रारामा आन्तरिक पर्यटकलाई पनि शुल्क

कालिकोट
,
रारा भ्रमणमा जाने आन्तरिक पर्यटकले पनि अब शुल्क तिर्नुपर्ने भएको छ । रारा राष्ट्रिय निकुञ्जले ६ कात्तिकदेखि आन्तरिक पर्यटकबाट पनि शुल्क लिन सुरु गरेको हो ।
आन्तरिक पर्यटकको संख्या बढ्न थालेपछि शुल्क लिन सुरु गरिएको निकुञ्जले जनाएको छ । ‘यसअघि नेपाली पर्यटकबाट शुल्क लिने गरेका थिएनौँ, अब प्रवेश शुल्क लिन थालेका हौँ,’ निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत वार्डेन यज्ञराज रोकायाले भने । यसअघि रारा प्रदेशमा विदेशी पर्यटकबाट मात्रै प्रवेश शुल्क लिने गरिएको थियो ।
कर्णाली प्रदेश सरकारले यस वर्षलाई ‘रारा कर्र्णाली भ्रमण वर्ष’का रूपमा मनाइरहेको छ । रारासम्म यातायातको सुविधा सहज भएपछि आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको छ । आन्तरिक पर्यटकको चाप बढेसँगै निकुञ्जले प्रवेश शुल्क लिने निर्णय गरेको जनाएको छ ।
देशभरिका सबै संरक्षित क्षेत्रमा प्रवेश शुल्क लिने गरेको बताउँदै निमित्त वार्डेन रोकायाले रारा राष्ट्रिय निकुञ्जले पनि लिने तय गरेको बताए । उनले यसलाई अन्यथा सोच्न नहुने बताउँदै भने, ‘विदेशी पर्यटकले मात्रै प्रवेश शुल्क तिर्थे, अब नेपालीले पनि प्रवेश शुल्क तिर्नुपर्छ ।’
प्रवेश शुल्क एक सय
रारा राष्ट्रिय निकुञ्जले आन्तरिक पर्यटकका लागि पनि ६ कात्तिकदेखि प्रवेश शुल्क तोेकेको छ । निकुञ्जका अनुसार, नेपालीलाई प्रतिव्यक्ति एक सय रुपैयाँ प्रवेश शुल्क तय गरिएको छ ।
त्यस्तै, विदेशी पर्यटकबाट भने यसअघिदेखि नै छुट्टाछुट्टै प्रवेश शुल्क लिने गरिएको छ । सार्क राष्ट्रभित्रका पर्यटकले प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य देशका नागरिकले प्रतिव्यक्ति तीन हजार शुल्क तिर्नुपर्छ ।
चार नाकामा लिइन्छ शुल्क
रारा प्रवेशका लागि विभिन्न नाका छन् । निकुञ्जले चार नाकामा शुल्क उठाउने गरेको छ । निकुञ्जका अनुसार, जुम्लाको बुलबुले, मुगुको सल्लेरी र लामाचौर तथा निकुञ्जस्थित कार्यालयबाट शुल्क लिने गरिएको छ ।
सवारीसाधनलाई छुट्टै शुल्क
अब आन्तरिक पर्यटकले पनि सवारीसाधनबापतको छुट्टै शुल्क तिर्नुपर्नेछ । सवारीसाधनको शुल्क भने छायानाथ रारा नगरपालिकाले लिने गरेको छ । उसले चारपांग्रे गाडीको पाँच सय र दुई पांग्रेको दुई सय रुपैयाँ शुल्क लिन्छ ।
त्यस्तै, रारामा हेलिकोप्टर अवतरणको पनि व्यवस्था गरिएको छ । हेलिकोप्टरको भने तीन हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।










