सूचना टाँसेर कर्णाली प्रदेश सभा बैठक स्थगित

सुर्खेत,आइत
बार बस्ने भनिएको कर्णाली प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्राविधिक कारणले बैठक स्थगित गरिएको सूचनामा उल्लेख छ । अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिपक्षी कांग्रेसले सरकारले बजेटको रातो किताब नल्याएको तथा संसदलाई बिजनेसविहीन बनाएको भन्दै असोज २३ गते बैठक अवरुद्ध गरेपछि बैठक बस्न सकेको छैन । त्यसपछिका ३ वटा बैठकहरु सूचना टाँसेर स्थगित गरिएका छन् । सहमतीका लागि सरकार गम्भीर नभएको प्रतिपक्षीको आरोप छ ।
लगातार प्रदेश सभा बैठक स्थगित भए पछि सांसदहरु आक्रोशित बनेका छन् । संसदलाई सरकारले बन्धक बनाएको सरकार पक्षकै सांसदहरुले बताएका छन् । आइतबारको बैठक स्थगित भएपछि नेकपाका सांसद सुशीलकुमार थापाले सरकारको कारण संसद बन्धक बनेको आरोप लगाए । ‘संसदमा जनताका आवाजहरु मुखरित गर्ने हो तर संसद बैठक हुन नसक्नु दुःखद हो’ उनले भने ।
नेकपाकै सांसद ठम्मर बिष्टले सरकारको गतिहिनका कारण जनतामा विभिन्न आशंका उब्जेको बताए । कर्णालीको विकास र समृद्धिका लागि गतिशील हुनु पर्ने सरकार सुस्त बनेपछि नागरिकमा आशंका उब्जिनु स्वभाविक भएको उनको भनाई छ । प्रदेश सभा गठन लगत्तै प्रदेशको नामाकरण र राजधानी तोकेर चर्चा कमाएको कर्णाली प्रदेश कुपोषण लागेको उनले टिप्पणी गरे ।
कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठले आइतबारको बैठक स्थगित गर्नु पर्ने कारणबारे जानकारी नभएको बताए । ‘कांग्रेसले सरकारका गतिविधीहरुप्रति सजग बनाउन खोजेको हो तर त्यही बहानामा सरकार संसदलाई बन्धक बनाउन खोजिरहेको छ’ उनले भने । प्रतिपक्षको माग सम्बोधन गर्न रातो किताब छाप्न केही समय लागेकाले आइतबारको बैठक स्थगित गरिएको सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताए।
साउन २५ गते अनिश्चितकालका लागि स्थगित भएको बैठक लामो समयपछि असोज २३ गते बोलाइएको थियो । सरकारले संसदलाई चालु आर्थिक वर्षको बजेटको योजना पुस्तिका रातो किताब नल्याएको र ‘बिजनेस’ नदिएको भन्दै प्रतिपक्षले अवरुद्ध गरेपछि बैठक बस्न सकेको छैन ।










