राष्ट्रिय योजना आयोगको भूमिका प्रभावकारी हुनुपर्छ मुख्यमन्त्री शाही

सुर्खेत
,
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय योजना आयोगलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
अहिलेसम्म योजना आयोग केही व्यक्तिलाई व्यवस्थापन गर्ने, जागिर लगाउने संयन्त्रका रुपमा सीमित बन्यो’, उनले भने, ‘तीन वटै तहका सरकारका लागि योजना निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नुपर्छ, सङ्घीय संरचनाअनुसार आफ्नो भूमिकालाई पनि बढाउनुपर्छ ।’
राष्ट्रिय योजना आयोगद्वारा आइतबार वीरेन्द्रनगरमा आयोजित दिगो विकास लक्ष्य मैत्री योजना निर्माण, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्कसम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले बताएका हुन् । कर्णालीको विकासमा योजना आयोग अलि बढी केन्द्रित हुनुपर्ने उनको सुझाव छ । मुख्यमन्त्री शाहीले आयोगसँग मुलुकको विकासको स्पष्ट खाका र समग्र तथ्याङ्क हुनुपर्ने बताए । ‘यहाँ भौगोलिक विकटता धेरै छ, छरिएका बस्ती छन्,’ उनले भने, ‘छरिएका बस्तीलाई एकीकृत गर्न कस्ता योजना अघि बढाउँदा प्रभावकारी होला आयोगले विस्तृत अध्ययन गरिदेओस्’।
मुख्यमन्त्री शाहीले कर्णाली सरकारले चालू वर्षलाई सम्भाव्यता अध्ययनका रुपमा लिइएको बताए । उनले भने, ‘यो वर्ष हामी अध्ययन गर्छौं, प्रदेश र नेपाल सरकारको बजेटबाट कति काम गर्न सक्छौँ त्यसको लेखाजोखासँगै विदेशी लगानीकर्तालाई लगानीका लागि आह्वान गर्छौं’।
कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले तीनै तहका सरकारबीच द्वन्द्व नभई आपसी समन्वय हुन सके मात्र सङ्घीयता सफल हुने बताए। कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही, आयोगका उपाध्यक्ष डा पुष्प कँडेल तथा सदस्यद्वय मीनबहादुर शाही र सुशील भट्टले कर्णालीको विकास तथा आयोगको भूमिकाका सन्दर्भमा आ–आफ्नो विचार राखेका छन् ।










