फोक्सुण्डो ताल पुग्ने पर्यटक बढे

 

 

त्रिपुराकोट( डोल्पा):उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाँउपालिकामा पर्ने नेपालकै गहिरो शे–फोक्सुण्डो ताल हेर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। असोज यतामात्रै आन्तरिक र बाह्य पर्यटक गरेर ३४९ जना पर्यटक भित्रिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।
दुई महिनाको अवधिमा २ सय दश जना आन्तरिक र १४९ बाह्य पर्यटकहरूले शे–फोक्सुण्डो तालको अवलोकन गरेको निकुञ्जले जनाएको हो।
ुअघिल्ला वर्षहरूमा शे–फोक्सुण्डो ताल घुम्न आउने पर्यटकको सङ्ख्या र यो दुई महिनाको अवधिमा शे–फोक्सुण्डो अवलोकनगर्ने पर्यटकको सङ्ख्यालाई तुलना गर्ने हो भने चौगुणा वृद्धि भएको छु, निकुञ्का रेञ्जर अरुण चौधरीले भने।

कर्णाली प्रदेशमै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा परिचित शे–फोक्सुण्डो ताल हेर्नका लागि डोल्पा भित्रिने पर्यटकहरु मध्ये आन्तरिक पर्यटक धेरै छन्। नेपालकै ठूलो राष्ट्रिय निकुञ्जमा पर्ने शे–फोक्सुडो ताल विदेशी पर्यटकहरूमाझ ुब्लु डायमण्डुका रूपमा परिचित छ।

मनमोहक पर्यटकीय छटाले भरिपूर्ण भएकाले पनि शे–फोक्सुण्डो ताल, त्रिपुरासुन्दरी मन्दिर,शे–गुम्बा,धो तराप बस्ती आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ।
शे–फोक्सुण्डो तालसम्म पुग्ने पर्यटकका लागि सुविधासम्पन्न होटेल अभावले पनि भने लक्ष्यअनुरूप पर्यटक भित्र्याउन नसकिएको चौधरीको भनाइ छ। निकुञ्जको आन्तरिक स्रोतलाई मजबुत बनाउन शे–फोक्सुण्डो पुग्ने आन्तरिक पर्यटकलाई १००, सार्क राष्ट्रभित्रकालाई १५ सय र अन्य देशका पर्यटकलाई तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको निकुञ्जले जनाएको छ।

शे–फोक्सुण्डो तालसम्म पुग्ने बाटोलाई पर्यटकमैत्री बनाउन बिच–बिचमा सांकेतिक नक्सा सहितका होडिङ बोर्ड र फोहोर फाल्ने खाडल निर्माण भइरहेको समेत निकुञ्जले जनाएको छ।

सडक पुगेसँगै पर्यटकमा वृद्धि

डोल्पा पूर्णरूपमा १६ असोजमा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै पर्यटकको सङ्ख्यामा बृद्धी भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ। एक महिना यतामात्रै मोटरसाइकल लिएरै १०० भन्दा बढी आन्तरिक पर्यटक डोल्पा पुगेको स्थानीय युवा गोकर्ण कठायतले बताए।

पर्यटकीय जिल्ला डोल्पासम्म पुग्ने सडक कालोपत्रे भएर नेपालगञ्ज, काठमाडौं लगायत शहरहरूबाट सिधा यातायातको सुविधा गर्नसके डोल्पामा पर्यटकको ओइरो लाग्ने उनको भनाइ छ।

व्यापार वृद्धि

शे–फोक्सुण्डो ताल जाने पर्यटक बढेसँगै खदाङ, चुँ गाड, त्रिपुराकोट, जुफाल लगायतका स्थानीय बजारहरूमा चहलपहल बढेको छ। पर्यटकको आगमनसँगै होटेल पसलहरूमा व्यापार बढेको व्यवसायीले बताएका छन्।

दुई महिना अघिसम्म २०्३० हजारसम्म हुने गरेकोमा पर्यटक बढेपछि दैनिक ५० हजार रुपैयाँसम्म व्यापार हुने उनले बताए। आन्तरिक पर्यटककै कारणले गर्दा खदाङ्, चुँ गाड, बगर लगायतका बजारस्थित होटेलहरूमा ग्राहक खचाखच हुनुका साथै आम्दानी पनि बढेको व्यापारीहरू बताउँछन।

थाहा साभार





error: Content is protected !!