अमेरिकाका भाग्यमानीः एकै दिन तीनवटा चिट्ठा पर्यो, घर लगे ५८ करोड

एजेन्सी
अमेरिकाको न्यू जर्सीका एक युवक एकै दिनमा एकपटक होइन, दुई पटक पनि होइन, तीन पटक भाग्यमानी साबित भएका छन् । एजवाटरका रोबर्ट स्टेवार्टले लगातार तीनवटा चिट्ठा आफ्नो नाममा पारेका छन् । पहिलो चिट्ठाबाट उनले पाँच मिलियन डलर ५८ करोड रुपैयाँ हात पारेका छन् ।
स्टेवार्ट अवकाश प्राप्त ड्राइभर हुन् । उनले गत अगस्टमा न्यूजर्सी लट्री स्क्र्याच कार्ड किनेका थिए । नोभेम्बरमा जब उनले पाँच मिलियन डलरको ज्याकपट जितेको खबर पाए तब उनी तत्काल स्थानीय टिकट स्टोरमा गएर थप दुईवटा स्क्र्याच कार्ड किने । अचम्म के भयो भने उनले क्रमशः पाँच सय डलर र सय डलर जिते ।
चिट्ठा जितेलगत्तै उनले सबैभन्दा पहिले आफ्नी आमालाई फोन गरे । न्यूजर्सी लट्रीले जारी गरेको प्रेस विज्ञप्तिमा बताइए अनुसार उनकी आमाले छोराले पैसा जितेकोमा विश्वास नै गर्न सकिनन् ।
यद्यपी, स्टेवार्टले चिट्ठामा पैसा जितेको यो पहिलो घटना भने होइन । यसअघि उनले स्क्र्याच कार्डमा दुई हजार पाँच सय डलर लगभग तीन लाख रुपैयाँ जितेका थिए । अहिले जितेको रकम भने उनले जोगाएर राख्न चाहेको बताए । उक्त रकमले साथीभाइ र आफन्तलाई परेको बेलामा सहयोग गर्ने उनले बताए ।








