डोल्पामा दुई समयको दुई शैक्षिक सत्र

लेख बुढा, डोल्पा /
हरेक क्षेत्रमा पछि परेको मात्रै होइन उच्च हिमाली जिल्ला भएकाले हावापानीले पनि डोल्पालाई पछि पारेको छ । हावापानीकै कारण यस जिल्लाका सामुदायिक विद्यालयहरुमा पठनपाठन हुने शैक्षिक सत्र समेत माथिल्लो डोल्पा र तल्लो डोल्पामा फरक फरक समय रहेको छ ।
चिसो हावापानीका कारण माथिल्लो डोल्पामा रहेका ३ वटा गाउंपालिकाहरु शे–फोक्सुण्डो गाउंपालिका, डोल्पोबुद्ध गाउंपालिका र छार्का ताङसोङ गाउंपालिकाका विद्यालयहरुमा बैंशाखदेखि नयां शैक्षिक सत्र सुरु भई कात्तिक मसान्तमा सकिन्छ भने उच्च हिमाली भेगमै भए पनि मध्य तथा तल्लो डोल्पाका ५ वटा स्थानीय तहहरु काइके गाउंपालिका, जगदुल्ला गाउंपालिका, मुड्केचुला गाउंपालिका, त्रिपुरासुरी नगरपालिका र ठुलीभेरी नगरपालिकामा फागुन महिनामा शैक्षिक सत्र सुरु भई पुसको १५ गतेसम्म चल्ने गर्दछ ।
माथिल्लो डोल्पामा रहेका २० वटा विद्यालयहरुमा २०७५ बैशाखबाट शैक्षिक सत्र २०७५ सुरु भएको थियो भने यही महिनाको मसान्तमा समापन हुन लागेको छ । शैक्षिक सत्र सम्पन्न हुन लागेकाले माथिल्लो डोल्पाका ती २० विद्यालयहरुमा मंगलवारबाट अन्तिम तथा वार्षिक परीक्षा सुरु भएको साल्दाङ् पुगेका स्थानीय पत्रकार रुपलाल वोहोराले फोनमा जानकारी दिएका छन् । उनका अनुसार यही कात्तिक मसान्त भित्र वार्षिक परीक्षाको नतिजा प्रकाशित गरेर त्यस भेगका सबै विद्यालय बन्द भैसक्ने गरेका छन् । मंसिर १ गतेबाट बन्द भएका विद्यालयहरुमा ५ महिना पछि बैशाख १ गतेदेखि फेरी अर्को शैक्षिक सत्र संगै पठनपाठन हुने गरेको छ ।
मध्य तथा तल्लो डोल्पामा रहेका ९२ सामुदायिक विद्यालय र ३ वटा संस्थागत विद्यालयहरु गरी ९५ वटा विद्यालयहरुमा फागुन १ गतेबाट शैक्षिक सत्र सुरु भएर पुसको १५ गते सकिने गर्दछ । यी विद्यालयहरुमा शैक्षिक सत्र २०७५ गत फागुनमा सुरु भएको थियो भने आगामी पुस १५ गते सकिएर १६ गतेबाट यी विद्यालयहरुमा लामो विदा भई आगामी फागुन १ गते नयां शैक्षिक सत्र २०७६ सुरु हुने शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाले जनाएको छ ।
चिसो हावापानीका कारण मध्य तथा तल्लो डोल्पाका विभिन्न गाउंहरुमा समेत कात्तिक महिनादेखि पानी जम्न सुरु हुने गर्दछ भने माथिल्लो डोल्पाका विभिन्न गाउं तथा विद्यालयको सेवा क्षत्रहरुमा असोजबाटै पानी जम्न सुरु भैसकेको स्थानीयहरुले बताएका छन् । पानी जम्न सुरु भए पछि चिसो बढ्ने भएकाले पठनपाठनमा निकै कठिनाई हुने गरेको र चिसोका कारण पठनपाठन गर्न गराउन नसकिने भएकाले माथिल्लो डोल्पाको शैक्षिक सत्र बैशाख १ देखि कात्तिक मसान्तसम्म हुने अनौपचारिक परम्परा नै बनेको छ ।
माथिल्लो डोल्पामा शैक्षिक सत्र छोटो हुने भएकाले त्यो भेगका विद्यालयहरुमा शनिवार वाहेक कुनै पनि सार्वजनिक विदा नगरि पठनपाठन गर्ने गरेको शे–फोक्सुण्डो गाउंपालिकामा रहेको तापरिचा माध्यमिक विद्यालय साइजलका प्रधानाध्यापक घनश्याम शर्माले बताए । उनले थपे हामी दशैमा समेत विदा गर्दैनौं ।
डोल्पा हिमाली हावापानी भएकाले यस जिल्लामा नेपाल सरकारले तोकेको शैक्षिक सत्र अनुसार पुसको १६ गते शैक्षिक सत्र सकिएर फागुनको १ गतेबाट नयां शैक्षिक सत्र सुरु हुने व्यवस्था गरेको छ । त्यस मध्येमा पनि माथिल्लो डोल्पाका ३ वटा गाउंपालिकाहरुमा अझै चिसो हुने भएका कारणले नेपाल सरकारले नतोके पनि आन्तरिक रुपमा बैशाखमा शैक्षिक सत्र सुरु भएर कात्तिक मसान्तमा सकिने गरेको शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका प्रमुख सिंहराज डांगीले बताउनु भयो ।
यही चिसो हावापानी र कात्तिक मसान्तमा शैक्षिक सत्र सुरु हुने भएकाले गत मंगलवारबाट माथिल्लो डोल्पाका २० वटा विद्यालयहरुमा शैक्षिक सत्र २०७५ को वार्षिक परीक्षा सुरु गरिएको छ । परीक्षा सम्पन्न गरी यही महिनाको २५ गतेभित्र नतिजा प्रकाशन गर्ने योजना रहेको सेल्रीडुक्ड्रा आधारभुत विद्यालय साल्दाङ्का प्रधानाध्यापका ज्ञानु गुरुङ्ले जानकारी दिए ।
मध्य तथा तल्लो डोल्पाका विद्यालयहरुमा भने मंसिरको अन्तिम सातादेखि शैक्षिक सत्र २०७५ को वार्षिक परीक्षा सुरु हुने गर्दछ । पुसको १० गते भित्र नतिजा प्रकाशान गरी पुसको १६ गतेबाट लामो विदा गर्ने गरिएको नेपाल शिक्षक महासंघका पूर्व अध्यक्ष समेत रहेका आदर्श माध्यमिक विद्यालय जुफालका प्रधानाध्यापक पूर्णबहादुर डांगीले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!