असहाय बालबालिकालाई जनप्रतिनिधिको सहयोग

रुकुम पश्चिम,
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका, ७ का जनप्रतिनिधिले आफूले पाउने सेवा सुविधा कटाएर असहाय बालबालिकालाई सहयोग गर्ने निर्णय गरेका छन् । जनप्रतिनिधिले आमा बुबा नभएका बालबालिकाको शिक्षामा सहयोग गर्ने उद्देश्यले आफूले सुविधा कटौती गर्न लागेका हुन् ।
वडाध्यक्षसहित पाँच जना जनप्रतिनिधिले प्रत्येक महिना जनही तीन हजार रुपैयाँ बालबालिकालाई सहयोग गर्ने निर्णय गरेको वडा सदस्य भीमबहादुर डाँगीले बताए ।
पाँच जना जनप्रतिनिधिबाट असहाय बालबालिका लागि वर्षिक एक लाख ८० हजार रुपैयाँ जम्मा हुने छ । जम्मा भएको रकम वडामा रहेका ६ वटा सामुदायिक विद्यालयमा अध्यनरत असहाय विद्यार्थीका लागि खर्च गरिने छ ।
आर्थिक अभावले विद्यालय छोड्नु पर्ने बाध्यताको अन्त्य गर्न यस्तो निर्णय गरिएको जनप्रतनिधिले जनाए । असहाय बालबालिकाले आर्थिक अभाव भएर विद्यालय जानबाट बञ्चित हुने बाध्यताको अन्त्य गर्ने उद्देश्य रहेको वडाध्यक्ष वीरबहादुर खड्काले बताए ।










