मर्केलद्वारा सन् २०२१ पछिनेतृत्व छोड्ने घोषणा

एजेन्सी
बर्लिन,
जर्मन चान्सलर एन्जेला मर्केलले आफ्नो कार्यकाल सकिएपछि अर्को कार्यकालका लागि नेतृत्वको दाबी नगर्ने घोषणा गरेकी छिन् । आफ्नो पार्टीको राजनीतिक गठबन्धन कमजोर हुँदै गएको अवस्थामा पुनः नेतृत्वको दाबी गर्नु गलत हुने भन्दै उनले नेतृत्वबाट बाहिरिने घोषणा गरेकी हुन् ।

जर्मनीलाई विगत १३ वर्षदेखि राजनीतिक नेतृत्व दिएकी नेतृ मर्केलले भनिन्, ‘अब नयाँ अध्यायको सुरू गर्ने वेला भएको छ ।’ मर्केलले नेतृत्वबाट आफ्नो बिदाईसँगै क्रिस्चियन डेमोक्रेटिक युनियनको गठबन्धनमा पनि नेतृत्वका लागि संघर्ष हुन सक्ने बताउँदै गठबन्धन युरोपको विशाल अर्थतन्त्र सम्हाल्न जिम्मेवार भएर प्रस्तुत हुनेमा विश्वास व्यक्त गरिन् ।

आफ्नै गठबन्धन समूहभित्रको संकटबारे बोल्दै उनले भनिन्, ‘गठबन्धनमा रहेको विवादका कारण सरकारबाट बाहिरिनुपर्ने अवस्था आउनु मेरा लागि अस्वीकार्य छ ।’ जर्मन राज्य हेसेसमा आइतबार देखिएको निर्वाचन परिणाम गठबन्धनका लागि ‘एउटा नयाँ मोडको संकेत मात्रै भएको तर आफ्नो गठबन्धनलाई सुधार्ने मौका रहेको’ उनले बताइन् । उनले जर्मनीका प्रमुख राजनीतिक दल तथा आफ्नै गठबन्धनले पनि सोचेर अघि बढ्नुपर्ने बताइन् ।

मर्केलले आफूले चौँथो कार्यकालको अन्त्यसँगै जर्मनीको अर्को निर्वाचनमा उम्मेदवारी नदिने साथै चान्सलरका रूपमा जनादेशलाई नवीकरण पनि नगर्ने बताइन् । मर्केलको घोषणासँगै उहाँको पदको प्रमुख आकाङ्क्षीका रूपमा कम्तीमा चारजना अघि सर्ने देखिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!