालीका लागि दुई सयभन्दा बढी मोटरसाइकल ल्याइएका थिए । मोरिम्लादेखि धोसम्मको ६५ किलोमिटर सडकमा चिनियाँ मोटरसाइकल चल्दै आएका छन् ।





error: Content is protected !!