सडकको पहिरो नपन्छाउदा स्थानीयलाई सास्ती

जुम्ला,
जुम्ला सदरमुकाम खलंगादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको बढीखोली अन्तरगत ल्होर्पगाउँ जाने कच्ची सडकको पहिरो नपन्छाउदा स्थानीय समस्यामा परेका छन् । साउन महिनामा वर्षाले ल्याएको पहिरो नपन्छाएपछि स्थानीयलाई आवतजावत गर्न समस्या परेको हो ।
पातारासी गाउँपालिका – ५ ल्होर्प गाउँ जाने कच्ची सडकमा पहिरोले लथालिंग बनाएको छ । सवारी साधन आवतजावतका लागि गाउँपालिकाको २० लाख बजेटमा अस्थायी काठे पुल निर्माण गरेको र स्थानीयलाई आवतजावतका लागि बनाइएको झोलुंग पुलपनि पहिरोको कारण प्रयोगविहीन रहेको स्थानीय कृष्ण बोहोराले बताए । उनले भने ‘गाउँपालिकालाई पहिरो पन्छाई दिन आग्रह गर्दा पनि सुनुवाई भएको छैन।’

झण्डै चार सय घरधुरी भएको ल्होर्पगाउँको आवतजावत गर्ने मुख्य सडक त्यही नै हा । पहिरोले सडक लथालिंग भएपछि निकै समस्या भएको स्थानीय मुनविर बोहोराले बताए । उनले भने ‘बृद्ध र बालकालिकालाई आवतआवत गर्न समस्या भएको छ ।’ नजिकै ज्योवा नदी बगिरहेको छ कति बेला बालबालिका नदीमा खसेर बेपत्ता हुने हुन् भनेर चिन्ताले पिरोल्ने गरेको स्थानीय जयबहादुर बुढाले बताए ।

पातारासी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष डिलबहादुर बुढाका अनुसार गाउँपालिकाले उक्त सडक मर्मतका लागि ३२ लाख रकम अनुसार विनियोजन गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सरुवा भएको र नयाँ अधिकृत नआएकाले काम रोकिएको उनले बताए ।








